
नेपाली कांग्रेस पार्टीदेखि सरकारमा समेत देउवा प्रवृत्ति नै किन हाबी हुँदै छ ?


काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पुस्तान्तरणको नारासहित पार्टीको महामन्त्रीमा विजयी भएका दुई आसलाग्दा युवा अनुहार हुन् गगन थापा र विश्वप्रकाश शर्मा । उनीहरुको उदयले कांग्रेसमा मात्रै होइन, सिंगो नेपाली राजनीतिले नयाँ कोर्स लिने अपेक्षा गरिएको थियो । पार्टीमा त झन् पुनर्जागरण युग सुरू भयो भनेर पनि व्याख्या गरियो । तर महाधिवेशनको एक वर्ष पूरा हुँदा नहुँदै पार्टीभित्रै उनीहरुको आवाज हराउँदै जान थालेको छ ।
१४ औँ महाधिवेशनबाट ४० प्रतिशतको हिस्सा ओगटेको संस्थापनइतर समूह संसदीय दलको निर्वाचनसम्म आइपुग्दा अझ फराकिलो बन्दै जाने अपेक्षा र तयारी थियो । संस्थापन समूहबाटै महामन्त्रीमा चुनाव लडेका प्रदीप पौडेलसमेत यही समूहमा जोडिएको कुरालाई ठूलै उथलपुथलका रुपमा व्याख्या गरिएको थियो । तर अवस्था यस्तो देखियो कि उनीहरु थप शक्तिशाली होइन, निरीह प्रमाणित भए । ४० प्रतिशत हिस्सा ओगटेको समूह २८ प्रतिशतमा खुम्चियो ।
संसदीय दलको निर्वाचन सम्पन्न भएको महिना दिन पनि नपुग्दै महामन्त्रीद्वयको विचार र उपस्थिति पार्टीमा अझै कमजोर बनेको प्रमाणित हुँदै गएको छ । कांग्रेस नेतृत्वमा सरकार बनाउने विषय चलिरहँदा महामन्त्रीद्वय कुनै भूमिकामै देखिएनन् । तत्कालीन सत्ता गठबन्धन र पार्टीका महत्त्वपूर्ण बैठक चलिरहँदा महामन्त्रीद्वय पोखरामा साहित्य मेला भर्न पुगेका थिए।
उनीहरु उपेक्षित हुँदै गएको कुरा पुस २६ गते भएको कार्यसम्पादन समितिको बैठकले झनै प्रमाणित गरिदियो । बैठकमा कांग्रेस नेतृत्वको गठबन्धनलाई धोका दिएर गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु हुँदैन भन्ने महामन्त्रीद्वयको विचारका पक्षमा केवल ५ जना मात्र उभिए । जबकि कार्यसम्पादन समितिमा ३७ सदस्य छन् । युवा महामन्त्रीद्वयको विचारमा संस्थापन इतरको नेतृत्व गरिरहेका शेखर कोइरालासमेत सहमत भइदिएनन् ।
संसदीय दलको निर्वाचनमा गगन थापाले प्रतिस्पर्धा गरेपछि संस्थापनइतर समूहका नेता नै उनीसँग सशंकित छन् । त्यही कारण गगनलाई कमजोर र निरीह सावित गर्दै किनारामा धकेल्ने प्रयास उनकै समूहभित्रबाट भइरहेको छ । उनलाई असफल बनाउने प्रयास एकपछि अर्को गरी सफल पनि हुँदै गइरहेको छ ।
आफूहरुको बोली र अडानको पार्टीमा कुनै स्थान नभएको विषयलाई उनीहरु भने भाषिक चातुर्यको सहायताले पन्छाउने प्रयास गरिरहेका छन् । संसदमा पहिलो पार्टी भए पनि निर्वाचनको परिणाम हेर्दा कांग्रेसको मत घट्दै गएको छ । पार्टी बलियो बनाउनका लागि देखाउन सकिने अनुहारहरु नै पार्टीमा कमजोर बन्दै जाँदा यसको क्षति सिंगो नेपाली कांग्रेसले बेहोर्नुपर्छ भन्ने सबैलाई थाहा छ । तैपनि आफू किनारा लागेर गगन र विश्वप्रकाशलाई अगाडि बढाउन कोही तयार छैन ।
यसको सम्पूर्ण लाभ संस्थापन खेमा र त्यसमा पनि सभापति शेरबहादुर देउवालाई पुगिरहेको छ । उमेर, स्वास्थ्य, साख कुनै पनि हिसाबले पार्टीको नेतृत्व गर्न असमर्थ भइसक्दा पनि देउवा निर्विकल्पजस्तो बनिरहेका छन् ।पार्टीमा मात्र होइन, सत्ता राजनीतिमा पनि देउवालाई नै लाभ पुग्ने गरी घटनाक्रम विकसित भइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो नयाँ जोश र जाँगर भएको पार्टीसमेत देउवा नेतृत्वको पूर्ववर्ती सरकारमा हालीमुहाली गरेकाहरुमाथि छानबिन गर्ने विषय उठाउन छाडेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अहिलेसम्मका सरकारका प्रधानमन्त्री, मन्त्री र तिनका सहयोगीहरूमाथि छानबिन गर्नुपर्ने चुनावी नारा बिर्सिइसकेको छ ।
स्वयं गृहमन्त्री रवि लामिछानेको ध्यानसमेत तस्करको लस्करमाथि प्रहार गर्नमा होइन, आफ्नै नागरिकता प्रकरणको बचाउ र ढाकछोपमा मात्र सीमित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको दल नेकपा माओवादी केन्द्र त देउवा सरकारका हरेक रवैयाका मतियार भइहाले । यी सबै परिदृश्यले देउवा र उनको वरिपरि रहेर राज्यस्रोत र शक्तिमा तर मार्ने वर्गमाथि छानबिनको विषय त्यसै हराउने भएको छ । बरु जो सत्तामा पुग्छन्, ती सबैमा देउवा प्रवृत्ति हावी हुँदैछ । सत्ताका बेथिति नियन्त्रण गर्ने होइन कि, तिनै बेथितिसँग अनुकूलन हुनेतिर नयाँ र युवा भनिएकाहरू पनि लागेका देखिन्छन् ।