
सरकारका नीति तथा कार्यक्रम जेठ ७ मा सार्वजनिक गरिने


काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आउँदो जेठ ७ गते संसद्मा प्रस्तुत गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेपछि नीति तथा कार्यक्रमका लागि जेठ ७ गते तय गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।
जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ । त्यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिन्छ । नीति तथा कार्यक्रममा जेठ ८ देखि ११ गतेसम्म छलफल हुनेछ ।
जेठ ३ गते प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम छ । जेठ ४ र ५ गते संसद्मा पूर्वबजेट छलफलको कार्यसूची तय गरिएको छ ।
अर्थमन्त्री शर्माले जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। जेठ १५ पछि संसद्मा आर्थिक विधेयक तथा अरू कार्यक्रमहरू निरन्तर रूपमा चल्ने सचिवालयले जनाएको छ ।