
साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण


साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ ।
मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गर्नुभयो । विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मनुभएका साहित्यकार तेराखको २०७८ असार १६ गते उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।
सर्वजा (उपन्यास), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तनगर (खण्डकाव्य), ढाडेको नाकमा घिउ (निवन्ध सङ्ग्रह)लगायतका दर्जनौँ साहित्यिक कृति प्रकाशित गरेर तेराखले नेपाली साहित्यमा गुन लगाउनुभएको साहित्यकार मिश्र बैजयन्ती बताउनुहुन्छ ।
विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लाग्नुभएका तेराख सम्पादक, राजनीतिक अभियन्ता र शिक्षक हुनुहुन्थ्यो । पञ्चायती शासनको विरोधमा उहाँले आँखो, झटारोजस्ता प्रगतिशील पत्रिकामा लेख रचना छपाउनुभएको थियो । प्रा डा न्यौपानेले नेपाली साहित्य क्षेत्रमा तेराखले पु¥याउनुभएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताउँदै उहाँको स्मृति ग्रन्थले उहाँको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा राख्नुभयो ।
सोही अवसरमा तेराख परिवारजनका तर्फबाट उहाँका छोरा लेखनाथ खतिवडाले प्रतिष्ठानको अक्षयकोषका लागि रु १० लाखको चेक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गर्नुभएकोे थियो ।