
अर्थसचिव मरासिनीको पानीमाथि ओभानो बन्ने दाउ
अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्तिपछि अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छैनन्


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्तिपछि अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छैनन् । अघिल्लो दिनसम्म मन्त्रालयमा नियमित काम गरिरहेका सचिव मरासिनी शर्मा पुन:नियुक्ति भएर आउँदा पदभार ग्रहणका बेला पनि देखिएनन् । दुईजना सचिव रहने व्यवस्था रहेको अर्थमा अहिले राजस्व सचिव कृष्णहरि पुष्कर मात्रै दैनिक कार्यालयमा गएर नियमित कामकाज गरिरहेका छन् । पुनःनियुक्तिको दिन पनि पुष्करले नै फूलमालाले स्वागत गरी शर्माको इज्जत जोगाइदिएका थिए ।
गत असार २२ गते मन्त्री शर्मामाथि छानबिन हुने र त्यही कारण उनको राजीनामा आउने सुइँको पाएपछि मरासिनीले त्यही दिन विदा लिएका थिए । साथै शर्मा पदमा रहुन्जेल मन्त्रालय नजाने मिडियामा बताएका थिए । नभन्दै शर्माको राजीनामा आयो र मरासिनीलाई मन्त्रालय फर्किने बाटो बन्यो । अहिले तिनै शर्मा दोहोरिएर आएपछि मरासिनी अफ्ठ्यारोमा परेका छन् । उनलाई आफ्नै बोली पासो बनेको छ ।
मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनी साउन २० गतेसम्म बिदामा बसेका छन् । यसबीचमा उनले आफ्नो सरुवा होस् भन्ने चाहना व्यक्त गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । मन्त्री शर्माले पनि नयाँ सचिवको खोजी सुरु गरिसकेको बुझिन्छ । तर शर्माले खोजेकै सचिव बालुवाटारबाट अनुमोदन भइहाल्छ भन्ने छैन । पाठेघरको उपचार गरी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा स्वदेश फर्किइसकेकाले पनि नयाँ अर्थसचिव तोक्ने कुरामा शर्माको एकल निर्णयले काम गर्ने देखिँदैन ।अहिले मन्त्री शर्मामाथिको छानबिनमा जसरी आमतहबाट असन्तोष र अविश्वास व्यक्त भइरहेको छ, त्यसैगरी सचिव मरासिनीले पनि त्यसै उन्मुक्ति पाउन नहुने भनी धेरैतिरबाट आवाज उठिरहेको छ ।
खासमा मन्त्री शर्मा जेजति प्रकरणमा विवादित भए, ती हरेकमा सचिव मरासिनीको साथ र हिस्सेदारी थिएन भन्ने कुनै आधार छैन । किनभने उनले अहिलेसम्म मन्त्री शर्माका नाजायज दबाबप्रति फरक मत राखेको कुरा कहिल्यै बाहिर आएन । बरु मन्त्री शर्माले जे चाहे, त्यसमा मरासिनीको सहयोग र सहजीकरण नै रह्यो । शर्माले गोप्य कोठामा वा अनधिकृत व्यक्तिसँग गरेको भनिएको साँटगाँठमा मरासिनी पनि सामेल छन् भन्ने कुरा उनका व्यवहारबाट प्रस्ट हुन्छ ।
खासमा मरासिनी बालुवाटारको पनि आशिर्वादप्राप्त व्यक्ति हुन् । मन्त्री शर्मा निकै धेरै आलोचित भइसक्दा पनि मरासिनीले ठानेका थिए कि उनलाई कसैले हल्लाउन सक्ने छैन । जब बालुवाटार र खुमलटारले शर्माका लागि काँध थाप्न सकिँदैन भन्ने बुझे, उनीमाथि छानबिन र राजीनामाको अस्त्र बाध्यकारी बन्यो । यदि त्यो अस्त्र फालिएको हुन्थेन भने यतिन्जेल प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले श्रीलंकामा राजपाक्षे परिवारले जस्तै बेहोर्नुपर्ने भइसक्थ्यो ।
यदि शर्माका क्रियाकलाप गलत थिए, मरासिनी इमानदार थिए तर दबाबका कारण भन्न सकेका थिएनन् भने पनि सीसीटीभीले इमानदार तवरले खिचेका दृश्य मेटाउन मरासिनीले सहयोगी भूमिका खेल्ने थिएनन् । सारा अर्थ मन्त्रालयको संयन्त्र दुरूपयोग हुन दिने थिएनन् । अझ भनौँ सधैँभरलाई मन्त्रालयको संरचनामाथि कलंकको टीका लगाउन दिने थिएनन् ।ल ठीकै छ, त्यो पनि कुनै परिबन्दमा परेर गरे । उनले राष्ट्रको हित सम्झेर आफ्नो इमान र धर्म जोगाउने ठाउँ संसदीय समिति थियो । त्यहाँ उनले सत्य कुरा व्यक्त गर्न सक्थे । तर त्यहाँ पनि उनले समितिलाई ढाँटे । टालटुले जवाफ दिए । भावनात्मक कुरा गरे । आँसु झारे । मानसिक दबाब परेको जवाफ दिए । तर देशको र प्रणालीको हित हुने एउटै कुरा पनि गरेनन् ।
यसर्थ मरासिनी र उनीजस्तै कर्मचारीका कारण पनि देशले ठूलो मूल्य चुकाउनुपरेको छ । स्वार्थ मिलुन्जेल राजनीतिक नेतृत्वका जस्तासुकै हर्कतमा पनि साथ दिने, नेताले नजानेका बदमासी पनि सिकाउने अनि विरोध र आलोचना बढ्दै गएपछि आफू पानीमाथिको ओभानो बन्ने नेपाली कर्मचारीहरुको आम प्रवृत्ति हो । यसका उम्दा दृष्टान्त मरासिनी बन्न पुगेका छन् । भोलि यो देशमा कोही सपुत जन्मियो र अहिले सार्वजनिकरुपमा बहसमा आएका प्रकरणमा छानबिन गर्न खोज्यो भने मन्त्री शर्मासँगै सचिव मरासिनी पनि छुट्नुहुँदैन ।