
रवि लामिछाने, सीके राउत र रेशम चौधरीको संसद प्रवेशको अर्थ र अन्तर्य


काठमाडौँ । निर्वाचनमा अनपेक्षित मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी पुरानो दल होइन । ५ महिनाअघि मात्र घोषणा गरिएको दल हो । ग्यालेक्सी टेलिभिजनका लगानीकर्ताको झण्डै एक अर्ब रुपैयाँ डुबाएर राजनीतिमा हाम फालेका रवि लामिछानेले असार ७ गते आफ्नै नेतृत्वमा पार्टी घोषणा गरे ।उनलाई अहिले पनि प्रायःले गर्ने प्रश्न हो– टिभीका कार्यमक्रम चलाएजस्तो राजनीतिमा सफल भइँदैन । तैपनि जन्मिएको ५ महिनामै स्वतन्त्र पार्टीले ठूला दल र तिनका उम्मेदवारको छातीमा ढ्यांग्रो बजारिदिए । ठूलाठूला नेताको विरासत ढल्यो । किल्ला तोडिए । भोट बैंक भत्किए । कहलिएका नेता पराजित भए । सरकार बनाउने साँचो आफूसँग रहेको ठान्ने माओवादीलाई समानुपातिक मतमा झण्डै पछाडि पारिदियो । प्रत्यक्षतर्फ स्वतन्त्र पार्टीले सात सिट जितिसकेको छ ।
पेसाले चिकित्सक तोसिमा कार्की राजनीतिमा होमिँदै गर्दा धेरैले उनको जितको कल्पना गरेका थिएनन् । तर बिहीबार बिहान सार्वजनिक ललितपुर ३ को मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले एमालेका उम्मेदवारलाई त पछि पारिन् नै, ठूलै तामझाम अनि शक्ति प्रदर्शन गर्दै चुनावी प्रचार गरेकी ऊर्जामन्त्री पम्फा भुसाललाई पनि माओवादीको वास्तविक धरातल देखाइदिइन् ।काठमाडौं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसभामुख ओनसरी घर्तीलाई हरायो । सोबिता गौतमले सत्ता गठबन्धनकी कथित हेविवेट उम्मेदवार घर्तीलाई पराजित गर्दा मत परिणाममा घर्तीको स्थान चौथो हुन आयो ।
काठमाडौं ६ मा शिशिर खनालले पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान र पूर्वप्रहरी प्रमुख रहिसकेका एमालेका सर्वेन्द्र खनाललाई भारी मतले हराइदिए । शैक्षिक अभियन्ता खनाललाई काठमाडौं ६ का मतदाताले सहजै अनुमोदन गरिदिए । शिशिर खनाल मुलुकले खोजेको नेतृत्वको कोटिमा पर्ने थोरै विजेतामा पर्छन् र रास्वपाका त उनी एक मात्र यस्ता उम्मेदवार हुन्, जसले आफूलाई एक भिन्न क्षेत्रमा कामबाटै स्थापित गरेका छन् । यस्तै काठमाडौं ७ र ८ मा पनि ठूला दलका उम्मेदवारको केही चलेन ।
चुनाव लड्न चितवन २ रोजेका स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि फराकिलो मतान्तरले जिते । उनले कांग्रेसका बहालवाला राज्यमन्त्री उमेश श्रेष्ठलाई ३४ हजारभन्दा बढी मतले हराए । एमालेका कृष्णभक्त पोखरेल पनि बलिया उम्मेदवारमा पर्थे तर रविको रापका अगाडि उनी टिक्न सकेनन् र तेस्रो भए ।लामिछाने राजनीतिको अनुभव भएका व्यक्ति होइनन् । उनी विवादरहित व्यक्ति पनि होइनन् । तर टेलिभिजन कार्यक्रममार्फत् पिँधका जनताका आवाजलाई स्थान दिए । उनका हकमा पत्रकारिताको सीमारेखाले कहिल्यै काम गरेन । जनजीविका र खासगरी वैदेशिक रोजगारीमा भएको ठगीका विषय उठाएर अनि मौजुदा व्यवस्था एवं नेतृत्वमाथि आक्रामक अभिव्यक्ति दिएर चर्चित भएका हुन् ।
उनी स्वयंले पनि आफ्नो जितलाई आफूप्रतिको आकर्षण, भरोसा वा भिजनको प्रतिफल नभई ठूला भनिएका राजनीतिक दलप्रतिको वितृष्णाका रुपमा लिएका छन् । उनले मतदाताले आफूलाई परीक्षामा बस्नलायक सम्झिएको भन्दै मतमार्फत् गरेको विश्वासलाई अब काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिकतर्फ पनि अनपेक्षित मत ल्याएको छ । एमाले र कांग्रेसपछिको माओवादीलाई टक्कर दिइरहेको यस पार्टीले काठमाडौँमा त सर्वाधिक मत ल्याएर पहिलो स्थान ओगटेको छ । यो मत उक्त दलका लागि त ठूलै सफलताको विषय हुने नै भयो, साथै ठूला, पुराना वा मूलधारका भनिने दलहरूको नाकैमा जनताले गरेको प्रहार पनि हो ।
त्यसो त मधेसमा सीके राउत नेतृत्वको जनमत पार्टीले पनि यस्तै चमत्कार देखाइरहेको छ । देशभरिको समानुपातिकतर्फको मत गणनामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि पछि पारेको यस दलले प्रतिनिधि सभामा एक र प्रदेशमा राम्रै सिट प्रत्यक्षमा जितेको छ । मधेस प्रदेशमा उसले समानुपातिकतर्फ पनि थप सिट पाउने सम्भावना छ । कुनै बेला विखण्डनकारी मुद्दा बोकेर हिँडेका राउत संसदीय राजनीतिमा प्रवेश थप अर्थपूर्ण छ ।उता टीकापुर नरसंहारको सहउत्पादका रुपमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले संघीय संसदमै ३ सिट प्रत्यक्षबाट सुरक्षित गरिसकेको छ भने प्रदेशमा राम्रै सिट जितेको छ । सुदूरपश्चिमभरिमा एमालेभन्दा पनि बलियो दलका रुपमा यसले आफ्नो स्पेस बनाएको छ । टीकापुर नरसंहारकै कारण जन्मकैद भोगिरहेका उनले यसै वर्ष पार्टी खोली चुनावमा सहभागी गराई संघीय संसदमा ३ र प्रदेशसभामा ५ सांसद जिताएका छन् ।
रवि लामिछानेदेखि सीके राउत र रेशम चौधरीले यो चुनावमा भाग लिएर पहिलो प्रयासमै जुन उत्साहजनक उपस्थिति जनाएका छन्, त्यसले राजनीतिक बजारका सबै असन्तुष्टि र मत–अभिमतहरूलाई जनताले संसदमा पठाएको बुझ्न सकिन्छ । अब टेलिभिजनमा कराएर वा विद्रोहको ज्वाला ओकलेर राज्यलाई दुत्कार्ने होइन, भएको प्रणालीभित्रै वैधानिक मञ्चमै आफ्ना विचार र कार्यक्रम राखी बहस चलाउनुपर्छ भनेर यसपालि जनताले आदेश दिएका छन् । यति मात्र होइन, पूर्वपञ्चहरूको दल राप्रपालाई पनि उल्लेख्य मत दिएर जनताले कुनै पनि शक्तिलाई अपमान वा हेलाँहोचो नगर्न भनेका छन् । संसदमा जाने सबैले सरकारमै जानुपर्छ भन्ने होइन । तर जनताका प्रतिनिधिले संसदमा उठाएका आवाजको सुनुवाइ अवश्य हुनुपर्छ । बहुमतको सरकार र प्रतिपक्षको सम्मान नै लोकतन्त्रको प्राण हो । त्यसैले जनअभिमतको यो अर्थ र अभिभारा बुझेर अगाडि बढ्न सके आगामी ५ वर्ष नेपाल राष्ट्रलाई सबै प्रकारले बलियो बनाउने, सबै प्रकारका विचार र वर्गलाई जोड्दै राष्ट्रिय मूलधारमा समाहित गर्ने अवसर बन्न सक्नेछ ।