
आज नाग पञ्चमी : जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिदै


आज नागपञ्चमी । अब बिस्तारै वर्षा ओरालो लाग्दैछ । चाडबाडहरूको मौसम शुरु भइसक्यो । अब लाग्ने चर्को घाममा दसैँको आभास पाइन्छ । चाडपर्वहरूलाई धर्मसँग मात्र नजोडी संस्कारसँग जोड्ने हो भने हाम्रो संस्कारलाई नागपञ्चमी जस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन् । आजको दिन सरिसृप अर्थात् घस्रेर जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।
कलियुग आफ्नो चरममा छ । युद्ध, त्रास, भय, अपराध अनि मानवीय चाहनाहरूको उत्कट समयमा सबैलाई कल्कीको आगमनको अपेक्षा छ । विष्णुको दश अवतारमध्ये अन्तिम अवतार कल्कीको आगमनसँगै कलियुग समापन हुने र सत्ययुगको चक्रतर्फ सभ्यताउन्मुख हुने विश्वास छ । नागपञ्चमीका दिन कल्कीको पनि जयन्ती मनाइन्छ । यस विषयमा म पछि आउनेछु ।
श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवतासमक्ष पुग्ने जनविश्वास छ । वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । जसमा अनन्त, वासुकि, शेष, पद्यम, कम्बला, कर्कोटक, अश्भतरा, धृतराष्ट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला पर्छन् । यी सम्पूर्ण नागको आजकै दिन पूजा अर्चना गरिन्छ ।
यिनै नागहरू अंकित चित्र लिएर ब्राह्मण पुरोहितहरू आ–आफ्नो जजमानका घरमा दैलोमा गाईको गोबर, दुबो लिएर नाग टाँस्न पुग्छन् । यसरी दैलो या मूल खाम्बोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । रक्षार्थ टाँसिने यस्ता चित्रहरू टाँस्ने पुरोहितहरूलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।
नागपञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित् नाम गरेका राजालाई तक्षक नाम गरेको नागले डँस्छ । उनको मृत्यु हुन्छ । उनका छोरा जनमेजयले बुबाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने क्रम कार्य प्रारम्भ गरे । यसका लागि उनले महायज्ञ शुरु गर्छन्, त्यसमा सिद्ध ऋृषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे ।
उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षकबाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भष्म हुन्छन् । तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्षक पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जनमेजयसम्म आइपुग्छन् । यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जनमेजयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यसपछि आजैका दिन पुर्नजीवन पाएको विश्वास गरिन्छ ।
यस दिन नागदेवताको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा ९अर्थात् भुटेर फूल उठेको धान० चढाइन्छ । सामन्यतया अगाडि सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
कल्की जयन्ती
सनातन दर्शनमा मनाइने पौराणिक दिवसहरूमा कल्की जयन्ती पनि एउटा दिवस हो । करिब ३००० वर्ष अगावैबाट यो दिवस मनाइन थालेको प्रमाण छ । श्रावण शुक्ल षष्ठिका दिन सेतो रंगको घोडामा बिराजमान भएर सबै देवी–देवताका साथ कल्की भगवान धर्तीमा अवतरण गर्ने जनविश्वास छ । यसै आगमनको आशामा हरेक वर्ष श्रावण शुक्ल पञ्चमीमा कल्की जयन्ती मनाइने गरिन्छ । भगवान विष्णुको यो अवतार ६४ कलाले युक्त हुन्छ । पुराण अनुसार, भगवान विष्णुको यो अवतारले एकजना तपस्वी ब्राह्मणको घरमा पुत्रको रूपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापीहरूको विनास गर्नेछन् ।
कतिपय जनविश्वासका अनुसार, भगवान विष्णुको दशौँ तथा अन्तिम अवतार ‘कल्की अवतार’ भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ । आजको दिन ९श्रावण शुक्ल पञ्चमी० अर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुन लागेको याद दिलाउँछ । कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरूको विनास गरेर पुनः एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनस्र्थापित गराउने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
कृष्णको झैँ पहेँलो वस्त्रमा धर्तीमा पर्दापण हुने कल्कीको जन्म र कर्मबारे भागवत गीतामा व्याख्या समेत गरिसकेको पाइन्छ । धर्मको जय होस् ।
स्राेत : हाम्राे पात्राे