
ओलीलाई बदनाम र विवादित बनाउनेको आधा घेरो जनताले तोडे, बाँकी कसले तोड्ने ?


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अध्ययनशील छन् । कार्यकर्तासँग संवाद रुचाउँछन् । प्रतिकूल स्वास्थ्यका बाबजुद उनको सक्रियता अरु नेताभन्दा कयौँ गुणा बढी देख्न पाइन्छ । मानवीय कल्याणका काममा आफै अघि सर्न खोज्छन् ।
राजनीतिमा चतुर चाल चल्न खप्पिस छन् । उनी आफ्ना एजेन्डा वा अडानमा अडिग रहन्छन् । भारतीय नाकाबन्दी र सीमा अतिक्रमणविरुद्ध उनले लिएको अडान एवं दृढता अद्वितीय नै छ । सात पुस्तालाई पुग्ने गरी धन थुपार्नु पनि उनलाई जरुरी छैन । उनी धनका लोभी पनि छैनन् । अन्य नेताहरुको जस्तो उनको आफ्नै परिवारमा कुनै पनि सदस्य उठ्तीपुठ्तीमा लागेर बदनाम भएका छैनन् । श्रीमती राधिकाले त आर्थिक वा राजनीतिक गतिविधिमा चासो वा हस्तक्षेप देखाएको त्यति पाइँदैन ।
यति हुँदाहुँदै पनि ओली आफ्नो शासनकालमा निकै बदनाम र आलोचित भए । यसो हुनुमा उनको सहयोगी समूह मुख्य दोषी थियो । पार्टी, सरकार र सचिवालयमा रहेका त्यस्ता व्यक्तिहरुको समूहले निजी स्वार्थको दुनो सोझ्याउने क्रममा नेतृत्व र पार्टीसमेत बदनाम भयो ।
सानो परिवारमा बाक्लो दाल खान पल्केकाहरुले पार्टी एक ढिक्का भएको देख्न सहेनन् । माधव नेपाल र प्रचण्डसँग ओलीको कुरा मिलेको पनि पचाउन सकेनन् । ओली अस्पतालमा हुँदा समेत उनको नाम लिएर बालुवाटार वा सिंहदरबारबाट ठूला खरिद र ठेकापट्टाका निर्णय गराउनेहरु यसरी सक्रिय थिए कि कुनै बेला गिरिजाप्रसाद कोइराला बिरामी हुँदा उनको नामबाट यसैगरी राज्यसंयन्त्रमा यसैगरी भ्रष्टाचार मौलाएको थियो । यतीदेखि ओम्नी काण्डहरु यही मौकामा यसैगरी घटाइएका थिए ।
ओलीको वरिपरि यस्तो घेरो थियो कि जसले ओलीलाई न सग्लो पार्टीको अध्यक्ष बन्न दियो न त देशको प्रधानमन्त्री नै । त्यस घेराले ओलीलाई जहिल्यै एउटा गुटको नेतामा सीमित गरिदियो । त्यसरी ओलीलाई घेराबन्दीमा पारेर आफ्नो दुनो सोझ्याउनेहरुमध्ये धेरैलाई जनताले यसपालि नराम्रोसँग सजाय दिएका छन् । झापामा स्वयं ओली फराकिलो मतान्तरले जितिरहँदा उनको सहयोगी मण्डलीका धेरै नेता पराजित भएका छन् ।
ओलीलाई गटको नेतामा सीमित गर्न महासचिव शंकर पोखरेल एक थिए । पार्टीभित्र उनको छवि अध्यक्ष ओलीभन्दा दुई कदम अघि बढेर गुटबन्दी गर्ने नेताकारूपमा स्थापित छ । आफ्नै गृहजिल्ला दाङमा समेत उनले असहमत हुनेलाई पाखा लगाउँदै आएको आरोप छ । कार्यकर्तासँग राम्रोसँग बोल्नसमेत पैसा पर्लाजस्तो गर्ने पोखरेल त्यही स्वभावका कारण पराजित भएको भनेर विश्लेषण भइरहेको छ । उनलाई दाङ-२ मा माओवादीकी रेखा शर्माले हराइन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि ओलीलाई अलोकप्रिय बनाउनेमध्येका एक नेतामा पर्छन् । उनी पनि काठमाडौं ५ बाट कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग ५ हजार मतले पराजित भएका छन् । उनलाई माओवादीसँगको एकता रुचेको थिएन र पार्टीभित्रका संस्थापनइतर खेमाप्रति पनि असहिष्णु थिए भनेर एमाले कार्यकर्ताहरुकै भनाइ छ ।
ओलीको आडमा सबथोक गर्न छुट पाइरहेका भक्तपुरका महेश बस्नेतले के मात्र गरेनन् । लकडाउनको बेला पारेर सांसद अपहरण गरेनन् कि ? चुनावको मुखमा बालेनविरूद्ध अराजनीतिक तवरले मुख छाडेनन् कि ? खासमा उनकै व्यवहारका कारण एमाले कार्यकर्ताले देशैभरि मुख देखाउन नसक्ने अवस्था बनेको थियो । नभन्दै उनलाई भक्तपुर २ का जनताले ठेगान लगाइदिए र विजयको माला दुर्लभ थापाले पहिरिए ।
ओलीले मनोनीत कोटामा संविधानसभा प्रवेश गराउँदै प्रमुख सचेतक, कानुनमन्त्री र फेरि महान्यायाधिवक्तासमेत बनाउँदा भुइँ न भाँडामा हुन पुगेका अग्नि खरेलको वास्तविक धरातल झापाकै जनताले देखाइदिए । आफूलाई ओलीभन्दा पनि माथिको नेताजस्तो ठानेर एमालेका इमानदार एवं संघर्षशील कार्यकर्ताको अनादर गर्ने खरेलले यसपालि चुनावमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको सामना गर्नुपर्यो र १४ हजार २७५ मतान्तरले पछारिनुपर्यो ।
ओलीका एक सहयोगी प्रदीप ज्ञवाली गुल्मीमा पराजित हुनुपर्यो । ओलीका हरेक अलोकप्रिय कदममा ताली बजाउने र उक्साउने समूहका सदस्यहरु विशाल भट्टराई खोटाङमा माओवादीका रामकुमार राईसँग पराजित हुनुपरेको छ भने महामारीका बेला ओम्नी प्रकरणका रचनाकार भानुभक्त ढकाल मोरङ-३ मा कांग्रेसका सुनील शर्माबाट पछारिएका छन् । ओलीका सल्लाहकार राजन भट्टराई काठमाडौँ ४ मा गगन थापासँग हार्नुपर्यो ।
लोकतान्त्रिक संस्कार र कम्युनिस्ट आचरणविपरीत ओलीलाई बा भनेर परिवारीकरण गर्ने समूहका एक सदस्य निरु पाल कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखकसँग १२ हजार मतले पराजित हुनुपरेको छ । अझ यही मण्डलीका अर्का सदस्य ऐन महर बझाङमा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका भानुभक्त जोशीबाट हारको स्वाद चाखेका छन् ।ओलीको वरिपरि रहेर लाभ लिने, गलतलाई गलत भन्न नसक्ने, आफ्नो स्वार्थका लागि बरु उल्टै गलत सूचना पुर्याएर ओलीलाई सही सूचनाबाट वञ्चित तुल्याउनेहरुलाई जनताले यो चुनावमा राम्रैसँग सजाय दिएका छन् ।
कुनै पनि राजनीतिक दलको नेता सर्वज्ञ हुन सक्दैन । ओली पनि एक सामान्य मानिस हुन् । सबथोक उनले नै जानेका हुन्छन् भन्ने छैन । समयमै सही निर्णय लिनका लागि उनलाई पनि यथासमयमा सही सूचना, जानकारी र आलोचनात्मक विश्लेषण आवश्यक पर्छ । तर ओलीका वरिपरि रहनेहरुले नेतृत्वलाई गुमराहमा राखेर आफ्नो दुनो मात्र सोझ्याए । सच्चा कार्यकर्ता र आमनागरिकको भावनाबाट ओलीलाई टाढा राखे । यसक्रममा चालिएका कतिपय कदम विवादित भए । त्यसो हुँदा पनि ती चाटुकारहरुले तिनै विवादित कदमलाई सही भनेर कोकोहोलो मच्चाए र ओलीलाई थप दिग्भ्रमित पारे ।
यदि ती सहयोगीहरु ओलीका साँच्चिकै शुभचिन्तक थिए भने गलतलाई गलत र सहीलाई सही भन्ने जोखिम उठाउँथे । उनीहरु त केवल आफ्नो दुनो सोझ्याउन मात्र त्यहाँ भेला भएका थिए । त्यसैले लोकतान्त्रिक संस्कारलाई नै चुनौती दिने गरी नेतृत्वको देवत्वकरणमा लागे । प्रशस्तिगान गरेर आफ्नो लाभ सुरक्षित गर्ने प्रतिस्पर्धामा उत्रिए । पार्टी प्रमुखलाई बा भनेर एउटा गुटको घेरामा बन्दी बनाए ।
फेरि यो प्रशंसा यस्तो रोग हो, जसले स्वतन्त्र विवेक र आलोचनात्मक चेतलाई निष्क्रिय बनाइदिन्छ । त्यसैले बाले पनि प्रशस्तीबाट खुसी भएर शक्ति र सत्ताको लाभ निकटस्थहरुलाई नै बाँडे । त्यसको जवाफ अहिले जनताले चुनावमा दिएका छन् । अहिले त केही नेता मात्र हारेका छन् । २१ औँ शताब्दीका नागरिकले नेतृत्वको अन्धभक्ति होइन, स्वस्थ लोकतान्त्रिक संस्कार र विवेकपूर्ण आलोचना गर्न सक्ने पार्टी संरचना खोजेका छन् भन्ने नबुझ्ने हो भने पार्टी नै लोप हुन बेर लाग्ने छैन ।