
देउवा पक्षीय जिल्ला सभापतिहरुको दवाव : महाधिवेशनको विकल्प महाधिवेशन् नै हो, अन्य विकल्प स्विकार हुँदैन


काठमाडाैं। सत्तारुढ नेपाली कांग्रेसको संस्थापन पक्षीय जिल्ला सभापतिहरुले पार्टीको विधान र संविधान अनुसार चाँडोभन्दा चाँडो महाधिवेशन गर्न माग गरेको छ। ललितपुरको समिट होटलमा बिहीबार बसेको संस्थापन पक्षीय सभापतिहरुको भेलाले पार्टीको विधान र मुलुकको संविधानको अधीनमा रहेर चाँडोभन्दा चाँडो महाधिवेशन गर्न माग गरेको हो। यसअघि रामचन्द्र पौडेल पक्षिय जिल्ला सभापतिहरुको भेला पनि महाधिवेशन गर्न दवाव दिएका थिए ।
भेलापछि कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले भने, ‘अहिलेको विषम् परिस्थितिमा कोरोना महामारीको बीचमा विधान, संविधानअनुसार प्रविधि र व्यवहारिक कुरा हेरेर केन्द्रीय समितिलाई चाँडोभन्दा चाँडो निर्वाचन गर्न आग्रह गर्ने निर्णय भएको छ।’बैठकमा सहभागी कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले भेलाले आठ वटा निर्णयहरु गरेको जानकारी दिए।
‘हामी जिल्ला सभापतिहरु बसेर विभिन्न आठ वटा निर्णयहरु गरेका छौं,’ उनले भने, ‘महाधिवेशन हुनुपर्छ, महाधिवेशन गराउनुपर्छ भन्ने विषयलाई नै फोकस गरेर केन्द्रीय समिति बैठक अघिनै पार्टी सभापतिलाई हामीले गरेका निर्णयहरु बुझाउँछौं।’
उनकाअनुसार भेलाले विशेष महाधिवेशन आफूहरुलाई स्वीकार्य नभएको पनि बताए। ‘शीर्ष नेताहरुबाटै विशेष महाधिवेशनको माग सुनिएको छ,’ बोहराले भने, ‘आजको आवश्यकता भनेको महाधिवेशन हो। विशेष महाधिवेशन हामीलाई स्वीकार्य छैन भनेर निर्णय गरेका छौं।
१४ औं महाधिवेशनलाई कसरी सफल बनाउने भनेरनै आफूहरु भेला भएको संस्थापन पक्षीय सभापतिहरुको भनाइ छ। ‘कोरोनाका कहरका बीच १४ औं महाधिवेशनलाई कसरी सफल बनाउने, क्रियाशील सदस्यतामा देखिएको विवाद कसरी समाधान गर्ने भन्ने बारेमानै हामीहरुले छलफल गरेका हौं,’ भेलामा सहभागी कांग्रेस सप्तरीका सभापति दिनेश यादवले भने।
वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरुको दुईदिने भेलाले महाधिवेशन नहुनुमा सभापति शेरबहादुर देउवालाई दोषी देखाएपछि संस्थापन पक्षीय जिल्ला सभापतिहरु आक्रोशित भएका छन्।
‘सप्तरी र बाराका जिल्ला सभापतिहरुले विधिपूर्वक सिफारिस गरेको क्रियाशील सदस्यताको फारमहरु पौडेल समूहले खोल्नै दिइरहेको छैन। सहमति गरौं भन्छन्। के का लागि सहमति गर्नेरु,’ प्रश्न गर्दै कञ्चनपुर सभापति बोहराले भने, ‘विधानअनुसार सहमति गरेरै वडादेखि जिल्लासम्म निर्णय गरेर आएको क्रियाशील सदस्यता खोल्नै नदिने नियत के हो रु त्यसका विरुद्धमा पनि हामी भेला भएका हौं।’
भेलामा सहभागी कांग्रेस ललितपुरका सभापति मदनबहादुर आमात्यले पनि पौडेल समूहले महाधिवेशनका बारेमा फैलाएको हल्ला चिर्न आफूहरु छलफलमा जुटेको प्रतिक्रिया दिए। ‘महाधिवेशन अवैधनिक हुन्छ भन्ने बाहिर जुन हल्ला चलाइएको छ, त्यो गलत हो भनेर हामीले प्रष्ट्याउन खोजेका हौं। अहिलेनै पार्टी अवैधानिक हुने अवस्था छैन भनेर हामीले केन्द्रीय सभापतिज्यूलाई लिखित रुपमै बुझाउन लागेका छौं,’ उनले भने।
मकवानपुर सभापति बानियाँले कांग्रेसमा विचारको नेतृत्वको लडाइँ भएकाले यसलाई सञ्चारमाध्यमहरुले अन्यथा लिन नहुने बताए। ‘कांग्रेसभित्र एउटा सिद्धान्त, नीति छ। कांग्रेसको चुनाव चिह्न रुख छ। चार तारे झण्डा छ। यो झण्डाभित्र अनेक मन छ,’ उनले भने, ‘अनेक मनभित्र विचार एउटा छ। विचारभित्रको विचारको नेतृत्वको लडाइँ छ। त्यसकारण यसलाई मिडियाले अन्यथा नलिए हुन्छ। यो स्वाभाविक प्रक्रिया हो।’
उनले संविधान र विधानलाई व्यवस्थापन गर्दै व्यवहारिक र वैज्ञानिक ढंगले कसरी पार्टीको महाधिवेशन गर्न सकिन्छ भनेर केन्द्रीय कार्यसमितिलाई सुझाव दिन २२ जना भौतिक रुपमा र १३ जना ‘भर्चुअल’ गरी ३५ जनाको समूह छलफलमा जुटेको बताए।