
प्रचण्डलाई रिझाएर कांग्रेसले पाउला त सत्तामा भाग ?


काठमाडौं । गत पुस १० गतेसम्म केन्द्रदेखि प्रदेशका विभिन राजकीय पद बाँडफाँट गर्ने हैसियतमा रहेको नेपाली कांग्रेस अहिले संसदको तेस्रो र सानो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई रिझाएर एउटा मात्र भए पनि राजकीय पदका लागि हारगुहार गर्नुपर्ने अवस्थामा पुगेको छ । सत्तालिप्साको अत्यन्त तल्लो स्तरमा पुगेर कांग्रेसले प्रधानन्त्रीलाई विश्वासको मत दिएपछि संघीय संसदमा विपक्षी दलको हैसियतसमेत गुमाएको छ ।
विपक्षी दलको मान्यता नै नपाउने गरी प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले आफू प्रतिपक्षमा बस्ने भन्नचाहिँ छाडेको छैन । तर लाजमर्दो के छ भने एकातिर प्रतिपक्षमा बस्ने भन्ने र अर्कोतिर सत्तामा भाग पाउने आशामा सत्ताधारी दललाई रिझाउन लाग्ने दोहोरो चरित्रका कारण कांग्रेसको साख ऐतिहासिकरुपमै गिरेको छ ।एमाले र माओवादीसहित सात दलको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको सबैभन्दा ठूलो दल कांग्रेसले मत दिनुपर्ने कुनै पनि अवस्था र कारण थिएन । संसदीय राजनीतिको स्वाभाविक अभ्यास अवलम्बन गर्ने हो भने दोस्रो र तेस्रो ठूलो दल मिलेर सरकार बनाउँदा पहिलो ठूलो दल विपक्षमा बस्नुपर्ने हो । तर उसले संविधानको रक्षाका लागि विश्वासको मत दिनुपर्ने अवस्था आएको तर्क गर्दै राष्ट्रपति र सभामुखमध्ये कुनै एक पद पाउन प्रचण्डसँग हारगुहार गरिरहेको छ । यो कुरा खुलेआम भन्न कांग्रेस नेताहरुले कत्ति पनि लाज मानेका छैनन् ।
उनीहका बुझाइमा, दाहाललाई विश्वासको मत दिएर मुख्य पदहरुमा दाबीको बाटो त खुलेको छ नै, नवगठित सत्ता गठबन्धनभित्र अविश्वासको बीउ पनि रोप्न सफलता मिलेको छ । यसको प्रमाण एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाको रोस्ट्रमबाटै व्यक्त गरेको आशंकालाई मानेका छन् । ओलीसँग दाहालको दूरी बढाउने र दाहाललाई फकाएर राष्ट्रपति वा सभामुखमध्ये एक र अरु केही राजकीय पद हात पार्ने अपेक्षासहित दाहाललाई रिझाउन लागिपर्नुलाई उनीहरुले आफ्नो बाध्यता होइन, महानता ठानेका छन् । दाहाललाई पनि राष्ट्रपति र सभामुख पद दुवै एमालेका हातमा सुम्पेर कठपुतली प्रधानमन्त्री बन्नुभन्दा पूर्वसत्ता सहयात्री कांग्रेसलाई गुन लगाइराखे भविष्यमा सुरक्षित भइने सल्लाह कांग्रेसका उपबुज्रुक नेताहरुले दिएका छन् ।
सत्ताको चास्नीभन्दा एक इन्च पर बस्न नसक्ने कांग्रेसीहरुको चालबाजी मात्र हो भनेर दाहालले कति बुझेका छन्, त्यो उनको कुरा हो । तर दाहालले यति चाँडै सहमति तोडे वा विश्वासघात गरे भने ओलीले त्यसको बदला नराम्रोसँग लिन सक्नेछन् । किनभने समकालीन राजनीतिमा ओलीले जति चतुर चाल्न सक्ने अर्को कोही राजनेता देखिएको छैन र उनीसँग जति धेरै विकल्प अरु कुनै दल वा नेतासँग छैनन् पनि ।कांग्रेसले ठानेको होला कि दाहाललाई विश्वासको मत दिएपछि पुरानो गठबन्धन ब्युँतिसक्यो र दाहाल-ओली सम्बन्धमा फाटो आइसक्यो । तर कांग्रेसले के बुझेको छैन भने दाहाल र ओलीको गठबन्धन केवल उनीहरुको आपसी विश्वास र समझदारीले मात्र निर्माण गरेको होइन । अनि ती दुई नेताका निजी अहम् वा आकांक्षा मात्र यस सम्बन्धका निर्णायक वा निर्धारक तत्त्व होइनन् भन्ने पनि कांग्रेस नेतृत्वले बुझ्न सकेको होओइन । बरु कृष्ण सिटौला र बाबुराम भट्टराईप्रभृत्तिका पात्रहरुको उक्साहटमा देउवा नाचिरहेसम्म कांग्रेसले यस्ता आत्मघाती चाल चलिरहनेछ ।
पार्टीभित्रै असहमतिका बीच दाहाललाई दिएको विश्वासको मतले कांग्रेसलाई राज्यका महत्त्वपूर्ण पद दिलाउँछ वा दिलाउँदैन, त्यो भविष्यले नै देखाउला । तर उसले स्वतः प्राप्त गर्ने विपक्षी दलको हैसियत भने संकटमा परिसकेको छ । योभन्दा पनि ठूलो संकट कांग्रेसको आन्तरिक राजनीतिमा रोपिएको द्वन्द्वको बीऊ हुनेछ । संसदलाई विपक्षीविहीन बनाउँदाको परिणति त ढिलोचाँडो बेहोर्नैपर्ने हुन्छ । यदि माओवादीले कांग्रेसलाई कुनै राजकीय पद दिन चाहन्छ भने पनि त्यो आफ्नो भाग नखाएर दिनुपर्ने हुन्छ । समझदारीअनुसार एमालेले पाउनुपर्ने पाएन भने प्रचण्डले त्यसवापतको क्षति अर्को तरिकाले बेहोर्नुपर्ने हुन सक्छ । त्यो के हुनेछ भन्नेचाहिँ ओलीबाहेक अरु कसलाई थाहा होला र ?