
पर्यटनमा जाग्यो आशा, दैनिक आउन थाले १५ सय विदेशी पर्यटक
रेमिट्यान्सपछि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिने पर्यटन विगत दुई वर्षदेखि ठप्पप्रायः भए पनि अहिले केही चल्मलाउन थालेको छ


काठमाडौँ । विदेशी मुद्राको ढुकुटी रित्तिँदै गएका कारण देशमा औषधी आयातसमेत गर्न नसक्ने अवस्थाको नजिक पुगेका बेला आशाको झिनो झिल्को पर्यटनले देखाएको छ । रेमिट्यान्सपछि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिने पर्यटन विगत दुई वर्षदेखि ठप्पप्रायः भए पनि अहिले केही चल्मलाउन थालेको छ ।
कोरोना महामारीको त्रास मत्थर भएकाले विदेशी पर्यटकको आगमन बढेको छ । अहिले दैनिक औसत १ हजार ५ सय विदेशी पर्यटक भित्रिइरहेको सरकारी आकडा छ ।
सन् २०१९ मा झण्डै १२ लाख पर्यटक भित्रिएका थिए । तर २०२० मा २ लाख ३० हजार मात्रै आए । कोरोना महामारी र विश्वव्यापी लकडाउनले सरकारले घोषणा गरेको भ्रमण वर्षको कार्यक्रमलाई पनि बीचैमा रोक्नुपरेको थियो । यिनै कारण पर्यटन क्षेत्र दुई वर्ष थला परेको थियो । महामारी मत्थर भएपछि अहिले विदेशी पाहुनाको आगमनमा केही आशाका संकेत देखिएका हुन् ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत जनवरी महिनायता ९० हजार बढी विदेशी पर्यटक भित्रिसकेका छन् । मार्च लागेपछि यो संख्या दैनिक १५ सयको हाराहारी पुगेको छ । मार्चमा मात्रै ४२ हजार पर्यटक नेपाल घुम्न आएको देखिन्छ ।
अहिले नेपालमा पर्यटक धेरै आउने मौसम पनि हो । खासगरी तीर्थयात्रा, पर्वतारोहण, पदयात्रा, मनोरन्जन र विदा मनाउने उद्देश्यले आउने पर्यटकको रोजाइ यो समय नेपाल बन्ने गरेको छ । यसपटक कुल पर्यटकमध्ये भारतबाट सबैभन्दा धेरै अर्थात् ३० प्रतिशत आएका छन् । त्यसपछि अमेरिकाबाट १६ प्रतिशत र बेलायतबाट १० प्रतिशतको हाराहारी भित्रिएका छन् । यसबाहेक बंगलादेश, अस्ट्रेलियालगायत देशबाट आउनेको संख्या पनि उल्लेख्य बढेको देखिन्छ ।
पर्यटक आगमन बढेपछि पोखरा, सौराहा, लुम्बिनी, ठमेललगायत पर्यटकीय नगरीमा चहलपहल देखिन थालेको छ । पर्यटन विभागको तथ्याङ्क अनुसार यस वर्ष ६ सय ७ जनाले पर्वतारोहणका लागि अनुमति लिएका छन् । उनीहरुबाट ३३ करोड बराबरको राजस्व उठेको छ । सबैभन्दा बढी पर्यटक भने पदयात्राका लागि आउँछन् ।
पर्यटन बोर्डको अध्ययनअनुसार नेपाल आउने पर्यटकको औसत बसाइँ १५ दिन छ भने उनीहरुले प्रतिदिन औसतमा ६५ डलर खर्च गर्छन् । पर्यटन विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पनि हो । ठूलै विनिमय संकट झेलिरहेका बेला केही दिनअघि रेमिट्यान्समा झिनो वृद्धिको आकडा बाहिरिएको थियो । यी आकडाले पर्यटन क्षेत्रमा मात्रै आशा जगाएको छैन, विदेशी मुद्राको संकट झेलिरहेको नेपालले केही दिन भए पनि आसन्न दुर्घटना पर धकेल्न सकिन्छ कि भनेर भरोसाको त्यान्द्रो पनि देखाएको छ ।