
सबैतिरको लगानी ओइरिँदा चम्कियो सेयर बजार, कतिसम्म पुग्ला ?
एकातिर बैंकहरुमा तरलता अभावको समस्या सल्टिँदै छ । अर्कोतिर धेरैतिर लगानीका सम्भावना संकुचित हुँदै छन् । यही मौकामा धेरैतिरको लगानी सेयर बजारमा केन्द्रित हुँदै


काठमाडौँ । एकातिर बैंकहरुमा तरलता अभावको समस्या सल्टिँदै छ । अर्कोतिर धेरैतिर लगानीका सम्भावना संकुचित हुँदै छन् । यही मौकामा धेरैतिरको लगानी सेयर बजारमा केन्द्रित हुँदै छ ।
आर्थिक वर्ष दोस्रो अर्धवार्षिकमा प्रवेश गरेकाले अब सरकारी खर्च वृद्धि भई बजारमा रकम परिचालन पनि बढ्ने देखिएको छ । यसबाट सबैभन्दा बढी सेयर बजारका लगानीकर्ता हौसिएका छन् । यही कारण अर्थतन्त्रका धेरै सूचक नकारात्मक देखिइरहँदा सेयर बजार भने चम्किन थालेको छ । चुनावलक्षित रकम पनि सेयर बजारमा प्रवाह हुन थालेकाले पनि नेप्से अझै उकालो लाग्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।
सेयर बजार परिसूचक आइतबार चार महिनायताकै उच्च विन्दुमा पुग्यो । यस्तै बजारमा साढे चार महिनायताकै उच्च कारोबार भयो । भदौ ३ देखि लगातार गिरावटका कारण २२ सय ८१ अंकमा झरिसकेको नेप्से फेरि बढेर २९ सय २६ दशमलव ७ अंकमा पुगेको छ ।
नेप्से परिसूचक आइतबार ६९ अंकले बढ्दा नेप्सेले चार महिनायताकै उच्च अंक पार गरेको हो । केही समय ३१ सय अंकमा रहेको नेप्से भदौ २९ पछि २९ सय २६ अंकभन्दा तल झरेको थियो । त्यो दिनपछि निरन्तर गिरावटका कारण २२ सय ८१ अंकसम्म झरेको नेप्से अर्थ मन्त्रालय र राष्ट्र बैंकको नीतिगत सहजताका कारण निरन्तर उकालो लागिरहेको हो । आयातमा राष्ट्र बैंकको कडाइ र बैंकमा रहेको स्थानीय तहको बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णयपछि नेप्से लगातार उकालो लागिरहेको छ । यसबीचमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले पहिरो लागेको बजार केही दिनमै दाहालले बोली सच्याएपछि पुनः लयमा फर्किएको हो ।
आइतबार १३ वटै समूहमा उल्लेख्य बढोत्तरी देखियो । उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै ५ दशमलव ६ प्रतिशतले बढ्यो । १ सय ६७ कम्पनीका लगानीकर्ताले कमाए । कोभिड संक्रमण दर बढेको प्रभाव पनि बजारमा परेको हो । कोभिडले व्यापार व्यवसाय प्रभावित हुने आशंकामा व्यापारी सेयर बजारमा प्रवेश गरेकाले पनि आइतबार चार महिनायताकै उच्च कारोबार भयो ।
बजारमा ९ अर्ब ७६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड र अरु केही बैंकको कारोबार सकारात्मक सर्किट लेबलसम्म पुग्यो । यसले बैंकिङ क्षेत्रमा पनि उत्साह छाउने सम्भावना देखाएको छ । बैंकिङ क्षेत्र चम्किन थालेपछि सेयर परिसूचक नेप्से करिब ४५ सयको विन्दुमा पुग्ने विश्लेषकहरुले आकलन गरेका छन् । किनभने नेपालको पुँजीबजारको सबैभन्दा ठूलो हिस्सा ओगट्ने बैंकिङ समूहले अपेक्षित वृद्धि हासिल गरिरहेको छैन ।