शेखर कोइरालाः टिम बनाउन नसकेपछि एक्लै लखरलखर

शेखर कोइराला अहिले देश दौडाहामा छन् । उनको एउटै मिसन छ, आगामी महाधिवेशनमा नेतृत्वमा दाबी गर्ने । त्यसका लागि कार्यकर्ता पंक्तिको समर्थन बटुल्ने । शेखरसँग आफ्नो पक्षमा कार्यकर्तालाई तान्न दुईवटा कुरा छन् । एक, कोइराला थर । दुई, बौद्धिक नेताको छवि । त्यसमा कार्यकर्ताहरुसँग घुलमिल हुने गुण थप्न उनी प्रयासरत छन् ।
कोइराला परिवारको विरासत प्राप्त गर्ने उनको प्रयास अहिलेदेखिको होइन । तर, कोइराला परिवारभित्रैबाट अर्को दाबेदार हुँदासम्म उनको पालो आउने सम्भावना कम छ । अर्थात्, सशांक कोइरालाले दावी गरिरहेसम्म शेखर अन्तिममा पछि हट्नुपर्नेछ । उनको दोस्रो गुण हो, बौद्धिक नेताको छवि । कांग्रेसमा बौद्धिकहरुको हविगत के छ भन्ने कुरा खोज्न टाढा जानुपर्दैन । मनमोहन भट्टराई, नरहरि आचार्यदेखि भिमबहादुर तामाङसम्मलाई हेरे पुग्छ ।
कांग्रेसलाई कस्तो नेता चाहिन्छ भन्ने कुरा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवालाई नै हेर्नुपर्छ । बीचमा सुशील कोइराला नेतृत्व पाएको पनि केवल कोइराला परिवारको सदस्य एवं गिरिजप्रसादको भक्त हुनु मात्रै थियो । शेखर जसरी देश दौडाहा गरिरहेका छन्, त्यसले कांग्रेस संगठनलाई केही मात्रामा चलायमान त गराएको होला तर उनको एक्लो प्रयासले पार्टीको परम्परागत सत्ता हल्लाउँछु भन्नुचाहिँ अतिशयोक्तिपूर्ण नै हुन्छ । मानौँ, शेखरले दावी छाडे । रामचन्द्र पौडेलदेखि कृष्ण सिटौलासम्मले उनको बाटोमा अवरोध गर्ने भएनन् । र, कार्यकर्ता पंक्तिमा पनि उनको राम्रै छाप रह्यो । तर, यति हुँदाहुँदै पनि शेखर नेतृत्वमा पुग्न नसक्ने र असफल हुने एउटै कारण हो, उनीसँग टिम नहुनु । सभापति शेरबहादुर देउवासँग पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रदीप गिरी, रमेश लेखकलगायत एक से एक सहयोगी नेताहरुको टिम छ । देउवासँग बौद्धिक समूह चाहिए त्यही स्तरका चिन्तक छन्, बाहुबली चाहिए त्यही खालको समूह छ र पैसावाल चाहिए पनि कुनै कमी छैन ।
केन्द्रदेखि जिल्ला र इलाका तहसम्मका एकएक कार्यकर्तासँग उनको सम्पर्क सञ्जाल छ । देउवा आफै पनि दुर्गम एवं पिछडिएको क्षेत्र र समुदायबाट आएका भएकाले पनि उनलाई आमकार्यकर्तासँग भिज्न समस्या छैन । यति हुँदाहुँदै पनि उनको मुख्य पुँजी भनेको टिम नै हो । त्यस्तै कांग्रेसका अरु पनि कतिपय नेताहरुसँग मजबुत टिम छ । पार्टीको महाधिवेशनमा मात्र होइन, आमनिर्वाचन र अरु महत्त्वपूर्ण अवसरमा परिचालन गर्न सक्ने टिमकै कारण प्रतिद्वन्द्वीसँग टक्कर लिन सक्छन् । आफू जित्ने र विरोधीलाई पराजित गर्ने रणनीति बताउँछन् । तथ्य, सूचना र समसामयिक अवस्थाको गम्भीरतापूर्वक विश्लेषण गर्छन् । अरु त अरु, गगन थापासँग समेत थरीथरी मान्छेहरुको टिम छ । बाहुबल प्रदर्शन गर्नेदेखि सञ्चार क्षेत्रमा भिड्ने टिम उनीसँग छ । राजनीति र अर्थतन्त्रको विश्लेषण गरी पृष्ठपोषण दिने विज्ञहरुको समूह र सहयोग छ । त्यही कारण उनका हरेक प्रस्तुति दमदार भइरहेका छन् ।
हरेक मोर्चामा गगन हावी हुन सक्ने भएका छन् । गगनका लागि बाहिर मैदानमा खासै समस्या छैन । छ त केवल कांग्रेसको उच्च तहमा रहेको परम्परागत सत्तावृत्तबाट मात्र चुनौती छ, जसले उनको उदयलाई जसरी पनि रोक्न खोज्छ । जसरी पनि दबाउन खोज्छ । यति हुँदाहुँदै पनि भकुण्डलाई दबाएजस्तो गरी जति जोडले माथिबाट दबाइन्छ, उति उफ्रेर माथि पुग्छ । गगनको उचाइ र लोकप्रियता त्यही कारण बढिरहेको छ । शेखर कोइराला अहिले सभापतिमा आफूलाई जिताउनुपर्यो भन्दै कहिले जनकपुर, कहिले विराटनगर त कहिले इलाम एक्लै लखरलखर गरिरहेका छन् । यसले उनको देश घुम्ने, केही थान नेताकार्यकर्ताको नमस्ते र फूलमाला खाने रहर त पूरा होला ।
तर, कांग्रेसको नेतृत्वमा स्थापित हुन सक्दैनन् । उनी यसका लागि टिम बनाएर अघि बढ्नुपर्छ । यसपालिलाई उनले शेरबहादुर देउवाको नेतृत्व स्वीकार गरी आफूलाई उपसभापतिमा उभ्याउनु उचित देखिन्छ । देउवा प्रधानमन्त्री भएपछि शेखरले कार्यवाहक सभापतिका रुपमा चलाउन पाउनेछन् । त्यसले उनको स्वीकार्यता बढ्दै जानेछ र अर्को महाधिवेशनमा निर्विकल्प रुपमा सभापति बन्न सक्नेछन् । उनीसँग दह्रो टिम छ भने सशांक र सुजाताहरू आफै पाखा लाग्नेछन् । एक्लै लखरलखर हिँडेर देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दलको नेतृत्व हात पार्छु भन्नचाहिँ उही बयलगाढा चढेर अमेरिका जाने कुराजस्तै हो ।