केपी ओलीले फाले फालिने मान्छे हो ? उनले ल्याएर आएका हौं ?: माधवकुमार नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी ओलीले फालेर नफालिने नेता रहेको दाबी गरेका छन् ।
‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले भने, ‘हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ ।’ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । ‘केपी ओलीले फाले फालिने मान्छे हो ? उनले ल्याएर आएका हौं ?’ उनले भने ‘हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पुर्याएका हौं ।’
नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्न थालेपछि निलम्बनमा परेका नेता नेपालले आफ्नो मूल पार्टी नेकपा एमाले नै रहेको बताए ।पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको बताएका छन् । उनले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष केपी शर्मा ओलीले गुट भेला मात्र गरिरहेको बताएका छन् ।
नेता नेपालले उपाध्यक्ष वामदेव गौतम पनि आफ्नो पक्षमा आउन लागेको बताएका छन्।उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा पनि हामी बहुमतमा छौँ। वामदेव गौतम पनि हाम्रो पक्षमा आउँदै हुनुहुन्छ।’