नेपालका कोरोना संक्रमितमा रेम्डेसिभिर र प्लाज्मा थेरापी प्रभावकारी : अध्ययन

नेपालका कोरोना संक्रमितमा गरिएको एक अवलोकन अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशका ३० वटा अस्पतालका १३ सय १५ जमा बिरामीमाथि गरिएको अध्ययनको निष्कर्ष यसप्रकार छ-
पृष्ठभूमि
कोभिड-१९ को महामारीले विश्वभरि एघार करोडभन्दा बढी संक्रमित भए भने पच्चीस लाख मानिसहरुको मृत्यु भयो । नेपालमा मात्रै दुई जलाख सत्तरी हजार भन्दा बढी मानिसमा कोभिड संक्रमण भयो र २००० भन्दा बढी मानिसको मृत्यु भयो | वि.स २०७६ असारमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई कोभिड-१९का बिरामीहरुमा कन्भलेसेन्ट प्लाज्माको उपचारको लागि समन्वय र अध्ययन गर्ने जिम्मेवारी दिइएको थियो | त्यसै अन्तर्गत भदौ २०७६ मा परिषद्लाइ कोभिड-१९ को अध्ययन औषधिको रुपमा रेम्डेसिभिर नामक औषधिको प्रयोग बारे अध्ययन गर्ने जिम्मेवारी दिइएको थियो । तत्पश्चात नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तुरुन्तै अध्ययन प्रोटोकलहरु तयार पारि, आवश्यक उपकरण र औषधिहरू सहित , जरूरी प्रशिक्षण पश्चात उक्त अध्ययनका लागि देशभरिका अस्पतालहरूमा स्वास्थ्यकर्मी टोलीहरुलाई परिचालन गरेको थियो ।
अध्ययन विवरण
यो कन्भलेसेन्ट प्लाज्मा र रेम्डेसिभिर प्रयोगको सुरक्षा र नतिजाको मुल्यांकन गर्ने एक अवलोकन अध्ययन थियो जसमा बिरामीहरूले कन्भलेसेन्ट प्लाज्मा, रेम्डेसिभिर वा दुबै उपचारहरू प्राप्त गरे। सुरुमा, रक्त अस्पताल र क्लिनिकल विशेषज्ञहरूको सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा तयार पारिएका मार्गनिर्देशनहरू अनुसार कोरोनाको गम्भीर असर भइ अस्पतालमा भर्ना गरिएका बिरामीहरूको कभ्लेसन्सेन्ट प्लाज्माको उपचार गरियो । २०७७ भदौमा रेम्डेसिभिर नेपालमा उपलब्ध भए पश्चात कोभिड-१९ संक्रमणको उपचारका लागि नेपाल सरकार, स्वास्थ्य र जनसंख्या मन्त्रालयले रेम्डेसिभिर नि:शुल्क उपलब्ध गरायो । यो अध्ययन जुलाई २०२० मा नेपालका १२ वटा अस्पतालबाट शुरू भएको थियो र नोभेम्बर २०२० सम्ममा देशभर ५० भन्दा बढी अस्पतालमा विस्तार भएको थियो । यस प्रतिवेदनमा जुलाई २०२० देखि अक्टोबर २०२० सम्म गरिएको अध्ययनको नतिजा प्रस्तुत गरिएको छ ।
नतिजा
यस अध्ययनमा जम्मा ३० वटा अस्पतालका १३१५ बिरामीहरु समेटिएका छन् जसमा बागमती प्रदेश बाट ७१.१ प्रतिशत, लुम्बिनी प्रदेश बाट १२.८ प्रतिशत र प्रदेश २ बाट ७.१ प्रतिशत बिरामीको सहभागिता थियो । सहभागीहरुको औसत उमेर ५५.८ वर्ष रहेकोमा ७३.७ प्रतिशत पुरुष थिए भने ९२.५ प्रतिशत विवाहित र २५.६ प्रतिशत स्वास्थ्यकर्मीहरु रहेका थिए । धेरै बिरामीहरूलाई मुटुको रोग, मधुमेह, उच्च रक्तचाप, धूम्रपान र फोक्सोको दीर्घरोग रहेको थियो। प्राय:जसो देखिएका लक्षणहरुमा ज्वरो, खोकी र सास फेर्न गाह्रो हुने रहेको थियो । अधिकांश बिरामीहरूलाई गम्भीर र जीवन जोखिममा हुने संक्रमितको रूपमा वर्गीकृत गरिएको थियो भने करिब एक चौथाई बिरामीलाई मध्यम संक्रमितको रूपमा वर्गीकृत गरिएको थियो।
८३.६ प्रतिशत बिरामीले रेम्डेसिभिर मात्र, ५.८ प्रतिशतले क्न्भालेसेन्ट प्लाज्मा मात्र र १०.६ प्रतिशत बिरामीले दुवै उपचार पाएका थिए | कुल बिरामी मध्ये ७४ प्रतिशत राम्रो अवस्थामा डिस्चार्ज गरिएका थिए भने ४.४ प्रतिशतमा दीर्घकालीन असर देखिएको थियो र २१.६ प्रतिशत बिरामीको मृत्यु भएको थियो ।
मध्यम र गम्भीर बिरामीहरूलाई कोभिड-१९ को उपचार गर्न रेम्डेसिभिर मात्र प्रयोग गरिएको थियो, जसमध्ये ८४ प्रतिशत बिरामीहरू निको भइ डिस्चार्ज भए । रेम्डेसिभिर मात्रको प्रयोगले मध्यम संक्रमण (जटिल निमोनिया नभएका)भएका बिरामीहरूको निको हुने दर ९८.४ प्रतिशत रहेको थियो । कन्भालेसेन्ट प्लाज्मा पाएका अधिकांश बिरामीमा बढी गम्भिर र खतरापूर्ण संक्रमण भएको थियो । यी बिरामीहरु मध्ये कन्भालेसेन्ट प्लाज्मा मात्र पाएका बिरामीहरुको निको हुने दर ३९ प्रतिशत थियो भने रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै प्रयोग गरि निको हुने बिरामीको दर ५४ प्रतिशत थियो । मृत्यु भएका अधिकांश बिरामीमा कडा र खतरायुक्त कोभिड-१९को संक्रमण भएको थियो, जसलाई सघन उपचार र भ्यान्टिलेटरको आवश्यकता परेको थियो ।
दुबै रेम्डेसिभिर र कन्भलेसेन्ट प्लाज्मा नेपालको जनसंख्यामा सुरक्षित पाइयो | ५ प्रतिशतभन्दा कम बिरामीमा मात्र प्रतिकूल असर परेको देखियो र ती सबै बिरामीहरु डिस्चार्जको समयमा पूर्णरुपमा निको भएको पाईएको थियो ।
निष्कर्ष:
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर कोभिड-१९ को संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीहरुमा कन्भलेसेन्ट प्लाज्मा र रेम्डेसिभिर प्रयोग गर्न समन्वयका साथै अवलोकनात्मक अध्ययन समेत गर्यो । यस अवलोकन अध्ययनको नतिजाको आधारमा, दुबै उपचार विधिहरू अस्पतालमा भर्ना भएका कोभिड-१९ का बिरामीहरुमा सुरक्षित रहेको पाइयो | उपचार सफल नभएका अधिकांश बिरामीहरुमा कुनै न कुनै पहिल्यै देखिको रोग भएको कारण अस्पतालमा भर्ना हुन आउदा नै गम्भीर र खतरापूर्ण संक्रमण भएको पाइयो । मध्यमदेखि अलि कडा लक्षण देखिएका बिरामीहरुमा रेम्डेसिभिर मात्रको प्रयोगले सन्तोषजनक नतिजा र धेरै कडा लक्षण देखिएका बिरामीहरुमा रेम्डेसिभिर र कन्भलेसेन्ट प्लाज्माको संयुक्त प्रयोगले राम्रो नतिजा आएको पाइयो ।
थप अध्ययन
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अस्पतालमा भर्ना भइ रेम्डेसिभिर र कन्भलेसेन्ट प्लाज्माको प्रयोग गरी उपचार गरिएका बिरामीहरुको निरन्तर तथ्यांक संकलन गर्ने अध्ययन आगामी दिनमा पनि गर्नेछ । परिषद्ले कोभिड-१९ को उपचारको लागि आफै क्लिनिकल ट्रायल गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लिनिकल ट्रायलहरुको सहभागितालाई निरन्तरता दिनेछ ।