
मौन अवधिको धज्जी उडाउनेमा प्रचण्ड सबैभन्दा अगाडि, २४ घण्टामा आयोगका २ स्पष्टीकरण, चितवनका सीडीओ पनि तानिए
केन्द्रमा गठबन्धन गरे पनि स्थानीयस्तरमा माओवादीप्रति कांग्रेस नै सबैभन्दा बढी रुष्ट भएकाले प्रचण्डपुत्री रेनु दाहाल यसपालि खतरामा


काठमाडौँ । निर्वाचन आचार संहिता एवं मौन अवधिको उल्लंघन गर्नेमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सबैभन्दा अगाडि देखिएका छन् । केन्द्रमा गठबन्धन गरे पनि स्थानीयस्तरमा माओवादीप्रति कांग्रेस नै सबैभन्दा बढी रुष्ट भएकाले प्रचण्डपुत्री रेनु दाहाल यसपालि खतरामा छिन् । छोरीको राजनीति जोगाउन प्रचण्ड नियम–कानुनको धज्जी उडाउँदै मौन अवधिमा समेत घरदैलो र दौडधूप जारी राखेका हुन् ।
प्रचण्डका गैरकानुनी एवं मर्यादाविपरीतका क्रियाकलापलाई लिएर निर्वाचन आयोगले २४ घण्टामा दुईवटा स्पष्टीकरण सोधिसकेको छ भने उनलाई स्कर्टिङ गरेर सहयोग पुर्याउने तथा दुईदुईपटक भेट्न पुग्ने चितवनका प्रमुख जिल्ला अधिकारी आसमान गुरुङ पनि आयोगको खराब सूचीमा परेका छन् । गुरुङका नाममा पनि आयोगले स्पष्टीकरणका लागि पत्र काटेको छ । त्यस्तै चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको वृत्तिविकास समेत प्रचण्डको राजनीतिक चलखेलमा सघाएका कारण धरापमा पर्ने भएको छ । अधिकारीलाई पनि आयोगले ८ घण्टाभित्र स्पष्टीकरण दिन आदेश दिएको छ ।
दाहालले बिहीबार चितवनको माडी नगरपालिका तथा भरतपुर महानगरपालिकाका चनौली र दिव्यनगरमा कार्यकर्ता र मतदातालाई भेटी मत मागेका थिए । बुधबार आयोगले दाहालसँग भरतपुर महानगरको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले नजिते देश दुर्घटना जाने अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरण सोधेको थियो ।
यति मात्र होइन, दाहालले चितवनका मतदातालाई रेनुलाई मत नदिए राम्रो नहुने भन्दै धम्क्याउनसमेत भ्याएका थिए । रेनुविरुद्ध बागी उम्मेदवारी दिने नेपाली कांग्रेसका जगन्नाथ पौडेललाई दबाब, धम्की र प्रलोभन दिन प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित सारा राज्य संयन्त्र नै खनिएको थियो ।
माओवादी अध्यक्ष दाहाल मौन अवधिमा चितवनको माडी गएपछि नेकपा एमालेले सार्वजनिकरुपमै आपत्ति प्रकट गरिसकेको छ । बुधबारदेखि चितवनमै रहेका दाहालले अनुचित तवरले मतदाता प्रभावित पार्न खोजेको निर्वाचन आयोगको बुझाइ छ ।
आयोगका अनुसार, निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) मा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने व्यवस्थाविपरीत अध्यक्ष प्रचण्डले बिहीबार चितवनको माडी नगरपालिका–७ मा रहेको होटल प्याराडाइजमा गठबन्धन उम्मेदवार र कार्यकर्ताहरूसहित करिब ३० जना व्यक्तिसँग भेटघाट गरेका थिए । यसैगरी भरतपुर महानगरपालिका –२६ चनौली र दिव्यनगरमा कार्यकर्ता भेटघाट गरी स्थानीय तह निर्वाचनमा रेनुका पक्षमा मत मागी बिहान ९ः४० बजे रेनुको निवासमा फर्केको जानकारी आयोगबाट खटिएको विशेष अनुगमन टोली, सूक्ष्म अनुगमन टोली र सुरक्षा निकायसमेतबाट प्राप्त हुन आएको आयोगले जनाएको छ । ‘मौन अवधिमा यहाँबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरणको’ उल्लङ्घन भएको छ,’ आयोगको स्पष्टीकरण पत्रमा उल्लेख छ, ‘यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रूपमा किन सार्वजनिक गर्नु नपर्ने हो ? निर्वाचन आचारसंहिता विपरीत हुने गरी मौन अवधिमा राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा यहाँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) र उपदफा (३) बमोजिम किन कारवाही गर्नु नपर्ने हो ? ’
प्रचण्डलाई मौन अवधि उल्लंघनमा सहयोग पुर्याउने चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ, ‘तपाईंलाई अध्यक्ष प्रचण्ड चितवनको भरतपुर आएको र मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा संलग्न भएको जानकारी छ, छैन ? प्रचण्डलाई चितवन जिल्लामा प्रहरी स्कर्टिङलगायत सुरक्षा उपलब्ध गराउने कार्यमा तपाईंको संलग्नता थियो, थिएन ? प्रचण्डबाट भरतपुर महानगरका उम्मेदवारको प्रचारप्रसार गर्ने गतिविधि भइरहँदा उक्त गतिविधि भइरहेकोबारे तपाईंको तालुक अड्डामा जानकारी गराउनुभयो, भएन ? मौन अवधिमा प्रचण्डबाट निर्वाचन प्रचारप्रसार भइरहँदा तपाईंले उक्त गतिविधि किन रोक्नुभएन ? निर्वाचन आचारसंहिता कार्यान्वयनको निम्ति गठित जिल्ला आचारसंहिता अनुगमन समितिको सदस्य भई जिम्मेवारी तोकिएको तपाईंबाट तपाईं स्वयंको उपस्थितिमा आचारसंहिता उल्लङ्घन हुने कार्य भइरहँदा आवश्यक कारवाही नगरी मौन बस्ने कार्य भएबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर प्रश्न उठेकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७८ को दफा २३ को उपदफा (२) र उपदफा (३) तथा सोही ऐनको दफा ४४ बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’
यस्तै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘प्रचण्ड वैशाख २८ गते चितवन पुगी २९ गते चितवनको माडी नगरपालिका–७ मा रहेको होटल प्याराडाइजमा गठबन्धन उम्मेदवार र कार्यकर्ताहरूसहित करिब ३० जनासँग भेटघाट गरेको, साथै आजै भरतपुर महानगरपालिका–२६ चनौली र दिव्यनगरमा कार्यकर्ता भेटघाट गरी स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा उम्मेदवार रहनुभएका व्यक्तिको पक्षमा मत मागी बिहान ९ः४० बजे भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवारको निवासमा फर्केको भन्नेबारेमा जानकारी छ कि छैन ? तपाईंलाई प्रचण्ड भरतपुर आएको र मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा संलग्न भएको जानकारी छ, छैन ? प्रचण्ड भरतपुर पुग्दा तपाईंले वहाँसँग भेट गरी वहाँको कार्यक्रमबारे जानकारी लिनुभयो, भएन ? उहाँलाई भरतपुर जिल्लामा प्रहरी स्कर्टिङलगायत सुरक्षा उपलब्ध गराउन तपाईंबाट आदेश थियो, थिएन ? प्रचण्डबाट भरतपुर महानगरका उम्मेदवारको प्रचारप्रसार गर्ने गतिविधि भइरहँदा उक्त गतिविधि रोक्न तपाईंले किन आदेश दिनुभएन ?’
प्रचण्डकै कारण बागमती प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूजा सिंह पनि कारवाहीमा तानिएकी छन् । उनलाई मौन अवधिमा निर्वाचन प्रचारमा संलग्न भएका प्रचण्डलाई भेट गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । ‘दाहाल गए राती भरतपुर आइपुगेपश्चात तपाईंले निजसँग भेट गर्नुभयो, भएन ? दाहालका राजनीतिक कार्यक्रमबारे तपाईंलाई जानकारी थियो, थिएन ? तपाईं स्वयमबाट आचारसंहिताको तदारुकतापूर्वक कार्यान्वयन हुनुपर्नेमा आचारंहिताको उल्लङ्घन भइरहँदा सो रोक्न आवश्यक कार्यसमेत नभएको हुँदा निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर प्रश्न उठेकोले तपाईंलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (२) र उपदफा (३) तथा सोही ऐनको दफा ४४ बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’