
अधिकांश स्थानमा आजदेखि मतगणना,विगतभन्दा बढी मत बदर हुनसक्ने


काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएर मतपेटिकाहरु संकलन भएका स्थानमा आजदेखि मतगणना कार्य सुरु गरिँदैछ । विभिन्न पालिकाका मतदानस्थलबाट राति अबेरसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइएको छ ।
प्रक्रिया पुगेका मनाङ लगायतका स्थानमा हिजैदेखि मतगणना भईरहेको छ । महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा राति १२ बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भएका सहरी क्षेत्रमा शुक्रबार रातिदेखि नै मतगणना कार्य सुरु भएको छ ।पानी परेर बाटो बिग्रिएकाले गाउँको मतपेटिका आउन ढिला हुने भएको छ । यस पटक आयोगले अपेक्षा गरेको भन्दा पनि कम करिब ६४ प्रतिशत मत खसेको छ ।
उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र रहेकाले पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपालि धेरै हुनसक्ने सम्भावना रहेको छ । जसका कारण उक्त मतपत्रको औचित्य र वैधतामाथि प्रश्नसमेत उठेको जियोकले उल्लेख गरेको छ ।
मतदानको दिन केही छिटफुट घटना भए । मतदाताले मतपेटिका नै लिएर भागेका दृश्य देखियो भने दलका कार्यकर्ताबीच झडप पनि भयो । आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ ।
त्यस्ता क्षेत्रमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् । सोही अनुसार कतिपय जिल्लामा मतदानको अर्को मितिसमेत तय भइरहेको छ । कूल ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको र केही ठाउँमा अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो ।