
आफ्नै अभिव्यक्तिको कसीमा कामु प्रधानन्यायाधीश कार्कीः खल्ते न्यायाधीश कसका कति ?
विगतको विकृत अभ्यास अब दोहो¥याउन नहुने उनको भनाइ थियो । सुधारका पक्षमा प्रतिबद्धता जनाउनुको प्रशंसनीय पक्ष हो , विगतमा गल्ती भएको थियो भनेर स्वीकार गर्नु सुधारको प्रस्थान विन्दु हो ।


काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सोमबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा केही तीतो सत्य स्वीकार गरे । उनले भने, ‘खल्तीबाट नाम निकालेर ट्वाकट्वाक न्यायाधीश बनाउन नछाडे सुधार हुनेवाला छैन ।’
विगतको विकृत अभ्यास अब दोहो¥याउन नहुने उनको भनाइ थियो । सुधारका पक्षमा प्रतिबद्धता जनाउनुको प्रशंसनीय पक्ष हो । विगतमा गल्ती भएको थियो भनेर स्वीकार गर्नु सुधारको प्रस्थान विन्दु हो । तसर्थ कामु प्रधानन्यायाधीश कार्कीको यस अभिव्यक्तिको स्वागत नै गर्न नसकिने होइन ।
तर कार्की आफ्नै अभिव्यक्तिमा कति प्रतिबद्ध र इमानदार छन् भन्नेचाहिँ अर्को विचारणीय पक्ष हो । कार्की स्वयंले आफू न्याय परिषद सदस्य भएकै दिनदेखि खल्तीबाट नाम झिकेर न्यायाधीश नियुक्तिमा भागबन्डा लिएको कतै लुकेको छैन । यसको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा एक्लैले लिनुपर्ने हो भने बेग्लै कुरा । होइन भने उच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा डालकुमार खड्का, उज्ज्वल शुक्ल, फुर्पा तामाङहरु आफ्नो खल्तीबाट निस्किएको र त्यसमा आफूले गल्ती गरेको कुरा पनि कार्कीले अभिव्यक्त गर्न सक्नुपर्थ्यो ।
न्यायाधीश नियुक्तिका लागि न्याय परिषदमा कुनै योग्यताप्रणाली छैन र त्यहाँका पदाधिकारीको मनोमानी चल्छ भन्ने कुरा त न्यायिक नेतृत्वबाटै साविती आइसक्यो । अब सँगसँगै अर्को प्रश्न पनि उठ्छ कि न्याय परिषदका पदाधिकारी केकस्ता स्वार्थबाट चल्छन् र अनेकथरी नाम सिफारिस गर्छन् ? किनभने, यी सबै नाम उनीहरुका नातागोता मात्र हुन् भन्ने देखिँदैन । जब योग्यता प्रणाली मानिँदैन, प्रत्यक्ष नाता पनि स्थापित हुँदैन र तैपनि न्याय परिषदका पदाधिकारी न्यायाधीशमा भागबन्डाका लागि मरिहत्ते गर्छन् भने त्यसमा कुनै न कुनै स्वार्थ निहित छ भन्ने स्पष्ट बुझिन्छ ।
न्याय परिषदमा हुने राजनीतिक पृष्ठभूमि भएका सदस्यहरुले आफ्नो माउ पार्टीबाट नियुक्तिका लागि जोडबल गरेका हुन सक्छन् । बारको प्रतिनिधित्व गर्नेले कानुन व्यवसायीबाटै न्यायाधीश नियुक्त गर्न खोज्लान् । तर, प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीशले पनि बाहिरबाटै न्यायाधीश नियुक्त गर्न खोज्नुको कारण के हो ? के हाम्रो न्यायिक प्रणालीमा सर्वोच्चमा आउनै नसक्ने न्यायाधीशहरु जिल्ला र उच्च अदालतमा काम गर्छन् ? यी प्रश्नको उत्तरमा पनि अदृश्य स्वार्थको गठजोडसम्मै पुगिन्छ ।
कार्की वरिष्ठतम न्यायाधीशका हैसियतमा न्याय परिषद सदस्य हुँदा आफूले प्रशस्त भागबन्डा लिएर सबै तहमा न्यायाधीश नियुक्त गरे । आफूले गरेका ती हर्कतमा उनलाई कुनै खेद छैन । जब आफूले गरेका गलत कर्मप्रति नेतृत्वले खेद जनाउँदै सच्चिन प्रण गर्दैन, उसले अभिव्यक्त गर्ने आदर्श केवल पाखण्ड हो । न्याय र कानुन क्षेत्रका दिग्गजहरुसामु उभिएर आदर्श छाँटेकै भरमा कार्कीले आफू दूधले नुहाएको बन्न सकिने ठानेका हुन् भने त्यो अर्को खोक्रोपना हो ।
उक्त कार्यक्रममा उनले गोलाप्रथा पारदर्शी भएकाले अनावश्यक शंका नगर्न पनि आग्रह गरे । तर, गोलाप्रथाले उत्पन्न गरेका विकृतितर्फ उनी मौन देखिए । न्यायाधीहरु छानीछानी मुद्दा हेर्ने, मुद्दाको ज्येष्ठताक्रमलाई वास्ता नगर्ने र आफ्नो चासोका मुद्दालाई हेर्दाहेर्दैमा राखेर ओगट्ने प्रवृत्तिबारे एक शब्द पनि उच्चारण गरेनन् । यसले न्यायिक सुधारका लागि भित्रैबाट प्रतिबद्ध र दृढ नभई कार्की सार्वजनिक खपतका लागि मात्र बोलिरहेको देखाउँछ । अझ इतिहासमा बिरलै हुने आन्दोलनको बलमा न्यायिक नेतृत्वमा पुगेका कार्की स्वयं पानीमाथिको ओभानो बन्ने प्र्रवृत्तिका पछिल्ला दृष्टान्त बन्नु अर्को दुःखद् पाटो हो ।
समाचार टिप्पणी । नारायणप्रसाद दाहाल