
सर्वोच्च अदालतमा सर्प, बिच्छी र भ्यागुताको चक्रीय दुस्मनी यसरी हुँदै छ छताछुल्ल
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्धको महाभियोग प्रस्ताव संसदमा पेन्डुलमजस्तै गरी तुर्लुंग झुन्डिएको छ । न अगाडि बढ्छ, न फिर्ता नै हुन्छ


काठमाडौँ । सर्वोच्च अदालतमा अहिले कामचलाउ नेतृत्व छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फागुनको पहिलो दिनदेखि नै महाभियोग प्रस्तावका कारण निलम्बित छन् । उनीविरुद्धको महाभियोग प्रस्ताव संसदमा पेन्डुलमजस्तै गरी तुर्लुंग झुन्डिएको छ । न अगाडि बढ्छ, न फिर्ता नै हुन्छ । यो अवस्था राणाले अवकाश पाउन्जेल रहने देखिँदै छ ।
राणाले आउँदो मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् । महाभियोग पारित नभए आफ्नो पदावधि सरकारी भ्याएसम्मको सरकारी सुविधा खाएर बस्ने मनःस्थितिका साथ राणा बालुवाटारको सरकारी आवास ओगटेर बसिरहेकै छन् ।
राणाविरुद्ध न महाभियोग पारित हुने न त उनले राजीनामा दिने स्थितिमा हालका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले पूरै प्रधानन्यायाधीश बन्ने अवसर पनि पाउने छैनन् । बरु राणाले अवकाश पाउनुअघि नै उनी घर जानुपर्नेछ । आउँदो असोज १६ गते ६५ वर्ष उमेर पुग्ने भएकाले उनी अनिवार्य अवकाशमा जानेछन् ।
दीपककुमार कार्कीपछि पालो आउनेछ हरिकृष्ण कार्कीको । त्यसो त हरिकृष्ण र चोलेन्द्रको अनौठो सम्बन्ध छ । सुरुमा हरिकृष्णले चोलेन्द्रकै ल फर्ममा काम गरेका थिए । त्यसैले चोलेन्द्रले सर्वोच्चमा उनलाई निकै पत्याएका थिए । तर पछिल्ला दिनमा तिनै हरिकृष्णले चोलेन्द्रविरोधी मोर्चाको अगुवाइ गरे । अध्ययन प्रतिवेदन बुझाउँदा नै उनले अदालतका सारा बेथितिका नायक चोलेन्द्र भनी किटान गरेरै दिए र प्रधानन्यायाधीशको मुख्य अधिकार पेसी तोक्ने काम नै खोस्नका लागि गोलाप्रथा सिफारिस गरे । त्यो सिफारिस पनि लागू गराएरै छाडे ।
हरिकृष्ण मात्र होइन, चोलेन्द्रले जजसलाई विश्वास गरे ती सबै उनका लागि प्रतिकूल र प्रतिद्वन्द्वी खेमामै गए । सुरुमा चोलेन्द्रका लागि आनन्दमोहन भट्टराई र प्रकाश राउत पनि हरिकृष्णजत्तिकै प्रिय थिए । अहिले उनीहरु नै चोलेन्द्रविरुद्ध महाभियोग लगाउनुपर्छ भनेर वकालत गर्दै हिँडे । अदालतलाई झण्डै ४ महिना बन्धक बनाए ।
त्यसो त चोलेन्द्रले विगतमा गोपाल पराजुलीलाई पनि यसैगरी धोका दिएका थिए । सुशीला कार्कीविरुद्धको महाभियोग रोक्न परेको रिटमा चोलेन्द्रले अनपेक्षित तवरमा अन्तरिम आदेश जारी गर्दा गोपाल पराजुली धुरीबाट खसेझैँ भएका थिए । पहिला एकै थालमा खान र एकै खाटमा सुत्न तयार हुने यी दुई न्यायाधीश त्यही विन्दुबाट विपरीत ध्रुवमा पुगेका थिए ।
गोपाललाई दिएको धोकाकै शैलीमा चोलेन्द्रलाई अहिले हरिकृष्ण कार्कीलगायतले दिइसकेपछि हरिकृष्णलाई कसले धोका दिन्छन् भनेर सर्वोच्चमा नयाँ शिखण्डीको खोजी हुन थालिसकेको छ । उनलाई सर्वोच्चको प्रधानन्यायाधीश हुन नदिनका लागि अब चोलेन्द्रले आफ्नो सम्पूर्ण शक्ति लगाउने भएका छन् ।
हरिकृष्णलाई एमालेनिकट भनिए पनि पछिल्लो समय केपी शर्मा ओलीसँग उनको खास राम्रो सम्बन्ध रहेको छैन । सत्ता गठबन्धनका लागि सहज वातावरण बनाउन लागिपरहेको उनीमाथि एमालेहरुको आरोप छ । त्यसैले एमालेको सहयोग नपाउने लगभग निश्चित छ । कांग्रेसले त उनलाई सहयोग गर्ने झन् कुरै छैन । उनीसहित सपना मल्ल प्रधानलगायत एमालेनिकट न्यायाधीशलाई कांग्रेसले सकेसम्म प्रधानन्यायाधीश नै बन्न दिने छैन ।
बरु कांग्रेसले एमालेनिकट भनिएका राजनीतिक न्यायाधीशहरु हटाउने क्रममा प्रकाश राउत, कुमार रेग्मीजस्ता कांग्रेसनिकट न्यायाधीशहरूलाई पनि बलि चढाउन सक्नेछ । त्यसो हुँदा विश्वम्भरप्रसाद श्रेष्ठ न्यायालयको नेतृत्वमा पुग्न सक्नेछन् । त्यस्तै अरु पनि गैरराजनीतिक छविका न्यायाधीशले अवसर पाउनेछन् । तर सर्वोच्चमा चलिरहेको यो सर्प, बिच्छी र भ्यागुताको खेलले संस्थागत सुधार र स्थायित्वको कुरा गौण बन्दै जाने खतरा देखिएको छ ।