
ओलीलाई फकाउने कांग्रेसको कसरत, पुस २८ मा होला त एमसीसी अनुमोदन ?


काठमाडौँ । नेपाली कांग्रेसमा आन्तरिक कचिंगल जति भए पनि एउटा विषयमा भने पनि सर्वसम्मति छ, त्यो हो एमसीसी जसरी पनि अनुमोदन गर्नुपर्छ भन्नेमा । यसमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवादेखि रामचन्द्र पौडेल र शेखर कोइरालासम्मैको एकमत छ ।
एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनमा सहमति हुने सम्भावना क्षीण छ । यही कारण कांग्रेस नेताहरु एकपछि अर्को गरी विपक्षी नेकपा एमालेका दैलामा दिनहुँ ढोगभेट गर्न पुगिरहेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको लगातारको बालकोट दर्शनबाट ओली प्रभावित नभएपछि बिहीबार रामचन्द्र पौडेल पुगे । पौडेलसँग भएको कुराकानीको विस्तृत विवरण बाहिर आइसकेको छैन । अब एक चरण सम्भवतः शनिबार नै प्रधानमन्त्री शेरबहादुर देउवा ओलीनिवास पुग्नेछन् ।
सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेताहरु मात्रै ओलीकहाँ धाउनुको निश्चित अर्थ छ । किनभने, नेकपा एमालेले आफू सत्तामा हुँदादेखि नै एमसीसी पारित गर्नुपर्ने अडान राखेको थियो । र, एमालेले साथ दिएमा एमसीसी सजिलै पारित हुन्छ पनि ।
अझ एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त एमसीसीकै मूल्यमा पार्टी विभाजनदेखि सत्ताबाट बहिर्गमनसम्मको मूल्य चुकाउनुपरेको छ । अहिले पनि ओली एमसीसीका पक्षमा मतदान गर्न तयार छन् । तर, उनका दुई सर्त छन् । एक, हालको सत्ता गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसँगको सम्बन्ध विच्छेद । दुई, सभामुख अग्नि सापकोटाको पदच्युत ।
प्रधानमन्त्री देउवा र उनको दल कांग्रेसले साँच्चै एमसीसी अनुमोदन चाहेको हो भने अब ओलीका दुवै सर्त मान्न तयार हुनेबाहेक अर्को कुनै विकल्प देखिँदैन । हुन त आफ्नो कुर्सी जोगाउन सापकोटाले एमसीसीको फाइल दराजबाट झिकेर संसदको पूर्ण बैठकमा अगाडि बढाउने अनुमति नदेलान् भन्न सकिन्न । किनभने, उनका खास निर्देशक एवं माओवादी अध्यक्ष प्रचण्डलाई अहिले आफ्नो ज्यानकोभन्दा बढी माया यो गठबन्धनको छ । यस गठबन्धनलाई बनाउन उनले आफ्नो राजनीतिक जीवनकै आहुति दिएका हुन् ।
अब यसलाई जोगाउन ज्यानकै आहुति दिन पनि तयार हुनेछन् भनेर माओवादीभित्रै टीकाटिप्पणी भइरहेको छ । यो कुरा यसकारण पनि यथार्थपरक छ कि प्रचण्डले राम्रोसँग बुझेका छन्– सत्तामा हालीमुहाली गर्ने यो उनको राजनीतिक जीवनकै अन्तिम अवसर हो । यो कुरा उनले हालै सम्पन्न माओवादी महाधिवेशनमा पनि स्वीकार गरेका छन् । उनको महाधिवेशनमा देखिएको आकर्षणहीनताले पनि प्रचण्ड राजनीतिक जीवनको अवसाननजिक पगेको पुष्टि गर्छ । कतिसम्म भने उनले २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यको नाम गोजीबाट झिकेर पढ्न खोज्दा पनि पुर्याउन सकेनन् र अधुरो केन्द्रीय समिति घोषणा गरेर आफू अध्यक्षमा निर्वाचित भएको डंका पिटाए ।
कथं प्रचण्ड र उनका आज्ञापालक सभामुख अग्नि सापकोटा एमसीसीमा बाधक भएमा नेपाली राजनीतिमा अर्को उथलपुथल हुनेछ । प्रचण्ड र माधव नेपाल गठबन्धनबाट छुट्नेछन् । अग्नि सापकोटा पदच्युत हुनेछन् । केपी ओलीले देउवा सरकारलाई बाहिरैबाट समर्थन गर्नेछन् । त्यसपछि देश निर्वाचनमय हुनेछ । प्रचण्ड र माधव नेपालले एमसीसीको विरोध गर्दै भोट माग्नेछन् । उनीहरुका नारामा नेत्रविक्रम चन्दहरुले घ्यु थप्नेछन् । चुनावी प्रतिस्पर्धा भने एमाले र कांग्रेसकै बीचमा हुनेछ । जनताले देउवा र ओलीमध्ये एकलाई सत्तामा पुर्याउनेछन् ।