के सेयर बजार आन्दोलनले बौरिएला त ?
बजेट सार्वजनिक हुनुअघि नेप्से २२२३ विन्दुमा थियो । जेठ १६ गते नेप्से ५० अंकले घट्यो


काठमाडौँ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि ओरालो लागेको सेयर बजारले रङ फेर्न सकेको छैन । बजेट सार्वजनिक हुनुअघि नेप्से २२२३ विन्दुमा थियो । जेठ १६ गते नेप्से ५० अंकले घट्यो । त्यसपछि १६ दिन सेयर करोबार भयो । त्यसमध्ये दुई दिन मात्रै परिसूचक हरियो देखियो । बाँकी १४ दिन बजार राताम्य भयो ।
बजेटपछि नेप्से २ सय ८९ अंकले घटेको छ । बैंकमा लगानीयोग्य रकम नभएको र ब्याजदर १२ प्रतिशत माथि पुगेको कारण बजारमा असर परेको ठानिएको छ । आइतबार ३७ अंकले घटेर नेप्से १९ सय ३४ विन्दुमा झरेको छ । बजार घटेको घट्यै भएपछि लगानीकर्ता बजार सुधारका लागि नीतिगत पहलकदमीका १९ बुँदे मागसहित आमरण अनशन र प्रदर्शनमा उत्रिएका छन्।
गिरावटको क्रम नरोकिनुमा राष्ट्र बैंकले सेयर धितो कर्जामा ४ करोड र १२ करोडको सीमा लगाइदिनु रहेको बुझाइमा रहेका लगानीकर्ताले आइतबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंककै अगाडि प्रदर्शन गरे । पछि राष्ट्र बैंकमा मागपत्र पनि बुझाए । बजार घटेपछि बैंकहरूले मार्जिन कलका लागि लगानीकर्तालाई ताकेता गरेका छन् । लगानीकर्तालाई साँवा र ब्याजसहित घटेको मूल्य बराबरको मार्जिन राख्नुपर्ने दोहोरो मार परेको छ ।
अहिले लगानीकर्ताको आत्मबल गिरेको छ । एक वर्षअघि एकै दिन २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेकामा अहिले मुस्किलले दैनिक औसत एक अर्बको कारोबार भइरहेको छ । नियामकले नीतिमै जथाभावी चलखेल गरी बजार घटाइदिएकाले सुधारका लागि दबाब दिनुपर्ने स्थिति आएको लगानीकर्ताको भनाइ छ ।
पाँच दिनदेखि आन्दोलनमा उत्रिएका लगानीकर्ताले नियामक निकायले माग सुनुवाइ नगर्दासम्म प्रदर्शन र विरोधका अन्य कार्यक्रम नरोक्ने बरु थप कडा कदम चाल्ने चेतावनी दिएका छन् । के आन्दोलनका बलमा बजार सुधार होला त ?