
अल्मुताइरीले दिए छानबिन समितिसमक्ष बयान


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा )नेतृत्वले बारम्बार छलफलमा बोलाउँदा पनि उपस्थित हुन आनाकानी गरेका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छानबिन समितिसामु बयान दिएका छन् । अलमुताइरीले खेलाडी–प्रशिक्षक विवाद छानविन समितिलाई बयान दिएका हुन् ।
यसअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नै प्रशिक्षक अल्मुताइरीलाई छलफलमा बोलाउन आफू असफल भएको बताएका थिए । त्यसपछि एन्फाले आइतबार खेलाडी–प्रशिक्षक विवाद छानबिनका लागि भिक्टर राणाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई विवाद छानबिन गरी प्रतिवेदन बुझाउन एन्फाले ७ दिनको समय दिएको छ । मुख्य प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असहमति जनाउँदै बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीले पनि बयान दिइसकेका छन् । आज मुख्य प्रशिक्षकसँगै टिम व्यवस्थापक मधुसूदन उपाध्याय, सहायक प्रशिक्षक किरण श्रेष्ठसहितलाई बोलाएर समितिले बयान लिएको छ ।