
हनुमानढोका दरबार सङ्ग्रहालयमा बढ्न थाले पर्यटक


काठमाडाैँ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्न थालेको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि गत असोज १ गतेदेखि सङ्ग्रहालय आन्तरिक एवं बाह्य पर्यटकका लागि खुला गरिएको थियो ।
कोरोना जोखिम घट्दै गएर विद्यालयसमेत खुल्न थालेपछि सङ्ग्रहालय आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनमै ३०० नाघ्न थालेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । विद्यालय खुलेकाले विद्यार्थी समूहमै सङ्ग्रहालयमा अवलोकनका लागि आउन थालेका छन्।
कोरोनापछि उपत्यका बाहिरबाट भने अझै आन्तरिक पर्यटक नआएको उहाँले सुनाउनुभयो । उपत्यका बाहिरबाट पनि आउन थालेपछि आन्तरिक पर्यटक नै दिनमा ५०० भन्दा बढी पुग्नेछ । कार्यालयले सङ्ग्रहालयभित्र ग्यालरीमा घुम्न आउने अवलोकनकर्ताका लागि स्वास्थ्य सुरक्षाकाविधि अपनाएर मात्र प्रवेश गराउने गरेको छ । प्रवेश गर्नेका लागि मास्क अनिवार्य गरिएको छ । ठाउँठाउँमा स्यानिटाइजरको पनि व्यवस्था गरिएको छ ।
सङ्ग्रहालय खुृलेको पहिलो महिना असोजमा चार हजार ३०० आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । यो महिनामा सबै देशको बाह्य उडान नखुलेकाले ९० जनामात्र विदेशी पर्यटक आएका थिए । कात्तिक महिनामा छ हजार ४०० स्वदेशी पर्यटक र ३४३ विदेशी पर्यटक आएको कार्यालयले जनाएको छ । विदेशमा अमेरिकाका धेरै पर्यटक आएका छन् । कम आउनेमा चीनका पर्यटक रहेको अड्डाले जनाएको छ ।
सङ्ग्रहालय प्रवेशका लागि स्वदेशीलाई रु ३०, विद्यार्थीका लागि शुक्रबार रु १५ र विदेशीका लागि रु ३०० शुल्क लिइन्छ । विदेशीका लागि गत असोजदेखि मात्र हनुमानढोका दरबार हेरचाह अड्डाले शुल्क लिन थालेको हो । हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकका लागि काठमाडौँ महानगरपालिकाले रु एक हजार शुल्क लिने गरेको छ । महानगरले २०६८ देखि शुल्क लिन थालेको हो । त्यसअघि अड्डाले लिने गरेको थियो ।