
सांसदमा पराजित उपेन्द्र यादव पनि मोलमोलाइकै मुडमा, भन्छन्- एमालेसँगको सहकार्य सकियो
नेकपा माओवादी केन्द्रले एमालेसँग समेत सहकार्य गर्न सक्ने विकल्प खुला राखेको भनेलगत्तै नयाँ निर्वाचनबाट आएका अरु शक्तिहरु पनि मोलमोलाइको मुडमा


काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले एमालेसँग समेत सहकार्य गर्न सक्ने विकल्प खुला राखेको भनेलगत्तै नयाँ निर्वाचनबाट आएका अरु शक्तिहरु पनि मोलमोलाइको मुडमा देखिएका छन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउत आफूलाई किङ मेकर भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिँदै हिँडेका छन् । यही बीचमा जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँगको सहकार्य सकिएको घोषणा गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार विराटनगरमा एमालेसँग सहकार्य सकिएको घोषणा गरेका हुन् । उनले अब राजनीति नयाँ कोर्समा गएको बताएका छन् ।
उनले चुनावमा केही सिटमा मात्र एमालेसँग तालमेल गरिएको र चुनाव सकिएसँगै सहकार्य पनि सकिएको बताएका हुन् । यद्यपि यादवले सत्ता समीकरणका लागि कुन गठबन्धनमा अगाडि बढ्ने भन्ने विषयमा भने निर्णय भइनसकेको बताएका छन् । जसपा चुनावभन्दा केही दिन अगाडि मात्र सत्ता गठबन्धनबाट अलग भएर एमालेसँग तालमेल गर्न पुगेको थियो । चुनावमा अध्यक्ष यादव पराजित भएका छन् । यो पार्टी राष्ट्रिय दल भने बन्ने भएको छ । उसले प्रत्यक्षमा सात सिट जितेको छ भने समानुपातिकमा करिब पाँच सिट पाउने सम्भावना छ ।
यस्तै मधेसबाट उदाएको जनमत पार्टीले प्रत्यक्षमा एक सिट मात्र जिते पनि राष्ट्रिय दलको मान्यता पाउने भएकाले ४ वा ५ सिट समानुपातिकबाट समेत हात पार्नेछ । उता मधेसकै अर्को शक्ति लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेको छ । यस्तै यो संसदमा करिब १३ वटा दल हुने भएका छन् । ५ जना स्वतन्त्र सांसद पनि बेग्लाबेग्लै दलबराबरकै हैसियतमा हुनेछन् ।
यति धेरै दलको उपस्थिति भएको संसदमा एक वा दुई दल मिल्दा पनि बहुमत पुर्याउन मुस्किल छ । खासगरी कांग्रेस र एमाले नमिलेको खण्डमा ३ दल मिलेरसमेत सरकार बनाउन कठिन छ । ठूला र मझौला गरी कम्तीमा ४ दल मिल्नुपर्छ ।ससाना दलको सहयोग लिएर सरकार बनाउनु भनेको भ्यागुताको धार्नी पुर्याउनुसरह हुने भएको छ ।
यस्तो बेलामा तेस्रोदेखि मुन्तिरका सबै दलले आफूलाई लिलाम बढाबढमा राखेका छन् र उनीहरु सबैले आफूलाई किङ मेकर भनिरहेका छन् । सत्ता समीकरणमा आफ्नो पार्टीको पनि भूमिका महत्त्वपूर्ण हुने देखिएपछि ससाना टुक्रे दलहरुको स्वयं घोषित मूल्य बढेको हो । यो परिदृश्य हेर्दा अबको सत्ता गठबन्धन कुनै राजनीतिक विचार वा नैतिकताका आधारमा नभई जता ठूलो भाग पाइन्छ त्यतै मिल्ने मनःस्थितिमा दलहरुको नेतृत्व पंक्ति देखिएको छ ।