
मिलिजुली सरकार : ‘उपप्रधानमन्त्रीको क्लब’


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्तिको २३औँ दिनमा मंगलबार अधूरो मन्त्रिपरिषद् विस्तार गरेका छन् । १० पुसमा प्रधानमन्त्री बनेका उनले भोलिपल्ट शपथ खाएका थिए ।
त्यतिखेर आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डले २६ पुसमा संसदमा विश्वासको मत लिए । तर, यो बीचमा चार जना मन्त्री बेरोजगार रहे ।प्रचण्डले उपप्रधानसहित १२ मन्त्री र दुई राज्यमन्त्री थप्दै २३ सदस्यीय मन्त्रिपरिषद् त बनाए तर अझै दुई वटा मन्त्रालय आफैसँग राखेका छन् । जसपा र एकीकृत समाजवादी सरकारमा आउने आशामा रहेका प्रचण्डले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफैंसँग राखेका छन् ।२३ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डले उपप्रधानमन्त्रीको क्लब पनि बनाएका छन् । उनले चार जना उपप्रधानमन्त्री बनाए ।
पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमा उनले एमालेका विष्णु पौडेललाई उपप्रधानसहित अर्थ र आफ्नै दलका नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित भौतिकमन्त्री बनाए । संसदमा चौथो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले पनि उपप्रधानमन्त्री मागेपछि उनी बाध्य भए, उपप्रधान दिन । किनकी अहिलेको सरकारमा रास्वपा निर्णायक शक्ति छ ।प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा थप एक जना उपप्रधानमन्त्री बनाउनु परेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन् ।
संसदमा तेस्रो दल भए पनि प्रधानमन्त्रीको बाजी मारेका प्रचण्डले गणितलाई आकलन गरेर उपप्रधानमन्त्रीको लस्कर लगाएका हुन् । पौडेल र श्रेष्ठ यसअघिका सरकारका पालामा पनि उपप्रधानमन्त्री बनेका थिए । तर, पहिलो पटक सांसद बनेका लामिछानेले उपप्रधानमन्त्री मागेपछि राप्रपाका लिङ्देन पनि त्यसै छोड्ने भएनन्, उनी पनि उपप्रधानमन्त्री बने ।उपप्रधानमन्त्री मन्त्रीभन्दा माथिल्लो वरीयतामा हुन्छन् । उपप्रधानमन्त्री बन्दा नेताहरु शाख बढ्ने ठान्ने गर्छन् भने सचिवालय सुविधा र तलब भत्ता पनि मन्त्रीको भन्दा धेरै हुन्छ ।
उपप्रधानमन्त्रीको तलब मासिक ७७ हजार ६४० रुपैयाँ छ भने मन्त्रीको तलब ७२ हजार ७३० हुन्छ । त्यस्तै, मन्त्रीलाई ८ जना सुरक्षाकर्मी दिइन्छ भने उपप्रधानमन्त्रीका लागि १४ जनासम्म दिने व्यवस्था छ । भ्रमणमा जाँदा उपलब्ध हुने टिकटको सुविधा पनि मन्त्री भन्दा उपप्रधानमन्त्री बढी हुन्छ । यसअघि ०७२ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि ६ जना उपप्रधानमन्त्री बनाएका थिए ।