
संसदीय दलको नेता बन्न गगन थापा रणनीतिक तयारीमा, देउवापक्षीय नेता चाकडीमा


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेतबाट चुनाव जितेर आउनेबित्तिकै बालुवाटारमै पुगेर सभापति शेरबहादुर देउवालाई फूलमाला चढाए । देउवाले चाहेसम्म संसदीय दलको नेतामा अरु कसैले दाबी गर्न नपाउने भन्दै निषेधपूर्ण अभिव्यक्ति दिए । त्यसपछि उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार गए । अनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि त्यसैगरी भेटे र फूलमाला नै चढाए । आफूलाई जिताउन सघाएकामा कृतज्ञता जाहेर गर्न उनले यो दौडभेट गरेको बुझ्न कठिन छैन । तर उनले यसरी नेतृत्वको प्रदक्षिणा गरेर सुर्खेती जनताको भने अपमान गरेका छन् ।
हुन त गएका पाँच वर्ष देउवाको निवास बूढानीलकण्ठ र बालुवाटारका चार दिवालभन्दा बाहिर ननिस्किएका खड्कालाई देउवा, दाहाल र नेपालबाहेकका शक्तिकेन्द्रलाई देखेका पनि छैनन् । जनताको शक्ति त उनले देख्ने र बुझ्ने कुरै भएन । उनलाई लागेको छ कि यिनै तीन नेता तीन धाम हुन् । यिनैको आशिर्वादले मात्र आफ्नो उन्नति र मुक्ति सम्भव छ । तसर्थ तन मन र धनले यिनैको साधना गर्नुपर्छ । जनता त केवल दास न हुन् । यी तीन नेताले जे आदेश दिन्छन्, त्यसैअनुसार मतपत्रमा छाप लगाउँछन् । अहिले यिनै तीन नेताको आदेशका कारण जनताले आफूलाई मतदान गर्न बाध्य भएको खड्काको बुझाइ देखिन्छ ।
खड्का मात्र होइन, बालुवाटारमा प्रधानमन्त्री देउवालाई घेरेर बसेकाहरु प्रायःको बुझाइ यस्तै छ । उनीहरुले देउवालाई खोपाको देउता बनाएका छन् । कसैलाई सहज पहुँच नदिने, सबै कुरा ठीकठाक छ भन्दै सही सूचना र जानकारीबाट वञ्चित गर्ने अनि रणनीतिक चाल चल्नुपर्ने बेला पनि चाकडीका चिप्ला शब्द र व्यवहारबाट लठ्ठ पार्ने यस्तै सहयोगीका कारण पार्टीभित्र र बाहिर देउवाको साख अनि प्रभाव घटाउने काम यही घेराले गरिरहेको छ ।
उता गगन थापाले भने संसदीय दलको नेताको दाबीलाई बलियो बनाउन अनेकन रणनीतिक चाल चलिरहेका छन् । पार्टीभित्र मात्र होइन, बाहिर पनि उनले निकै धेरै गोटी चालिसकेको विभिन्न परिदृश्यले देखाइरहेको छ । पार्टीभित्र त उनले आफूलाई बलियो बनाउन चुनावअघिदेखि कसरत सुरु गरिसकेका हुन् । टिकट बाँड्दादेखि प्रचार अभियान चलाउँदासमेत उनले आफूलाई समर्थन गर्ने नेतालाई छानीछानी गुन लगाउने अनि जस लिने काम गर्दै आएका हुन् । आफूलाई सहयोग नगर्न सक्ने र देउवाका पक्षमा खुलेरै लाग्ने नेताहरुलाई थापाले हराउनसमेत भूमिका खेले । यसका लागि उनले रवि लामिछानेसँग पनि गुप्त तालमेल गरेको कुरा कांग्रेसमा खुला चर्चाको विषय भइसकेको छ ।
नेपाली कांग्रेसको विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था छ । सके सर्वसम्मत, त्यो नभए संसदीय दलमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति दलको नेता हुने विधानको व्यवस्था छ । तयारीले यसपटक प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसभित्रै धेरैले आकांक्षा राखेकाले संसदीय दलको नेता चयन सर्वसम्मत हुने सम्भावना छैन । अहिलेसम्म शेरबहादुर देउवा, गगन थापा, सशांक कोइराला, शेखर कोइराला, रामचन्द्र पौडेल र प्रकाशमान सिंह दौडमा छन् । इच्छा जतिले राखे पनि संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट थापालाई नै बलियो दाबेदार मानिएको छ ।
दुबैजनाको बलियो दाबेदारीले यसपटक कांग्रेस संसदीय दलको नेतामा निर्वाचन त हुने नै छ, प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ । राजनीतिमा युवाको सार्थक हस्तक्षेप हुनुपर्ने आवाज उठिरहेको र चुनावी परिणामले पनि जनता यथास्थितिबाट पार पाउन खोजिरहेको स्पष्ट संकेत गरेका बेला गगन थापा र केही युवा नेता योजनाबद्ध रूपमा अघि बढेका छन् । कांग्रेसभित्र पदाधिकारी तहमै युवा नेतृत्वले हस्तक्षेपकारी अभियान चलाउँदा पुस्तान्तरको दारा पनि दर्बिलो बनेको छ । कुनै समय देउवानिकट मानिएका विश्वप्रकाश शर्मा समेत धनराज गुरुङ, प्रदीप पौडेल, बद्री पाण्डेलगायत प्रभावशाली नेतालाई उछिनेर गगन थापाको पक्षमा दुई कदम अगाडि आएर खुलेर लागेका छन् । उनीहरुले गगनको अगुवाइमा अघि बढ्ने तत्परता देखाएपछि यसले संसदीय दलमा थापालाई झनै बलियो बनाउँदै लगेको छ ।
अहिलेसम्मका निर्वाचित अनुहार हेर्दा थापाका पक्षमा उभिन सक्ने सांसद एवं प्रभावशाली नेताहरुको संख्या उल्लेख्य भइसकेको छ । चुनावअघिका प्रचार अभियानमा पनि थापाले आफूपक्षीय नेताहरुका नाममा भिडियो सन्देश नै सार्वजनिक गरी भोट माग्दै संसदीय दलको नेतामा आफ्नो दाबीलाई बलियो बनाउन खोजेको प्रस्ट देखिन्थ्यो । निर्वाचनमा चुनिएका अनुहारलाई हेर्दा थापा संसदीय दलको नेता नै निर्वाचित हुनेछन् भनेर ठोकुवा गरिहाल्ने अवस्था नबने पनि उनका लागि अनुकूलता थपिँदै गएको भने प्रस्टसँग देख्न सकिन्छ ।
समानुपातिकतर्फको ६०/४० को भागबण्डाले गगनलाई आफ्नो पक्ष बलियो बनाउन संसदीय दलमा निकै सकस हुनेछ। त्यसमा पनि संस्थापन पक्षबाट देउवाबाहेक अन्यलाई ठाउँ नरहेको भनेर आइरहेका लगातारका अभिव्यक्तिले पनि थापालाई रोक्न बालुवाटारबाट सबै प्रकारका शक्ति र स्रोतसाधन परिचालन हुने प्रस्ट्याइसकेको छ । यो कुरा बुझेर नै हुन सक्छ गगनका पक्षमा पनि पार्टीभित्र मात्र नभई विभिन्न शक्तिकेन्द्रले चासो मात्र देखाएका छैनन्, पैरवी नै थालिसकेको देखिन्छ ।
नेपाल मामिलाका जानकार एवं भारतीय गुप्तचर संस्था रअनिकट मानिने प्राध्यापक एसडी मुनिले केही दिनअघि ट्वीटरमार्फत् नेपाली कांग्रेसभित्र देउवालाई अफ्ठेरो रहेको र उनले प्रधानमन्त्रीमा आफ्नो दाबी फिर्ता लिन सक्ने भनेर गरेको टिप्पणीले एक हदसम्म तरंग पैदा गरिसकेको छ । भारतमा बीजेपी र कांग्रेस लाइनबीच स्पष्ट टकराव चलिरहेको छ । बीजेपीइतरका भारतीयको सहानुभूति गगनप्रति देखिन्छ । यी परिदृश्यबाट गगनको दाबेदारीमा भूराजनीतिक चासो पनि जोडिइसकेको छ र यसले देउवालाई ठूलै चुनौती तेर्स्याउँदैछ भन्ने यकिनसाथ भन्न सकिने भएको छ ।
अझै भन्ने हो भने यो निर्वाचनमा सहरी क्षेत्रमा जसरी मतदाताले स्थापित दलका उम्मेदवारलाई नरोजेर विकल्प फेरे त्यसले कांग्रेसभित्र निर्वाचित भएर आउनेमाथि पनि प्रधानमन्त्रीका दाबेदार फेर्न दबाब बढाएको छ। पार्टीहरुमा पुस्तान्तरणको कुरा हुँदा सत्ता हाँक्न पनि अब ताजा अनुहारको खोजी जनताले गरेकाले यसपटक पहिलाजसरी देउवालाई सहजै मैदान खाली नहुने निश्चित छ । नयाँ सरकार निर्माणका लागि दलहरुको दौडधूप चलिरहँदा स्पष्ट सत्ता समीकरणको चित्र देखापरिसकेको छैन । कांग्रेस एक्लैको सरकार बन्ने अवस्था छैन । हालको सत्ता गठबन्धन नै कायम रहन्छ भन्ने पनि छैन । हालकै गठबन्धन रहँदा पनि कांग्रेसकै भागमा प्रधानमन्त्री पर्छ भनेर ठोकुवा गर्ने आधार छैन । कांग्रेसलाई विगत २ वर्षदेखि बिनासर्त नेतृत्व सुम्पिइसकेकाले अब आफ्नो पालो भन्दै माओवादी अध्यक्ष प्रचण्डले दाबी गरे कांग्रेससँग दिने जवाफ हुनेछैन । भलै माओवादीले एमालेसँग पनि सत्ता सहकार्य गर्न सक्ने निर्णय लिँदाका परकम्पन बालुवाटारको पर्खाल छिचोल्न समय लाग्न सक्छ ।
जे होस्, कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षी थपिएका थपियै छन् । तर आकांक्षीको संख्या धेरै र निर्वाचन परिणाम पनि सन्तोषजनक नरहेको स्थितिमा कांग्रेसभित्र यसपटक संसदीय दलको नेता चयनको प्रक्रिया भने रोचक हुने देखिँदै छ। विशेषगरी सभापति देउवा र महामन्त्री थापाबीच कसिलो प्रतिस्पर्धा हुँदै छ । उनीहरु दुवैका लागि हारजितको सहज आकलन गर्न सक्ने अवस्था बनिसकेको छैन । कांग्रेसका कति सांसदले अन्तिम समयमा कित्ता फेर्छन् भन्ने कुराले पनि संसदीय दलको नेतृत्व एवं भावी प्रधानमन्त्रीको दाबेदार तय हुनेछ ।