कोरोना संक्रमणकै बिचमा विश्वमा थपिए ४१४ अर्बपति

काठमाडौं । कोरोना संक्रमणकै बिच टेस्लाका एलन मस्कको सम्पत्ति ३२८ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब डलर पुगेको छ । उनी विश्वका शीर्ष अर्बपति हुन् । यही समयमा अमेजनका सेफ जोसेफको सम्पत्ति ३५ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब पुगेको छ । एलभिएमएचका बर्नार्ड अर्लान सम्पत्ति १ खर्ब १४ अर्ब पुगेको छ । माइक्रोसफ्टका बिलगेट्सको १ खर्ब १० अर्ब डलर र फेसबुकका जुकर बर्गको सम्पत्ति १ खर्ब १ अर्ब डलर पुगेको छ ।
हुरुन ग्लोबल रिच लिस्ट २०२१ ले यो सूची प्रकाशन गरेको छ । यस पटक विश्वका ६८ देशका २ हजार ४ सय २ कम्पनीरूबाट ३ हजार २ सय २८ अर्बपति समेटिएका छन् । गत वर्ष यस समृद्ध सूचीमा २ हजार ८ सय १४ जना रहेकामा यस पटक ४ सय १४ जना अर्बपतिहरू थपिएका छन् ।
अर्बपतिमध्ये १ हजार ५८ जना चिनियाँ छन् । चिनियाँ अर्बपतिहरूको संख्या एक वर्षमा २५९ जनाले वृद्धि भएको छ । विश्वमा सबैभन्दा बढी १४५ जना अर्बपतिहरू बेइजिङमा बस्छन् । दोस्रो नम्बरको सांघाईमा ११३ अर्बपतिहरू बस्छन् ।
अर्बपतिहरूको संख्याका दृष्टिले अमेरिका दोस्रो स्थानमा छ । त्यहाँ ६९६ अर्बपतिहरू छन् । सन् २०२० मा अमेरिकामा ६० जना अर्बपति थपिएका छन् । तीमध्ये ११२ जना अर्बपतिहरू न्युयोर्कका हुन् ।
यो वर्ष भारतीय अर्बपतिहरूको संख्या वर्षमा १ सय ३७ बाट १७७ पुगेको छ । भास्करका अनुसार यो वर्ष भारतका ४० जना नयाँ अर्बपतिहरूको सूचीमा समेटिएका छन् ।
भारतका सबैभन्दा धनाढ्य उद्योगपति रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी धनाढ्यको सूचीमा नवौं स्थानबाट आठौं स्थानमा पुगेका छन् । एक वर्षमा उनको सम्पत्ति २४ प्रतिशतले बढेको छ । मुकेशको सम्पत्ति निरन्तर वृद्धिमा उनको भारतकै ८ प्रतिशत निर्यात गर्ने रिलायन्स इन्डस्ट्रिजको योगदान देखिन्छ ।
भारतका अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्ति पनि गत वर्ष झन्डै दोब्बरले वृद्धि भएको छ । उनको सम्पत्ति १७ अर्ब डलरबाट बढेर ३२ अर्ब डलर पुगेको छ। उनी २० कदम अगाडि पुग्दै विश्वका ४८औं धनी व्यक्ति बन्न पुगेका छन् । आइटी कम्पनी एचसिएलका शिव नादर २७ अर्ब डलरको सम्पत्तिसहित भारतका तेस्रो धनीमा दरिएको छन् । १ सय ७७ जना अर्बपतिहरूसहित भारत तेस्रो स्थानमा छ ।
जर्मनी १ सय ४१ अर्बपतिहरूसहित चौथो स्थानमा छ । १ सय ३४ अर्बपतिसहित बेलायत पाँचौं स्थानमा छ । स्विजरल्यान्डमा १ सय, रसियामा ८५ र फ्रान्समा ६८ अर्बपतिहरू छन् ।
कोरोनाको संक्रमणले विश्वव्यापी प्रभाव पारे पनि सन् २०२० मा अर्बपतिहरूको सम्पत्ति ३२ प्रतिशतले वृद्धि भएको छ । अर्बपतिमध्ये करिब ५० प्रतिशत एसियामा छन् ।
यस वर्षको विश्वव्यापी सूचीमा रहेका ८ दशमलव ७ प्रतिशत अर्बपतिहरू स्वास्थ्य सेवा क्षेत्रका हुन् । त्यस्तै रियल इस्टेटतर्फका पनि ८ दशमलव ७ प्रतिशत छन् भने उपभोग्य वस्तु क्षेत्रका ८ दशमलव ६ प्रतिशत अर्बपति छन् ।
भारतका १ सय ७७ अर्बपतिमध्ये ३७ जना स्वास्थ्य सेवा र २६ जना उपभोग्य वस्तु क्षेत्रका हुन् ।
विश्वव्यापी रूपमा आफ्नै पौरखले भएका २ सय ३१ जना महिला अर्बपतिहरू छन् । एक वर्षमा ५१ महिला अर्बपति थपिएका छन् । यीमध्ये ६६ प्रतिशत आफ्नै पौरखले अर्बपति भएका महिलाहरू चिनियाँ छन् । विश्वकै सबैभन्दा धनी महिला वालमार्टकी एलिस वाल्टन हुन् । उनको सम्पत्ति ७४ अर्ब डलर छ । चिनियाँ फार्मा कम्पनी हन्सोहका संस्थापक झोङ हुइजुआन २३ अर्ब डलर सम्पत्तिसहित चिनियाँ महिलाको शीर्ष स्थानमा छन् ।
पाँच वर्ष पहिले बिल गेट्स संसारकै धनी व्यक्ति थिए । त्यति बेला उनको सम्पत्ति ८० अर्ब डलर थियो । १० वर्षअघि ५५ अर्ब डलर सम्पत्तिसहित कार्लोस स्लिम सबैभन्दा धनी थिए । हाल एलोन मस्क सबैभन्दा धनी छन् ।