
ठूला मुद्दामा महान्यायाधिवक्ताको चलखेल, जिल्लाका फाइल झिकाएर मनोमानी


काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खाती ठूला अपराध र भष्टाचार मुद्दामा चलखेल गर्न थालेका छन् । जिल्ला, उच्च र विशेष सरकारी वकिल कार्यालयका फाइलसमेत झिकाएर त्यहीँ अड्काउनेदेखि मनपरी निर्देशन समेत दिन थालेका छन् ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले दुई वर्ष लगाएर अनुसन्धान गरेको थियो । गत बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझायो । तर सरकारी वकिलले अपूरो अनुसन्धान भन्दै सिंगै फाइल नै सीआईबीमा फर्काइदियो । अनुसन्धानका लागि नियन्त्रणमा लिइएको रामकुमार सुवेदी दम्पती पनि प्रतिवेदन फिर्ता गरेलगत्तै सरकारी वकिलकै दबाबमा छुटेका छन् । महान्यायाधिवक्ता खातीकै दबाबमा यो सबै भइरहेको छ ।
ठूला नेता, प्रशासक, न्यायाधीश, वकिल र व्यापारीसमेत जोडिएको यस मुद्दामा ३ सयभन्दा बढी प्रतिवादी छन् । करिब १४ अर्बको बिगो छ । माधव नेपाल, बाबुराम भट्टराईलगायत केही कांग्रेसका नेता र कांग्रेसनिकटकै कर्मचारीसमेत पर्ने भएकाले प्रधानमन्त्री देउवाको निर्देशनमा खातीले मुद्दा बिगार्न भूमिका खेलेको सरकारभित्रैका नेताहरुको बुझाइ छ ।
यस्तै गायक योगेश्वर अमात्यको जग्गा हिनामिना प्रकरणमा पनि महान्यायाधिवक्ताले चलखेल गरिरहेका छन् । सुरुमा सीआईबीले सरकारी छाप किर्ते र बैंकिङ कसुरमा मुद्दा लैजाने तयारी गरेको थियो । सरकारी वकिलले सुरुमा बैंकिङ कसुरमा मुद्दा नचल्ने भन्दै त्यसमा अनुसन्धान नै नगर्न भन्यो । त्यसपछि किर्तेसम्बन्धी फाइल मात्र लिएर जाँदा फेरि बैंकिङ कसुरको मुद्दा खै भन्दै सीआईबीमाथि नै प्रश्न गर्यो । अहिले सीआईबीले दुवै मुद्दाका फाइल सरकारी वकिललाई बुझाएपछि दुवै फाइल महान्यायाधिवक्ता खातीले आफैसँग राखेका छन् । बुझिएअनुसार बैंकिङ कसुरको मुद्दा नचलाउन दबाब खातीले दिइरहेका छन् । यसो गरेमा किर्ते कागजातका आधारमा गिरोहसँग मिले ऋण प्रवाह गर्ने कुमारी बैंकका तत्कालीन सञ्चालकदेखि सीईओसम्मै जेल जानुपर्छ । तिनैलाई जोगाउन अहिले खातीको सम्पूर्ण शक्ति लागेको छ ।
खाती कानुन व्यवसाय र अध्ययनमा खासै दरिएका व्यक्ति होइनन् । कांग्रेसको ओत पाएर उनले विभिन्न ठाउँमा अवसर पाउँदै आएका हुन् । खासगरी देउवाले उनलाई सुदूरपश्चिमकै भएका कारण नेपाल बार एसोसिएसनको महासचिवको टिकट दिएका थिए । खातीले त्यो अवसरलाई एकातिर आफ्नै स्वार्थमा प्रयोग गरेका छन् भनेर अर्कोतिर गलत कामलाई गलत नभनेर नेताका इशारालाई मात्र तामेल गरेको देखिन्छ । कतिपय नेताहरु यस्ता हुन्छन् कि आफ्ना कार्यकर्ता र शुभ चिन्तकको आग्रहलाई टार्न नसकी विभिन्न कामको सिफारिस एवं भनसुन गरिदिन्छन् । त्यस्तो बेलामा सम्भावित जोखिम, असर र कानुनी प्रक्रिया बताइदिएर गलत कामलाई गलत भनिदिनुपर्ने हुन्छ । महान्यायाधिवक्ता खातीले गम्भीर अपराध र भ्रष्टाचारका मुद्दाका दोषीलाई जोगाउन नहुने भनेर एक शब्द पनि नेताहरुसामु अडान लिएको देखिँदैन । उनले आफ्नो पेसागत धर्म र इमान कत्ति पनि नसम्झी केवल कार्यकर्ताका रुपमा मात्र काम गरेको देखिन्छ । यसैगरी खाती विभिन्न स्वार्थ समूहको पन्जामा समेत परिसकेको उनका व्यवहार र निर्णयबाट स्पष्ट हुन्छ ।
यही शैलीमा उनले काम गर्दै गए फौजदारी न्याय प्रणाली नै अपहृत हुनेछ । कुनै मुद्दा चलाउने कि नचलाउने भनेर सबै निर्णय अपराधी र भ्रष्टाचारीहरुले चलाउनेछन् । गम्भीर फौजदारी अपराधका मुद्दामा महान्यायाधिवक्ताको हस्तक्षेपलाई रोक्ने हो भने खातीलाई तुरुन्त पदबाट बर्खास्त गर्न कांग्रेसीका अरु इमानदार कानुनविद्हरुले दबाब दिन सक्नुपर्छ ।