प्रधानसेनापति र प्रधानन्यायाधीश बीच आकस्मिक भेट वार्ता,महत्वका साथ हेरियो

काठमाडौँ प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका प्रधानसेनापति थापाले प्रधानन्यायाधीश जबरालाई कार्यकक्षमा भेट गरेका हुन् ।संसद् विघटनसम्बन्धी मुद्दा फैसला अन्तिम चरणमा पुगेका बेला नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
सर्वोच्चले नयाँ भवन बनाउने स्थानमा नेपाली सेनाको केही जग्गा परेकाले त्यससम्बन्धी छलफल गर्न प्रधानसेनापति थापा सर्वोच्च पुगेको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिएका छन् । सर्वोच्चको अहिलेको भवनपछाडि नयाँ भवन बन्दै छ । ‘नेपाली सेनाले केही जग्गा छोडिदिनुपर्ने र हस्तान्तरण गर्नुपर्ने भएकाले त्यस विषयमा समन्वय गर्न जानुभएको अधिकारी बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । प्रधानन्यायाधीश जबराले ११ गतेपछि मुद्दाको फैसला जुनसुकै बेला आउनसक्ने बताइसकेका छन् । प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेटले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरिदिएको छ ।