
देउवाले कांग्रेस नसिध्याई नछाड्ने भएपछि कस्सिए शेखर, कोर्स करेक्सनका लागि गम्भीर छलफल
ज्ञात–अज्ञात शक्तिको इशारामा हो या आफ्नै विवेकले, नेपाली कांग्रेसलाई शेरबहादुर देउवाले आफ्नै पालामा शून्यमा झार्न खोजेको स्पष्ट


काठमाडौँ । ज्ञात–अज्ञात शक्तिको इशारामा हो या आफ्नै विवेकले, नेपाली कांग्रेसलाई शेरबहादुर देउवाले आफ्नै पालामा शून्यमा झार्न खोजेको सबैले देख्ने गरी स्पष्ट भइसकेको छ । यिनै देउवाले २०४८ सालपछि संसदीय बेथितिको नेतृत्व गरे । सुरासुन्दरी काण्डदेखि सांसद किनबेचका प्रपञ्च रहे । छँदाखाँदाको संसद विघटन गरी लोकतन्त्र नै दरबारमा बुझाए । पार्टी नै फुटाए । दरबारसँग मिलेर लोकतन्त्रमाथि प्रहार गरे ।
लोकतन्त्र पुनःप्राप्तिका लागि जनताले ठूलो संघर्ष र बलिदान गर्नुपर्यो ।विडम्बना के भने जनताले लडेर ल्याएको लोकतन्त्रको लाभ पनि तिनै देउवाकै हातमा पुग्यो । फेरि देउवाले लोकतन्त्र र कांग्रेसमाथि घात गर्न माओवादीजस्तो अविश्वसनीय शक्तिसँग मिलेर सत्ताको साँटगाँठ गरे । माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहालका बदनामीको बोझ कांग्रेसलाई बोक्न लगाए । देशकै सबैभन्दा पुरानो र शक्तिशाली पार्टी कांग्रेसलाई अहिले अर्को कुनै शक्तिको साथबिना एउटा पनि निर्वाचन क्षेत्र जित्न नसक्ने अवस्थामा पुर्याए । कांग्रेस भनेपछि जनताले नाक खुम्च्याउने अवस्थामा पुर्याए ।
यति गरेर मात्र देउवालाई पुगेको छैन । कांग्रेसलाई यो धर्तीबाटै विदा गर्नु छ । नेपाली राजनीतिमा सबैभन्दा बदनाम शक्तिका रुपमा कांग्रेसलाई चिनाउनु छ । कांग्रेसलाई संसारकै राजनीतिक इतिहासमा अनैतिक, अराजनीतिक, असंसदीय दल भनेर बदनाम गराउन उनी न्वारानदेखिको बल लगाइरहेका छन् ।हो, राजनीति शक्तिको खेल हो । शक्तिमा पुग्न अनेक कोसिस हुन्छन् । तर यस खेलमा कुनै नियम, नैतिकता र मूल्य मान्यताका सीमा हुँदैनन् भन्ने होइन । आफू सत्तामा पुग्न वा सत्ताको भाग पाउन देउवा नेतृत्वको कांग्रेसले जेजस्ता हर्कत गरिरहेको छ, ती कुनै पनि संसदीय मूल्य, मान्यता र न्यूनतम राजनीतिक संस्कारभित्र छैनन् ।चुनावमा कांग्रेससँग गठबन्धन गरी संसदमा तेस्रो दलको हैसियत सुरक्षित गरेको माओवादीले एकाएक एमालेसँग गएर सत्ताको लगनगाँठो कस्नु कति नैतिक थियो भन्नेमा बेग्लै बहस हुन सक्छ ।
तर संसदीय गणित मिलाएर सरकार बनाइसकेपछि उसलाई केही समय काम गर्न दिनु हरेक राजनीतिक पक्षको दायित्व हुन्छ । गुण र दोषका आधारमा समर्थन र विरोध गर्नु उनीहरुको कर्तव्य हुन्छ । तर कांग्रेसका हकमा संसदीय राजनीतिका यी सामान्य कखराले पनि काम गरेका छैनन् ।हाम्रो संविधानले नै कम्तीमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने व्यवस्था गरेको छ । यो व्यवस्था त्यसै राखिएको होइन । २०४८ पछि जुन खालका असंसदीय खेल भए र मुलुकलाई अस्थिरताको सुरुङमा प्रवेश गराइयो, त्यो खराब इतिहास नदोहोरियोस् भन्ने यसको मर्म हो । तर कांग्रेस यतिखेर दुई वर्ष त के ? २ महिना पनि धैर्य गर्न नसक्ने भएर सत्ताको प्यासले रन्थिएको छ । संसदीय राजनीतिमा खारिएका कांग्रेस नेताहरू नै खुलेआम यो गठबन्धन भत्काउँछौँ र सत्ताको हिस्सा आफ्नो पक्षमा पार्छौँ भन्दै हिँडेका छन् ।
एकातिर प्रतिपक्षको बेन्च नै खाली गरेर सरकारलाई समर्थन गर्ने । अनि त्यही सरकारलाई काम गर्न नदिई अस्थिरताको ढोखा खोल्न सबै प्रकारको बल लगाउने काम कांग्रेसले गरिरहेको छ ।सरकारका काम र गुणदोषका आधारमा समर्थन वा विरोध गर्नु पनि राजनीतिक दलको कर्तव्य पनि हो । संसदीय राजनीतिको हिमायती भन्ने कांग्रेस नेताहरु भने यति कुराको ख्यालै नगरी अहिल्यैदेखि सत्ता गठबन्धन भत्काउने खुला चुनौती दिँदै हिंडेका छन् । सत्ताबाट अनपेक्षित रुपमा बाहिरिनुपर्दा रन्थनिएका कांग्रेस नेताहरू त्यही दिनबाट गठबन्धन भत्काउँछौँ भन्दै आफ्नो छटपटाहट र चिड्चिडाहट सार्वजनिक गरिरहेका छन् ।प्रकाशशरण महतहरुलाई यसो भन्दा कुनै संकोच लागेको छैन ।
आफैले समर्थन गरेको सरकारलाई समेत तत्कालै ढाल्छु भन्दै हिँड्नुमा उनीहरुले गर्वको अनुभव गरेको प्रतीत हुन्छ ।कांग्रेस नेतृत्व यसरी एकपछि अर्को गर्दै पथविचलित हुन थालेपछि शेखर कोइराला नेतृत्वको इतर खेमा कोर्स करेक्सनको प्रयासमा लागेको छ । यस समूहले राजधानीमा एक भेला गरी गम्भीर समीक्षामा जुटेको छ र प्रतिपक्षको बेन्च नै खाली गरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिनु गम्भीर गल्ती भएको निष्कर्ष निकालेको छ । अब कांग्रेसको नेतृत्वबाट देउवा र उनका वरिपरि रहेर तर मार्ने समूहलाई विस्थापित कसरी गर्ने भनेर कोइराला खेमाले रणनीति बनाउने भएको छ ।
आशा छ, देउवाले कांग्रेस सिध्याउन नपाउँदै कांग्रेसीहरूले देउवा र उनको सञ्जाललाई कांग्रेसबाट विस्थापित गरिसक्नेछ ।