म्यान्मारमा सेनाको दमन तीव्र : थप ११ प्रदर्शनकारीको मृत्यु

नायपिटाव । म्यान्मारको सुरक्षा बलले गत महिना गरिएको सैनिक कु विरुद्ध प्रदर्शन गर्नेहरूमाथि कारबाही तीव्र बनाएको छ । बुधबार गरिएको प्रदर्शनमा कम्तीमा ११ थप प्रदर्शनकारी मारिएको समाचार छ । स्मरण रहोस्, म्यान्मारको सेनाले आङ सान सुकीको प्रजातान्त्रिक रूपमा चुनिएको सरकारलाई अपदस्थ गरिएकामा विरोध प्रदर्शन जारी छ ।
सेनाले देशभरका गाउँ र सहरहरूमा प्रदर्शनकारीहरूलाई हिंसात्मक कारबाही सुरु गरेको छ । संयुक्त राष्ट्र संघीय मानव अधिकार कार्यालयले म्यान्मारमा आइतबार कम्तीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको जनाएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषदमा शुक्रबार म्यान्मारको पछिल्लो स्थितिबारे छलफल हुने सम्भावना पनि छ । अमेरिकी अनुरोधपछि म्यान्मारबारे छलफल गर्न बैठक बोलाउन सकिनेछ । संयुक्त राष्ट्रसंघको कूटनीतिक स्रोतले मंगलबार यो जानकारी दिएको हो । स्रोतका अनुसार सुरक्षा परिषदका प्रमुखले संयुक्त राष्ट्रसंघ सचिवालयलाई म्यान्मारका विषयमा छलफल गर्न शुक्रबार बिहान बैठक बस्न आग्रह गरेका छन् ।
म्यान्मारमा सेनाले मौजुद सरकारलाई हटाएर १ फेब्रुबरीदेखि एक वर्षको लागि देशमा आपतकालीन अवस्था घोषणा गरेको छ । सेनाको यो कदमविरुद्ध हजारौं मानिस विरोधमा उत्रिएका छन् । सेनाले प्रदर्शनकारीमाथि गरेको हिंसामा हालसम्म ३० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
म्यान्मारकी नेता आङ सान सुकीलगायत अन्य वरिष्ठ सरकारी अधिकारीहरूलाई पक्राउ गरी जेलमा राखिएको छ । नोभेम्बरको चुनावमा उनको पार्टीले धाँधली गरेको सेनाको आरोप छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता रवीना शमदसानीको विज्ञप्तिमा भनिएको छ, ‘यांगुन, डाभी, मान्डले, माइके, बागो र पोकोक्कुमा भिडमा सेनाले गोली चलाउँदा प्रदर्शनकारीहरूको मृत्यु भएको हो ।’ यसैबीच म्यान्मारमा रहेका मानव अधिकार समूहले मंगलबारको प्रदर्शनमा कम्तीमा १५ पत्रकारहरूलाई क्यामेरासहित पक्राउ गरेको जनाएको छ ।