
काठमाडौँ-४ बाट गगन थापालाई चुनौती दिने आकर्षण पोखरेलको हुन् ?


काठमाडौँ । राजनीतिमा स्थापित हुने अनेक तरिका छन् । नेपालमा मुख्यतः दुई तरिका प्रभावी देखिएका छन्-
- एक, वंश वा विरासत
- दुई, आन्दोलन
वंश वा विरासतबाट राजनीति गर्नेहरु राजा थिए । राणा थिए । पछि केही पञ्चहरु पनि भए । ठूला भनिएका राजनीतिक दलमा पनि वंश र विरासतको धङधङी पूरै हटिसकेको छैन ।
यो पुर्खाको नाम वा योगदानको ब्याज असुल्ने माध्यम हो । यसमा कुनै भिजन चाहिँदैन । निजी व्यक्तित्व, योगदान र आकर्षण पनि आवश्यक पर्दैन । कुनै परिवारमा जन्मिनु वा कुनै पार्टीका नेताको उत्तराधिकारी हुनु नै योग्यता मानिन्छ ।
नेपालमा आन्दोलन शक्तिको अर्को स्रोत हो । २००७ सालको आन्दोलनले कांग्रेसलाई शक्तिमा पुर्यायो । २०४६ को आन्दोलनले वामपन्थी शक्तिलाई पहिचान दियो । ०६३ को आन्दोलनले विद्रोही माओवादी र अरु केही क्षेत्रीय शक्तिको मूलप्रवाहीकरण गर्यो । आन्दोलनमा मुद्दा हुन्छन् । जनपरिचालन हुन्छ । जनसमूहको आक्रोश र भावनालाई पुँजीकृत गरिन्छ । वंश राजनीतिभन्दा यो बढी प्रगतिशील हुन्छ । आन्दोलनबाट स्थापित शक्ति नैतिक रुपमा व्यापक जनसमूहप्रति नै उत्तरदायी हुन्छ, न कि कुनै परिवार वा कुल वा वंशका प्रति ।
तर कुनै शक्तिले आन्दोलन सफलतापूर्वक गर्यो भन्दैमा उसले शासन सञ्चालन कुशलतापूर्वक गर्छ भन्ने छैन । हाम्रा हरेक शासक र व्यवस्था असफल हुने मुख्य कारण नै यही हो । उनीहरू आन्दोलनमा सफल । विरोध र विद्रोहमा सफल । कसैलाई पराजित गर्न र ढाल्न सफल । ध्वंशमा सफल । तर नयाँ रचना गर्न असफल । एकता र सहकार्यमा असफल । रचनात्मकतामा जहिल्यै निम्छरो । भाषणमा अगाडि तर काम र कौशलमा जहिल्यै पछाडि ।
यसको निश्चित कारण छ ।यस्तो किन भइरहेको छ भने हामीकहाँ विरोध, विद्रोह र ध्वंशलाई मात्रै राजनीति मानियो । रचनात्मकतालाई मानिएन । राजनीतिक नेतृत्वले पनि तत्कालीन संस्थापनमा भएका खराबी देखे तर राम्रो के हो भन्न सकेनन् । अरुले गरेका गल्ती देखे तर आफूले ती गल्ती सुधार्न खोजेनन् । यसको अर्थ अहिलेसम्मको राजनीतिक नेतृत्वमा त्यो तहको दूरदृष्टि थिएन । कायाकल्प गर्ने योजना थिएन । जब यथार्थमा आधारित सुव्यवस्थित योजना छैन भने मनोगत चाहना र नाराले मात्रै कहाँ देशको कायाकल्प होस् र ?
यहाँ कोही नेताले भ्रष्टाचार गरे भन्नुको कुनै अर्थ छैन । आफ्ना सन्तान राम्रा कलेजमा पढाए भन्नु पनि गलत हुन्छ । विदेशी राजदूतका अगाडि आफ्ना सन्तानलाई छात्रवृत्ति दिलाए भनेर पनि के दुःखमनाउ गर्नु ? किनभने उनीहरूको हैसियत नै त्यही थियो । हामीले जुन चेतनाको पिँधबाट नेता छान्यौँ, तिनले त्यही गरेर हाम्रो ऋण चुक्ता गरे । त्यो हाम्रै गल्ती थियो ।
अब हामीलाई यस्तो नेतृत्व चाहिएको छैन ।हो, हिजो हामीलाई स्वतन्त्रता चाहिएको थियो । त्यो लडेरै पाउनुपर्ने थियो, पाइयो । यसनिम्ति हामी त्यो लडाकु पुस्ताप्रति कृतज्ञता जाहेर गरौँ । यसमा कुनै निन्दा वा खेद छैन ।त्यो अध्याय सकियो । अबचाहिँ हामीलाई फरक नेतृत्व चाहिएको छ । विश्व देखेको र बुझेको नेतृत्व चाहिएको छ । आधुनिक पुस्ताको भावना बुझ्ने र यसलाई राष्ट्रिय भावधारामा ढाल्ने नेतृत्व चाहिएको छ । समाज र देशलाई कहाँ पुर्याउने भन्ने सुस्पष्ट लक्ष्य, योजना र दूरदृष्टि भएको नेतृत्व चाहिएको छ ।
हाम्रो स्वतन्त्रता अब केवल राजनीतिक विषय मात्र रहेन । हामी तब मात्र स्वतन्त्र रहनेछौँ, जब हामीसँग पर्याप्त आर्थिक स्रोत हुनेछ । हामी तब मात्र स्वाधीन हुनेछौँ, जब हामीसँग पर्याप्त राष्ट्रिय पुँजी हुनेछ । हाम्रो आफ्नै आविष्कार हुनेछ । आफ्नै नवप्रवर्तन (इनोभेसन) र अन्वेषण हुनेछन् । प्रविधिमा छलाङ मार्न सकेनौँ भने खाडीका मुलुकमा सस्तो श्रम बेच्नेबाहेक हाम्रो अर्को परिचय हुने छैन । हाम्रो जनशक्ति संसारका बहुराष्ट्रिय कम्पनीको चालक सिटमा भए पो हाम्रो राष्ट्रिय शान र स्वाभिमान बढ्छ । गरीब देशको पासपोर्ट बोकेर स्वतन्त्र र स्वाभिमानी देशको नारा लगाउँदैमा कुनै पनि देशका एयरपोर्ट र अध्यागमनले हामीलाई स्यालुट गर्ने छैनन् ।
यो परिस्थिति उल्टाउनका लागि भिजनरी नेतृत्व चाहिएको छ । यस्तो नेतृत्व एकाएक आकाशबाट उदाउने होइन । यही धर्तीमा खोज्नुपर्छ । आआफ्नो टोलमा खोजौँ । वडामा खोजौँ । प्रदेशका निर्वाचन क्षेत्रमा खोजौँ । प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा खोजौँ । सांसद चुनेर पठाऔँ । यस्ता सांसद, जसले केवल ६ महिने मन्त्रीका लागि सारा स्वाभिमान र विवेक बन्धक नबनाउन् । यस्ता सांसद, जो संसदमा बोल्दा परम्परागत शासक र सत्तासीनहरुका बुद्धि बंगरा हल्लिउन् । संसदीय समितिमा बोल्दा क्रोनिक प्रशासकहरुका लेउ जमेको मथिंगलमा मदानीको काम गरोस् ।
जनतामा अहिले यो चेतना आइसकेको छ । आउँदो चुनावले परम्परागत शक्तिहरुका जरा उखेलिँदै छन् । काठमाडौँले यसपालि बालेन्द्र शाहलाई किन रोज्यो ? आगामी चुनावको नतिजा के हुनेवाला छ भन्ने उत्तर यहीँभित्र छ ।
अब देशलाई ढुंगा हान्न सिकाउने नेता होइन, रचनात्मक योजना कोर्ने भिजनरी अगुवा चाहिएको छ । नीति निर्माणको ड्राइभिङ सिटमा अब इन्जिनियर आउनुपर्छ । यस्ता इन्जिनियर जसले हाम्रो राष्ट्रिय क्षमता र आवश्यकता बुझेको होस् । भएको स्रोतसाधन परिचालनको खुबी होस् । देश कस्तो बनाउने भन्ने स्पष्ट सपना दिमागमा होस् ।
काठमाडौँ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका आकर्षण पोखरेल यस्तै एउटा प्रतिभाशाली इन्जिनियर हुन्, जोसँग काठमाडौँलाई नयाँ रङ दिने भिजन छ । काठमाडौँको वास्तु फेर्ने अठोट छ । कंक्रिटको खात बन्दै गएको काठमाडौँको पुनःसंरचना गर्ने सोच छ । सार्वजनिक संरचनालाई बहुउपयोगी कोणबाट विकास गर्ने र त्यसमा कलाको लेप लगाएर युगौँसम्म बचाउने दृष्टि छ ।
बुवा केदार पोखरेल र आमा अम्बिका पोखरेलको माहिलो सन्तानका रुपमा आकर्षण पोखरेलको जन्म गोरखाको छोप्राकमा भएको थियो । २०४३ मा जन्मेका पोखरेलका एक दिदी नर्सिङ पेसामा छिन् भने एक भाइ युरोपमा एमडी गरिरहेका छन् । विख्यात इन्जिनियर आकर्षणले माध्यमिक तहसम्मको पढाइ सेन्ट जोसेफ स्कुलमा गरेका थिए । जापान र अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका उनले ती विकसित देशले गरेको प्रगति देखेका छन् । तिनको प्रगतिको रहस्य बुोझेका छन् । अनि त्यहाँ सिकेको ज्ञानसीपलाई आफ्नै धर्तीका लागि समर्पित गर्ने प्रणसहित नेपाल फर्किएका हुन् ।
व्यक्तिगत उन्नतिको लालसालाई तिलाञ्जली दिई नयाँ सोच र अठोटका साथ समग्र राष्ट्र विकासको हेतु स्वदेश फर्किएका आकर्षणले यो देशलाई पनि संसारका विकसित देशको दाँजोमा पुर्याउने परिकल्पना बोकेका छन् । काठमाडौँको कमलादी र इलामको कन्याममा स्काइ वाक टावर, भेडेटारमा नेपालकै पहिलो क्यान्टिलिभर ब्रिजलगायत अत्याधुनिक र कलात्मक संरचनाको डिजाइन गरेका आकर्षणका यी रचना निर्माणको अन्तिम चरणमा छन् ।
उनले आफ्नो राजनीतिक जीवन दर्शनका लागि पञ्चशीलको सिद्धान्त तय गरेका छन्- योजना, योग्यता, समता, विशेषता र विवेक । यिनैलाई मूल नारा बनाई चुनावी मैदानमा होमिन लागेका आकर्षणसँग धेरै अन्धभक्त कार्यकर्ता नहोलान् । तर शिक्षा, विज्ञान, प्रविधि, चिकित्सा, विकास निर्माण, प्राध्यापन, कला, साहित्य आदि क्षेत्रका धुरन्धर व्यक्तित्वले उनलाई साथ र समर्थन दिएका छन् । समाजको यो गुणस्तरीय तप्काको समर्थन पक्कै खेर जाने छैन ।