संसद बैठक आज बस्दै , चार मन्त्री निलम्बनको पत्र प्रस्तुत नहुने !

प्रतिनिधिसभाको बैठकको आज बस्दै छ । संसद सचिवालयका अनुसार सम्भावित कार्यसूची प्रकाशित गरेको छ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ ।
त्यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधि विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय गरिएको छ ।
त्यसैगरी, राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्नेछ ।
तर माओवादी केन्द्रले कारवाही गरेका र हाल मन्त्रीसमेत रहेका चार सांसद निलम्बनको पत्र भने प्रस्तुत गर्ने कार्यसूचीमा राखिएको छैन । सम्बन्धित दलका नेताले कारवाहीको जानकारी दिएपछि सभामुखले निलम्बन गरी सनदलाई जानकारी गराउनुपर्ने राजनीतिक दलसम्बन्धी ऐन र संसद नियमावलीको व्यवस्था छ ।
माओवादीका चार सांसदको पद रिक्त हुनेबित्तिकै संसदीय अंकगणितमै फरक पर्छ । ५३ सांसद रहेको माओवादीसँग अब ४९ सिट मात्र बाँकी रहन्छन् ।
यी चारजनाको निलम्बनमा सभामुखले ढिलाइ गरेमा त्यही नजिरमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका माधव नेपाल र यस खेमाका अरु सांसदको कारवाही पनि रोकिदिन सक्नेछन् । सभामुखको यस्तै सम्भावित भूमिकालाई लिएर प्रधानमन्त्री ओली सशंकित पनि छन् ।
अविश्वासको प्रस्ताव वा विश्वासको मतमा मतदान हुँदा आफूविरुद्ध जान सक्ने सांसदलाई पहिला नै निलम्बन गर्न सक्ने अधिकार ओलीले आफूसँग राखे पनि त्यसको जानकारी सदनमा सभामुखले नगराएसम्म सांसदले काम गरिरहन्छ । यसकारण आजको बैठकमा चार मन्त्रीलाई निलम्बन गर्ने प्रचण्डको पत्रबारे जानकारी नगराएमा त्यसलाई अर्थपूर्ण रुपमा लिनुपर्ने हुन्छ ।