
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त
केसीले बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्दै


लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
मुख्यमन्त्री केसीले बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । भने अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम सरकारमा माग दाबी गर्न गरेको आह्वानमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले चार दलको समर्थनमा मागदाबी गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले दिएको समय अवधिसम्म केसीको मात्र मागदाबी परेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा केसीलाई नियुक्त गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले बताए । मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।