कोरोनाका सम्बन्धमा सावधानी नछोडौं, अवस्था गम्भीर हुन सक्छ : बाइडेन

वासिङटन । अमेरिककाका राष्ट्रपति जो बाइडेनले अमेरिकी खाद्य तथा औषधि प्रशासन ‐एफडीए) ले बताएअनुसार जोनसन एन्ड जोन्सनको कोरोना विरुद्धको खोप एक डोज लगाए पुग्ने समाचार सुखद भए पनि अमेरिकी जनताले महामारी जुझ्न सावधानीहरूलाई छाड्न नहुने बताएका छन् । सावधानी छाड्दा स्थिति अझ गम्भीर हुन सक्ने उनले चेतावनी दिएका छन् ।
जोनसन एन्ड जोनसनले आफ्नो उत्पादन कोरोनाविरुद्धको खोप १८ वर्ष र त्यसभन्दा माथि उमेरकालाई आपतकालीन प्रयोगको लागि एफडीएबाट स्वीकृति प्राप्त गरेको शनिबार घोषणा गरेको छ । “यो सबै अमेरिकीहरूका लागि रोमाञ्चक समाचार हो र संकट अन्त्य गर्ने हाम्रो प्रयासमा उत्साहजनक प्रगति हो तर म यो कुरा स्पष्ट पार्न चाहन्छु कि हामी अझै हामी संक्रमणको मुक्तिबाट धेरै टाढा छौं,’’ बाइडेनले खोप स्वीकृत भएपछि भने ।
बाइडेनले भने, “हामीले आजको खबरले उत्सव मनाऊँ तर सबै अमेरिकीहरूलाई आग्रह गर्छु कि तपाई समयसमयमा हात धुँदै गर्नुस्, सामाजिक दूरी बनाउनुहोस् अनि मास्क लगाउनुहोस् । मैले पहिले पनि धेरै पटक भनिसकेको छु, नयाँ स्वरूपको कोरोनाको प्रसार भएमा अवस्था झन् बिग्रने आशंका छ ।’’
कोरानाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप अमेरिकामा फाइजर÷बायोएनटेक र मोडर्ना पछि स्वीकृति पाउने तेस्रो खोप हो । जोन्सन एन्ड जोन्सनले जुनको अन्त्यसम्ममा अमेरिकामा १० करोड डोज खोप आपूर्ति गर्ने बताएको छ । जुलाईको अन्तसम्म फाइजर÷बायोएनटेक र मोडर्नाबाट अमेरिकामा ६० करोड डोज प्राप्त हुने अपेक्षा छ । एजेन्सी