
काठमाडौँ-४ बाट प्रतिभावान् इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी दिने, गगन थापालाई चुनौती
नवीन एवं रचनात्मक सोच भएका यी युवाले आफ्नो घोषणा कार्यक्रम पनि नौलो तरिकाले गरेका छन्


काठमाडौँ । प्रतिभावान् इन्जिनियर आकर्षण पोखरेलले काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । नवीन एवं रचनात्मक सोच भएका यी युवाले आफ्नो घोषणा कार्यक्रम पनि नौलो तरिकाले गरेका छन् ।
कपनको साततलेस्थित खुला सडकमा मंगलबार बिहान उनले उम्मेदवारी घोषणा गर्दा धेरै कलाकार र विभिन्न क्षेत्रमा नाम कमाएका व्यावसायिक युवाहरुको उपस्थिति थियो । काठमाडौं-४ मा हाल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सांसद छन् । थापालाई चुनौती दिँदै पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन् ।
पोखरेलले आफूलाई युवा पुस्ताको प्रतिनिधिका रुपमा चिनाएका छन् । उनले हालका अरु नेताहरुलाई जस्तो खानलाउनका लागि र कार्यकर्ता पाल्नका लागि भ्रष्टाचार गर्नु नपर्ने भएकाले निर्वाचित भएपछि पनि सुशासनलाई मुख्य मुद्दा बनाउने बताएका छन् ।पोखरेललाई समर्थन गर्दै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुले निःस्वार्थ सहयोग गर्ने बताएका छन् । नयाँ भिजन, अवधारणा र राम्रो बौद्धिक उम्मेदवार भएकाले आकर्षण पोखरेलको पक्षमा उभिएको उनीहरुको भनाइ छ ।
उनका धेरै समर्थकहरुले काठमाडौंका मेयर बालेन्द्र शाहसँग तुलना गरेका छन् । सफल इन्जिनियर भएकाले पनि आकर्षणले काठमाडौँजस्तो संघीय राजधानीको प्रतिनिधित्व सदनमा गर्न सक्ने र गर्नैपर्ने भनेर टोलटोलमा बहस चलिरहेको छ । धेरैले भनिरहेका छन्- उनलाई दाल चामलको समस्या छैन । त्यसैले दालभात खान र कार्यकर्ता पाल्न उनले भ्रष्टाचार गर्दैनन् र गर्नुपर्दैन भन्ने विश्वास छ।
गगन थापाले बारम्बार यही क्षेत्रको प्रतिनिधित्व गर्दा पनि कुनै उल्लेख्य काम गर्न नसकेको र केवल विपक्षीको विरोध गरेर मात्र आफ्नो उपस्थिति देखाउने गरेको बौद्धिक वृत्तको बुझाइ छ । कतिपय अवस्थामा उनले देशहितविपरीतका सन्धिसम्झौताको पक्षमा वकालत गरेका कारण पनि यसपालि थापाको क्रेज घटेको छ ।
थापाले त्रिचन्द्र कलेजमा पढ्दा नै स्ववियुको रकम हिनामिना गरेकोदेखि गुण्डा परिचालन गरेकासम्मका घटना पनि अहिले यस क्षेत्रमा चर्चामा छन् । त्यसैले अब गगनबाट कुनै परिवर्तनकारी काम हुन नसक्ने र उनको परीक्षा पर्याप्त भइसकेकाले जनताले परिवर्तन खोजेको धेरैको बुझाइ छ । यही कुरा महसुस गरी आकर्षणले दाबी गरेको देखिन्छ ।