एमालेका नेतालाई धमाधम ओलीले कारबाही गरिरहदाँ माओवादी छाडेका नेता प्रति प्रचन्डको मौनतामा आशंका नयाँ पार्टी खोल्न माधव समूहलाई सकस

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट प्रमुख नेताहरुलाई धमाधम कारबाहरी गरिरहदाँ माओवादी छाडेका नेताप्रति प्रचन्ड भने नरम हुनुले गम्भिर आशका उत्पन्न भएको छ ।
ओलीले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध चालेका कदम माथि चाल्न रोकेका छैनन् । ओलीले आफ्ना विरुद्धमा हुनसक्ने मोर्चावन्दीलाई असफल पार्न सत्ता बाहिरका दलमा किचलो ल्याउने देखि एमालेभित्रको नेपाल समूहलाई कमजोर पार्ने रणनीति अघि सारेका छन् ।
पुस ५ गते पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने पक्का भएपछि ओलीले प्रतिनिधिसभा नै विघटन गरिदिएका थिए । त्यसपछि ओली आफ्नै पार्टीका प्रचण्ड र माधव समूह ओलीमाथि जाइ लागेका थिए । संसद विघटन गर्ने ओलीको निर्णयलाई अदालतले बदर गरेसँगै ओली केही कमजोर देखिए पनि सर्वोच्चकै अर्को फैसला (फागुन २३ )ले भने ओलीलाई नै राहत दियो ।
सर्वोच्चले माओवादी र एमालेलाई आ–आफ्नो बाटो लाग्न आदेश दिएपछि एमालेका नेता माधवकुमार नेपाल समूह पार्टीमा फर्कने तयारी गरिरहेका थिए । तर, ओलीले भने नेपाललाई पार्टीमा भित्र्याउन चाहेनन् । बरु आफू निकट नेताहरुलाई बोलाएर फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकबाट ओलीले नेपाल समूहका नेतालाई पदमुक्त गरिदिए ।
एमाले अहिले फुटको संघारमा छ। सत्तामा रहका ओलीसँग संकटपूर्ण अवस्थामा नझुक्ने भन्दै नेपाल समूह देशव्यापी समानान्तर कमिटी गठन गरिरहेको छ। यति गर्दा समेत ओलीले प्रहार नरोके अर्कै दल गठन सम्मको तयारी भइरहेको नेपाल समूहका नेताहरुको दाबी छ। स्वयम् माधव नेपालले बुधवार आफ्नो समूहको युवा संघको कार्यालय उद्घाटनमा आफूले पनि पार्टीको कार्यालय खोजिरहेको भए पनि नभेटिएको बताएका थिए । उनले ओली आफ्नो समूहमाथि जाइ लागिरहे आफू सहेर नबस्ने बताएका छन् ।
ओलीको रणनीति
प्रधानमन्त्री ओलीले माधव नेपाल सहित एमालेका स्थायी कमिटी सदस्यहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । उनले यो कारवाहीसँगै अझ एमाले विरोधी गतिविधि जारी राखे थप कडा कारवाही हुने चेतावनी समेत दिएका छन् । कारवाही गर्नुअघि ओलीले नेपाल समूहका केही नेतालाई फकाउने प्रयास समेत गरेका थिए। केहीले माधवको गुट छाडे र ओली गुटमा प्रवेश गरे पनि। त्यही रणनीति अनुरुप ओली आफैले नेपाललाई फोन गरेर भेटको निम्तो दिए । तर, २८ गतेको ओली समूहका निर्णयलाई फिर्ता गर्नुपर्ने ’बटमलाइन’ बनाएको नेपाल समूहका अधिकांश नेताले ओलीलाई साथ दिने मुड बनाएनन् ।
दुवै समूह वाकयुद्धमा व्यस्त थिए । एउछै मञ्चमा भेला हुँदा पनि ओली समूहका नेताहरुले नेपाल समूहका नेतामाथि कारवाही हुने चेतावनी दिइरहेका थिए । ओलीले चैत ५ र ७ गते बोलाएको संसदीय दलको बैठकमा नेपाल समूह अनुपस्थित रहेपछि भने ओलीलाई कारवाहीका लागि झनै बल पुगेको थियो। नेपाल समूहलाई पेलेरै जाने रणनीति अनुरुप ४ जनालाई स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ नआएको भन्दै कारवाही भइसकेको छ । एकीकरणबाट बनेको नेकपा अस्तित्वमा हुँदा नेपालले आफूलाई तीन तीन पटकसम्म साधारण सदस्यबाट हटाएको ओलीले बिर्सिएका थिएनन् । त्यसैले जसरी भएपनि नेपालसँग बदला लिने योजनामा थिए ओली। अदालतले फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि ओलीलाई सजिलो भयो नेपालविरद्ध एक्सन लिन। र अन्ततः उनले एमालेमा लामो समयसम्म महासचिव बनेर संगठन चलाएका नेपाललाई नै पार्टीबाट निलम्बन गरिदिए ।
अलग पार्टी खोल्न चुनौति
ओली समूहले नेपाल समूहलाई समानान्तर गतिविधि नगर्न चुनौति दिइरहेको छ। एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन नपरे छुट्टै पार्टी बनाउन छुट भए पनि समानान्तर गतिविधि गर्न छुट कसैलाई नभएको बताएका छन ।ज्ञवालीले भने, ‘नेकपा एमालेका नाममा कुनै समानान्तर गतिविधि गर्न मिल्दैन। त्यो भनेको घोषित रुपमा पार्टीलाई विग्रहमा पु¥याउने काम हो । मन नपरेमा बरु अर्कै पार्टी बनाउन पाइन्छ।’
ओलीले आफू निकट नेताहरुलाई माधव नेपाल एमालेबाट बाहिरिए पनि त्यस्तो ठुलो असर नपर्ने बताइरहेका छन्। माओवादी केन्द्रका तर्फबाट आफ्नो समूहमा आएका नेताहरु तथा माधव नेपालबाट आउनसक्ने नेताहरुलाई साथमा लिएर खाली ठाउँ भर्ने ओलीको रणनीति छ।
पार्टी छोडेकाप्रति पनि प्रचण्ड किन नरम?
नेकपा एमालेमा ओलीले कडा स्टेप चाले । तर, माओवादी केन्द्रको हकमा भने यो रणनीति ठिक उल्टो छ।फागुन ७ गते नै माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामवहादुर थापा वादल, उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट सहित २३ जनाले माओवादी परित्याग गरेका थिए। उनीहरु हाल एमालेको केन्द्रीय सदस्य भइसकेका छन्। पार्टी नै छोडेर गएकाहरुलाई कारवाही गर्नुपर्ने माग माओवादी केन्द्रभित्र तिब्र रुपमा उठिरहेका भए पनि प्रचण्ड भने हतार गर्न नहुने पक्षमा छन् । उनी एमालेमा गएका नेताप्रति नरम नै देखिएका छन् ।
माओवादी केन्द्र छाडेर गएकाहरुलाई २४ घण्टे स्पष्टिकरण सोध्ने बाहेकको हालसम्म माओवादीले कुनैपनि कारवाही गरेको छैन् । बुधवार बसेको स्थायी कमिटीको बैठकमा यसबारेमा छलफल भए पनि हतार गर्न नहुने भन्दै प्रचण्डले केही दिन पर्खन बैठकमा ब्रिफिङ गरेका थिए। यस्तै, सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि प्रचण्ड अघि बढ्ने देखिँदैन।
ओली समूहमा लागेका नेतालाई तत्काल कारवाही गरे ओलीसँग असन्तुष्ट रहेकालाई समेत फर्काउन नसकिने प्रचण्डको बुझाइ छ। त्यसैले प्रचण्ड ओली झै हतार गरिरहेका छैनन् । माओवादी केन्द्रका नेता तथा स्थायी कमिटी सदस्य देव गुरुङले दल सम्बन्धी ऐन अनुसार अघि बढने पार्टीमा नीतिगत निर्णय भइसकेको भए पनि कार्यान्वयन नभएको बताए। उनले अब चाँडै पार्टीले माओवादी छोडेका नेतामाथि कारवाहीको प्रक्रिया अघि बढने बताए।
आरोप प्रत्यारोपमा सत्ता वाहिरका दल
सत्ता बाहिर रहेका दल नेपाली कांग्रेस र जनता समाजवादी दलसँग माओवादी केन्द्रले गठबन्धनको प्रयास गरेको भए पनि त्यो सफल भएको छैन् । प्रयास सफल नभएपछि यी तीनै दल आरोप प्रत्यारोपमा उत्रिएका छन् । जसका कारण ओलीले शक्ति आर्जन गरिरहेका छन् भने आफूविरोधी नेतामाथिको प्रहारलाई ओलीले तिब्रता दिएका छन ।
दलहरु एकआपसमा विभाजित हुँदा ओलीले शक्ति बढाउँदै लगेको नेताहरु बताउँछन् ।ओलीलाई आफू इतरका पाखा लगाउन हाइसन्चो भएको छ । यता, गत शनिवार एक हप्तामा ‘कडा स्टेप’ चाल्ने भनेका प्रचण्ड मौन छन ।