
नेप्से लगातार चौथो दिनकाे कारोबारमा १३० अंकले बढ्यो


काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार चौथो कारोबार दिन पनि बढेको छ ।
गएको सातासम्म लगातार घटेर बिहीबार १५ महिनायताकै न्यून विन्दु २२३८.६२ अंकसम्म झरेको नेप्से आइतबारबाट लगातार बढिरहेको छ । आइतबार करिब १८ अंकले बढेको नेप्से सोमबार १२ अंकले बढेर बन्द भएको थियो । मंगलबार ३३.१६ अंकले वृद्धि भएको नेप्से आज पनि बढेको छ ।
आज ५६.०६ अंकले बढेको नेप्से पछिल्ला चार कारोबार दिनमा १३०.४४ अंकले वृद्धि भएको छ । बुधबार २.४२ प्रतिशतले वृद्धि भएको नेप्से २३६९.०६ अंकमा बन्द भएको छ ।नेप्सेसँगै सबै उपसूचकमा पनि हरियाली छाएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सूचक ‘सेन्सिटिभ इन्डेक्स’ पनि ९.५२ अंकले बढेर ४५६.६६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्ला दुई कारोबार दिनमा लगातार डेढ अर्ब पनि नपुगेको कारोबार रकम बढेर आज दुई अर्ब नाघेको हो । मंगलबार दिनभर एक अर्ब ३६ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा आज एक दुई १६ करोड ४० लाखको कारोबार भएको छ ।