
काठमाडौंमा घन्टी उदायो,कांग्रेसले उपत्यकामा सात सिट जित्दा माओवादी कसरी निल बन्यो ?


नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं उपत्यकामा निल बनेको छ । उपत्यकाका १५ सिटमध्ये पाँचवटामा उम्मेदवारी दिए पनि माओवादीले कुनै सिट जित्न सकेन । माओवादीले काठमाडौं १० बाहेकका निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको थियो । तर, कुनै सिट जित्न सकेन । बरु गठबन्धनको साझेदार नेपाली कांग्रेसले सात सिट सुरक्षित गरेको छ ।०७४ को चुनावमा पनि माओवादीले ललितपुर ३ मा मात्र जित हासिल गरेको थियो ।यो पटक काठमाडौंमा जित निकाल्ने भन्दै माओवादीले पूर्वसभामुख ओनसरी घर्तीदेखि बाबुराम भट्टराईकी पुत्री मानुषी यमीलाई फिल्डमा उतारे पनि सफल भएन ।
माओवादीको यो हारलाई सहरमा यो पार्टीको जनमत गिर्दाै अवस्थामा रहेको व्याख्या गरिएको छ । किनकी सहरमा माओवादीको खासै प्रभाव छैन । जनमत पनि आकर्षित गर्न सकेको छैन ।०६४ को निर्वाचनमा माओवादीले १५ वटामध्ये सात क्षेत्रमा जितेको थियो । काठमाडौंमा ४ र ललितपुरमा ३ क्षेत्र जितेको छ । त्यसपछि निरन्तर खस्किँदो नतिजाले माओवादीको प्रभावले उसलाई लज्जाजनक अवस्थामा पुर्याएको छ ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं १० बाट हारेका थिए ।माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले हारको झोक कांग्रेस महामन्त्री गगनकुमार थापामाथि पोखेका छन् ।थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) सँगको साझेदारीमा गठबन्धनलाई हराएको उनको आरोप छ ।थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो ।’
दीपशिखाले यस्तो भन्नुको कारण हो, काठमाडौंका कांग्रेसका उम्मेदवार जिते पनि गठबन्धनका सबै उम्मेदवार हार्नु । र, अर्काेतिर स्वतन्त्र पार्टीको विजयी हुन् ।केही महिना अघि मात्र रवी लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका पाँच वटा निर्वाचन क्षेत्रमा जित निकाले हो ।
उपत्यकामा कसले कहाँ जिते ?
काठमाडौं जिल्लाका १० मध्ये पाँचमा कांग्रेस, चार वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले विजयी भएका छन् ।निर्वाचन क्षेत्र नम्बर १ प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ गगनकुमार थापा, ५ मा प्रदीप पौडेल र १० राजेन्द्रकुमार केसी कांग्रेसबाट विजयी भएका हुन् ।क्षेत्र नम्बर २ मा सोबिता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभत्त श्रेष्ठ स्वतन्त्र पार्टीबाट विजयी भएका छन् भने क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले जित निकाले ।
भक्तपुरका दुईमध्ये एउटामा कांग्रेस जित नजिक छ भने अर्काेमा नेपाल मजदुर किसान पार्टी । निर्वाचन क्षेत्र नम्बर १ नेमकिपाका प्रेम सुवाल र २ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री जित नजिक छन् ।तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा कांग्रेस, एमाले र स्वतन्त्र पार्टीले एक, एक सिट बाँडेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उदयशमशेर जबरा, २ मा एमालेका प्रेमबहादुर महर्जन र ३ मा स्वतन्त्र पार्टीका तोसिमा कार्की विजयी भएका छन् ।
स्थानीय तहको निर्वाचनमा पनि निल भएको थियो माओवादी
माओवादी ६ महिना अघि भएको स्थानीय तहको निर्वाचनमा पनि काठमाडौं उपत्यकामा निल भएको थियो । काठमाडौंका ११, भक्तपुरका ४ र ललिपुरका ६ पालिकाको नेतृत्वमा माओवादीका कुनै उम्मेदवार निर्वाचित हुन सकेका थिएनन् ।०७४ निर्वाचनमा उपत्यकाका २१ पालिकामध्ये एउटामा माओवादीले नेतृत्व जितेको थियो । अघिल्लो निर्वाचनमा ललितपुरको कोन्जयोसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको थियो ।उपत्यकाका २१ पालिकाको नेतृत्वमा निल भएको माओवादीले एक उपमेयर र दुई उपाध्यक्षमा चित्त बुझाएको थियो ।