
देउवासँग मिल्दा प्रचण्डलाई घाटैघाटा, फेरि पनि ओलीसँगै मिल्नुमा लाभ


काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर दुईपटक सरकार बनाए । दुईपटक नै चुनावमा सहकार्य गरे । सत्तामा सँगै बस्दा उनले जेजति लाभ पाए पनि चुनावी सहकार्य उनका लागि घाटाको व्यापार सावित भएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादीले कांग्रेससँग गठबन्धन गर्दा जहाँतहीँ हार मात्र बेहोर्यो । बरु कांग्रेसले एकतर्फी लाभ लियो । माओवादीका तर्फबाट फाइदा भएको भनेको चितवनको भरतपुरमा प्रचण्डपुत्री रेनु दाहालका हकमा मात्र हो । त्यो पनि निकै ठूलो बदनामी कमाएर त्यो सम्भव भएको हो ।पछि संघ र प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य गरेपछि माओवादी झण्डै कांग्रेसकै हाराहारीको शक्ति बन्न पुग्यो । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कांग्रेसले जम्मा २३ सिट जित्दा माओवादीको भागमा ३६ सिट हात परेका थिए । समानुपातिकसमेत जोड्दा पनि सिंगो प्रतिनिधि सभामा कांग्रेस ६३ सिटमा सीमित हुँदा माओवादीले ५३ सिट सुरक्षित गरेको थियो ।
यसपालिको निर्वाचनमा माओवादीले कांग्रेसँग सहकार्य गर्दा प्रत्यक्षतर्फ मुस्किलले १८ सिट जित्ने भएको छ र समानुपातिकमा उसको भागमा १४ सिटभन्दा बढी पर्ने छैनन् । यो संख्या भर्खरै जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीकै हाराहारी हो । माओवादीको हैसियत राष्ट्रिय राजनीतिबाटै असान्दर्भिक भइसकेको पूर्वपञ्चहरुको पार्टी राप्रपासँग तुलना गर्नुपर्ने अवस्थामा पुग्नु झनै लज्जाजनक छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई यसपालिको चुनावमा चौथो स्थानमा पुर्याउने र अर्कोपालि नामोनिशान बाँकी नराख्ने उद्घोष गरेका थिए । यस्तो हविगत बरु माओवादीले नै बेहोर्नुपरेको छ । कांग्रेस–माओवादीसहित पाँच दलीय गठबन्धनसँग एक्लै लडेको एमाले बरु लोकप्रिय मतमा सबैभन्दा माथि देखिएको छ । दोस्रो स्थानको कांग्रेस फराकिलो अन्तरले पछाडि छ ।
कांग्रेसले माओवादीलाई उपयोग गरेर प्रत्यक्षतर्फ पहिलाभन्दा दोब्बर सिट बढाएको छ । जहाँजहाँ कांग्रेस उम्मेदवार जितेका छन्, त्यहाँ निर्णायक मत माओवादीकै देखिन्छ । जहाँजहाँ माओवादी उम्मेदवारले जितेका छन्, त्यहाँ कांग्रेसको मत निर्णायक छैन । कर्णाली र रूकुम–रोल्पाजस्ता माओवादीको आफ्नै आधार क्षेत्र हो । कांग्रेसको मतले जितिने भने माओवादी अध्यक्ष प्रचण्ड गोरखा जानुपर्ने पनि थिएन । कांग्रेससँग गठबन्धन गर्दा पनि माओवादीले आफ्नै बुताले जित्नुपरेपछि अब भन्नूस्– गठबन्धन कसका लागि र केका लागि ? माओवादीका लागि यो घाटाको व्यापार नभएर के हो ? खासमा कांग्रेसबाट यसपालि माओवादीले पाएको भनेको बेइमानी र धोका मात्र हो ।
यथार्थ के हो भने कांग्रेसका परम्परागत मतदाताले कम्युनिस्टलाई मत दिँदै दिँदैनन् । बरु तिनले घण्टी र लौरोजस्ता नयाँनयाँ दललाई रोज्छन् । त्यो पनि नभए राप्रपाजस्ता अनुदारवादी शक्तिलाई समर्थन गर्छन् । माओवादीजस्तो कथित क्रान्तिकारी एवं उग्रवादी पार्टीप्रति कांग्रेसको एक रत्ति पनि समर्थन र सहानुभूति हुन सक्दैन । त्यही कारण यसपालि माओवादीको भागमा पराजय हात पर्यो । अघिल्लो चुनावभन्दा आधामा खुम्चनुपर्यो ।
फेरि पनि प्रचण्डका सामु महत्त्वपूर्ण निर्णय गर्ने बेला आएको छ । कांग्रेस वा एमाले नेतृत्वको गठबन्धन बनाएर सरकार बनाउने दुईवटा विकल्प उनका सामु छन् । कांग्रेसले अहिलेसम्म माओवादी र प्रचण्डलाई हेपाहा एवं अपमानजनक व्यवहार गरेको छ । कांग्रेसका गगन थापादेखि विश्वप्रकाश शर्मा र धनराज गुरुङले समेत हेयपूर्ण टिप्पणी गरेका छन् । खुलेरै उनीहरुले माओवादीलाई धोका दिने गरी कार्यकर्तासामु बोलेका छन् । माओवादी नेताहरुलाई अपराधी करार गरेका छन् । माओवादी शक्तिलाई अहिले पनि अवैध एवं आतंककारी भन्नसमेत उनीहरु पछि पर्दैनन् । अनि माओवादीचाहिँ यही कांग्रेससँग टाँस्सिइरहनुपर्ने के बाध्यता छ र ?
यतिखेर कांग्रेसले केही बढी सिट जितेकाले उसमा पर्याप्त दम्भ र अहंकारले घर गरिसकेको छ । बरू विगत २ वर्षदेखि सत्ताबाहिर बस्नुपर्दा एमालेमा बढी छटपटी देखिन्छ । उसले माओवादीलाई बढी उदार र नम्र व्यवहार गर्ने छनक देखाएको छ । प्रचण्ड गोरखाबाट निर्वाचित हुनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले फोनमार्फत् बधाई दिएर यो संकेत गरिसकेका छन् ।राजनीतिक र सैद्धान्तिक हिसाबले पनि एमालेसँगको सहकार्य माओवादीका लागि बढी औचित्यपूर्ण हुन्छ । एमाले, माओवादी, जसपा र रास्वपा मिल्दा सुविधाजनक बहुमतको सरकार पनि बन्छ । यी चार दलले करिब १४५ सिट प्रतिनिधि सभामा सुरक्षित गर्ने देखिन्छ । उनीहरु मिल्दा प्रदेशतिर पनि शक्ति साझेदारी गर्न सकिन्छ । एउटा साझा कार्यक्रम बनाएर ५ वर्षे रणनीतिक सहकार्यका साथ चल्न सकिन्छ ।
बहुमत हुनेबित्तिकै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसम्मै भागबन्डा गर्न पनि सहजै मिल्छ । यसो गर्दा कांग्रेसलाई ढुक्कैसँग ५ वर्ष सत्ताबाहिर राख्न सकिन्छ । अर्को चुनावसम्मै एमालेसँग सहकार्य गर्ने हो भने माओवादीले त्यतिन्जेल कांग्रेसको स्थान लिइसक्नेछ । यो देशको प्रमुख ठूलो शक्तिमा एमालेपछि माओवादीको नाम आउनेछ । फेरि पनि कांग्रेसकै पुच्छर बन्न पुगेमा माओवादीको हैसियत राप्रपाभन्दा तल झर्नेछ । अर्को चुनावसम्म यो शक्ति जीवित नरहन पनि सक्नेछ । देशभरको वामपन्थी मतको प्रतिनिधित्व र नेतृत्व एक्लै एमालेले गर्नेछ ।