निर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
लोकतन्त्रको पाइजामा भिरेर कम्युनिस्टहरूको स्तुति, आफ्नै नेतृत्वको निन्दा

तनहुँका जनताले २०७४ को आम निर्वाचनमा फेरि उठ्नै नसक्ने गरी सबक सिकाएर पठाएपछि अहिले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चुनाव भन्ने शब्ददेखि नै तर्सिन थालेका छन् । आफ्नो निर्वाचन पोबियालाई छोप्न भने भने उनले लोकतन्त्रको पाइजामा भिरेका छन् र संसद पुनर्स्थापनाको माग गर्दै हिँडेका छन् ।
जुन संसदमा रामचन्द्र स्वयं सांसद छैनन् । जुन संसदमा कांगे्रेस लोपोन्मुख प्रजातिजस्तो देखिन्छ । जुन संसदमा बहुदलीय लोकतन्त्रका जन्मजात शत्रु मानिने कम्युनिस्टहरुको दुई तिहाई छ । अनि त्यही संसद ब्युँताएर लोकतन्त्रको रक्षा गर्ने पिँधबिनाको सिद्धान्त फलाक्दै छन् रामचन्द्र ।
पार्टीमा सभापति देउवासँग पराजित । संसदमा १७ चोटि प्रधानमन्त्रीमा पराजित । अनि आफ्नै निर्वाचन क्षेत्रमा मुख देखाउनै नसक्ने गरी जनताबाट पराजित । अनि रामचन्द्रलाई निर्वाचन फोबिया नभएर के होस् ? निर्वाचनको ‘न’ सुन्नेबित्तिकै उनी झसंग हुन थालेका छन् । निर्वाचनलाई लोकतन्त्रविरोधी देख्न थालेका छन् ।
कांग्रेसमै पनि कोइराला खेमाले रामचन्द्रलाई गन्न छाडिसकेको छ । शेखर कोइराला, सशांक कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह कसैले पनि अब रामचन्द्रलाई नेता मान्नेवाला छैनन् । उनीहरु आफै अघि सर्दै छन् । सके आफू अघि सर्ने, नसके देउवासँग तालमेल गर्ने हरेक दोस्रो तहका कांग्रेस नेताहरुको दाउ छ ।
सबैतिरबाट एक्लिएका, थकित, गलित र पराजित रामचन्द्रलाई जनतामाझ जाने, जनताको आदेश स्वीकार गर्ने र जनमतका आधारमा चल्ने कुरा लोकन्त्रविरोधी लाग्छ । कम्युनिस्टहरुको घरझगडाले उनलाई भित्रभित्रै पोल्छ । र, राँको लिएर आफ्नै पार्टीमा दन्काउन पुग्छन् ।
उनलाई अहिले कांग्रेसको भन्दा बढी चिन्ता पुष्पकमल दाहाल र माधव नेपालहरुको लागेको छ । त्यसैले उनी प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कदममा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको हिस्सेदारी देख्छन् । हुँदाहुँदा विराटनगरमा ओलीले अदालतलाई धम्क्याउनुका पछाडि पनि देउवाको आड रहेको आरोप लगाइरहेका छन् ।
गत महाधिवेशनमा कांग्रेसकै कार्यकर्ताहरुले भारी मतका साथ सभापतिमा पराजित गरेपछि नै पौडेलको राजनीतिक भविष्य संकटमा परिसकेको हो । त्यसमाथि आफ्नै क्षेत्रका जनताले थाङ्नामा सुताइदिएपछि थप अत्तालिएका हुन् । अहिले फेरि चुनाव भइहाल्छ कि भनेर पौडेल विक्षिप्त भएर बर्बराउँदै हिँडेका छन् ।
कम्युनिस्टहरुको झगडाकै बीच चुनाव भएमा रामचन्द्रले हारे पनि कांग्रेस बलियो भएर आउनेछ । देउवाको नेतृत्वकालमै कांग्रेस बलियो हुनु भनेको देउवा पनि थप शक्तिशाली हुनु हो । त्यसपछि महाधिवेशनमा पनि देउवा अविजीत रहनेछन् ।
शक्तिशाली पार्टीका शक्तिशाली सभापति भएर देउवाको राजनीतिक पुनरुत्थान हुँदा आफू सधैँभरका लागि सकिने रामचन्द्रको बुझाइ हुन सक्छ । यसै पनि ७६ वर्षे वयोवृद्ध उमेरमा आज बोलेका कुरा भोलि बिर्सने अवस्थामा पौडेल पुगिसकेका छन् । एउटा कार्यक्रममा एउटा कुरा बोलेर अर्को कार्यक्रममा त्यसैको विपरीत बोल्न पुग्ने पौडेलसँग अरु पाँच वर्ष कुर्ने धैर्य र समय छैन । त्यसैले अहिले प्रचण्डहरुले देखाएको उधारो राष्ट्रपतिको ललिपपमा भुलेका छन् ।
तर, उनले के बुझ्नुपर्छ भने संसद विघटन सदर वा पुनर्स्थापना भए पनि चुनाव हुनबाट कसैले रोक्ने छैन । नयाँ सदनले नयाँ प्रधानमन्त्री वा राष्ट्रपति चयन हुने छैन । ओलीले विश्वासको मत गुमाउने र अरु कसैले बहुमत देखाउन नसक्ने अवस्थामा हुने भनेको चुनाव नै हो । सर्वोच्च अदालतले नै चुनावका लागि बाटो खोलिदिए वा निश्चित सर्तसहित चुनावको तिथि नै तोकिदिएमा रामचन्द्रको सपना झनै चकनाचुर हुनेछ ।
कुरा रामचन्द्रको मात्र होइन, कम्युनिस्टहरुको घरझगडामा एउटा पक्ष लिएर अहिले पनि कुनै कांग्रेसी हिँड्छ भने बुझे हुन्छ, अब ऊ सधैँका लागि पत्तासाफ हुनेछ । तसर्थ, राजनीतिको अन्तरप्रवाह बुझेर आसन्न चुनावको तयारीमा गर्नुमा नै आमकांग्रेसीको हितमा छ ।