चितवनमा देउवाकै अगाडि कांग्रेस मतदातालाई धम्क्याए प्रचण्डले
हुँदाहुँदा अब आफूलाई भोट नदिए धम्क्याउनेसम्मको अभिव्यक्ति सार्वजनिक मञ्चबाटै नेताहरु दिन थालेका छन्


काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समकालीन नेताहरुमा तुलनात्मक रुपमा राम्रो अभिव्यक्तिकला भएका नेता हुन् । प्रचण्ड प्रस्तुति सूत्रात्मक हुन्छ । केही लामो बोले पनि खासै पट्यारिलो लाग्दैन । उनको बोली बढी यथार्थपरक र कहिलेकाहीँ भावनात्मक अनुभूत हुन्छ । उनले बेलाबेला आफ्ना गल्ती र कमजोरी पनि स्वीकार गर्छन् । यस हिसाबले उनलाई लचिलो र गतिशील नेताका रुपमा लिन सकिन्छ ।
आफ्नो अभिव्यक्तिकै कारण धेरैको ध्यान तान्न सक्ने अर्का नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् । तर, ओलीको बोलीमा आजकाल मिठास कम, टर्रोपना बढी हुन थालेको छ । उनी आफ्ना जस्तासुकै कदमको बचाउ गर्न खोज्छन् । आलोचनाको प्रतिवाद गर्छन् । अरुको आलोचना सहने क्षमता उनमा सर्वथा अभाव छ । उनको बोलीमा व्यंग्यात्मकता हुन्छ तर विनयशीलता हुँदैन । ओलीले अहिलेसम्म आफ्नो गल्ती स्वीकार गरेको र क्षमा याचना गरेको कतै भेटिँदैन । (कतै भेटिएर जानकारी दिएमा यो पंक्तिकार आभारी हुनेछ ।)
अहिले चुनावको मुखमा त झन् नेताहरु आफूलाई अब्बल देखाउन भाषण नै मुख्य हतियार बनेको छ । अन्य मुलुकका नेता अरुभन्दा अब्बल देखिन आफूले विगतमा गरेका राम्रा कामको फेहरिस्त राख्छन् । पदमा पुगिसकेका नभए अब गर्ने काम र कार्यक्रमको प्रस्तुति दिन्छन् । तर, हाम्रा नेताहरु एकले अर्कालाई खुइल्याउन निम्नकोटिका गालीगलौज मात्र गर्छन् । यो सामान्य भइसक्यो।
हुँदाहुँदा अब आफूलाई भोट नदिए धम्क्याउनेसम्मको अभिव्यक्ति सार्वजनिक मञ्चबाटै नेताहरु दिन थालेका छन् । प्रचण्डले बिहीबार चितवनमा आफ्नी छोरी रेनुु दाहालका लागि मत माग्न आयोजना गरिएको गठबन्धनको आमसभामा कांग्रेसीहरुलाई हँसिया–हथौडामा भोट हाल्न किन गाह्रो भएको भनेर बारम्बार प्रश्न गरे । रातोपिरो अनुहार लगाएर बोलेका प्रचण्डले देउवाकै सामुन्ने उभिएर विगतमा चितवनका कांग्रेसीले हँसिया–हथौडामा भोट नहालेका कारण आफू बाध्य भएर गठबन्धन फेर्न पुगेको सगर्व सुनाए । र, फेरि पनि त्यसैगरी आफ्नी छोरीलाई भोट हाल्न अप्ठेरो माने गठबन्धन फेर्न सक्ने धम्की पनि दिए ।
राजनीतिमा कित्ता फेर्न वा गठबन्धन बनाउन र भत्काउनु आफ्ना लागि कुनै ठूलो कुरो नरहेको उनको भनाइ थियो । यही कारण आफू गतिशील र रचनात्मक नेताका रुपमा स्थापित भएको भन्दै केहीबेर आत्मप्रशंसा पनि प्रचण्डले मञ्चबाटै गर्न भ्याए । यति मात्र नभई उनले भरतपुरका कांग्रेसीहरुले उनकी छोरी रेनुलाई भोट नदिए देशमा दुर्घटना हुने भनेर पनि धम्क्याए । दुर्घटनाको प्रकृति र अरु विस्तृत विवरण भने उनले केही बताएनन् ।
छोरी रेनुलाई यसपटक जिताइदिएमा आफू उत्साहित हुने र हारेमा देशै दुर्घटनामा पर्ने प्रचण्डको अभिव्यक्तिको अर्थ के हो ? अहिलेसम्म कुनै पनि विश्लेषकले खुट्याउन सकेको पाइँदैन । सामाजिक सञ्जालहरुमा उनको यस टिप्पणीलाई धम्की र घुर्कीको रुपमा अर्थ्याएको पाइन्छ । धेरैले यसलाई हाम्रो राजनीतिक नेतृत्वको दरिद्र र रुग्ण सोचको संज्ञा दिएका छन् ।
मलाई भोट नदिए यो गर्छु र त्यो गर्छु भनेर धम्कीको राजनीति अब कति चल्छ ? त्यसको आयु निर्धारण गर्ने जिम्मेवारी पनि चितवनका मतदाताकै काँधमा आएको छ । कतिपयले व्यंग्यात्मक रुपमा भनेका छन्– ‘रुखवालाले हँसिया–हथौडामा भोट नदिए अरु केही हुँदैन । फेरि हँसिया–हथौडा मतपत्रमा देख्नुपर्दैन ।’ ट्विटर र फेसबुकमा यस्ता टिप्पणी धेरै देख्न पाइन्छ- १७ हजारकाे बलिदानबाट प्राप्त गणतन्त्रमा चितवन पुगेपछि माैसुफले हुकुम बक्सेछ - " मेरी छाेरीलाई हरायाै भने तिमी रैतीले दुख पाउँछाै ।"
केहीले भने प्रधानमन्त्रीपत्नी आरजू राणा देउवाको अभिव्यक्तिसँग प्रचण्डको भाषणलाई तुलना गरेका छन् । आरजूले कांग्रेसलाई नजिताउने पालिकालाई बजेटै नपठाउने भनेर पनि धम्की दिएको टिप्पणीकारहरुको भनाइ छ । के अब गठबन्धनको चुनावी हतियार नै अब धम्की बनेको हो ?