
सांसद तामाङले भने-कानुन तत्काल पारित गर्दै गाँजाको वैधानिक खेती अघि बढाइयाेस


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले प्रतिनिधिसभामा सांसदहरूले उठाएका विषयको सुनुवाइ नभएको गुनासो गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद नियमावली अनुसार विधेयक दर्ता भएको ४ दिनभित्र विधेयकको कपी सबै सांसदलाई दिनुपर्ने र ७ दिनपछि छलफलमा ल्याउनेपर्ने व्यवस्था रहेको स्मरण गराए।
विशेष समय लिएर बोल्दै उनले संसदको नियमावली अनुसार नै आफूले दर्ता गराएको विधेयकमा २ वर्ष पाँच महिना बित्दा पनि छलफल नभएको भन्दै सांसदको अधिकार हनन भएको बताए ।
“गैरसरकारी विधेयक दर्ता गराउन पाउने अधिकार सांसदलाई छ । मैले यस संसद्मा गाँजाखेतीसम्बन्धी विधेयक दर्ता गरेको थिएँ । विधेयक दर्ता भएको चार दिनभित्र कपी सबै मानन्यहरूलाई वितरण गर्नुपर्ने नियम छ । सात दिन कटेपछि छलफलमा ल्याउनुपर्ने हो,” उनले भने, “यो विधेयक अब सूचीमा आउने कि नआउने ? विधेयक दर्ता गराएको दुई वर्ष पाँच महिना १६ दिन बितिसक्यो । नियम मेरो हकमा लागु भएन । म कहाँ भन्न जाऊँ ? मेरो आवाज त सुनुवाइ भएन भने जनताको आवाज कसले सुन्छ ?”