प्वाँख पलाएको ओली अहंकार कहाँ होला अवतरण ?

प्रधानमन्त्रीको प्रस्तुतिबाट अब संसद पुनर्स्थापना हुने करिब निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अनायासै प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरिदिए । उनको ठाउँमा आफ्ना नवभक्त राजेश झालाई नियुक्त गरे ।
बाआमाको रिसले केटाकेटीलाई चिथोरेजस्तो गरी ओलीले प्रचण्डको रिसले परियारलाई पदबाट धकेलेको देखिन्छ । यसबाहेक ओलीको यस निर्णयको कुनै राजनीतिक प्रयोजन देखिँदैन । किनभने, प्रदेश २ मा न नेकपाको सरकार छ, न त नेकपाको कुनै खेमाले चाहेर केही हुनेवाला छ । आफूनिकट मुख्यमन्त्रीले चाहेका कदममा बाधा हुन सक्ने ठाउँमा प्रदेश प्रमुख परिवर्तन गरिएको भए एक हदसम्म त्यसको कुनै अर्थ हुन्थ्यो ।
ओलीको यस अर्थहीन कदमको अर्थ भने अनेक लगाइएको छ । सबैभन्दा विश्वालाग्दो अर्थचाहिँ के छ भने अब ओली अहंकारमा प्वाँख पलाएको छ । त्यसले उनको सत्ताको आयुलाई प्रस्ट संकेत गरेको छ ।
सुरुमा ओलीले केही राम्रै काम गर्न खोजेर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले भाँजो हालेको भनेर पत्याउनेहरु पनि अब भ्रममुक्त भएका छन् । ओलीमा त्यो हदसम्मको व्यापक र उदात्त दृष्टिकोण छैन भन्ने पछिल्ला केही दिनमा चालेका कदम, लिएका निर्णय र व्यक्त गरेका अभिव्यक्तिहरुबाट प्रस्ट हुँदै गएको छ । प्रदेश प्रमुख परिवर्तनको असामयिक र औचित्यहीन निर्णयले यही कुराको पुष्टि गरेको छ ।
ओलीका वरिपरि केकस्ता व्यक्तिहरु छन् भन्ने कुरा त राज्य संरचनामा उनले कस्ता व्यक्तिलाई पुर्याएका छन् भन्नेले नै स्पष्ट पारिसकेको छ । फेसबुकमा ओलीको जयकार र उनका विपक्षीलाई अश्लील गालीगलौज गर्नेहरु एकपछि अर्को गरी पुरस्कृत हुनुले पनि ओलीको घेरा कति संकुचित, स्तरहीन, असहिष्णु र पूर्वाग्रही छ भन्ने कुराले नै प्रस्ट पार्छ ।
एकथरीले बहालवाला सांसदलाई नै अपहरण गरिदिए भने अर्काथरीले म ओलीको छोरो हुँ, दुई घण्टामा अपहरण गरिदिन्छु भन्दै धम्क्याउँदै छन् र तिनै व्यक्ति उनको आशिर्वाद पाएर सरकारी स्रोतसाधनमा ढलिमली गर्दै छन् । यतिले नपुगेर अब ओली आफै धम्कीको भाषा प्रयोग गर्न थालेका छन् ।
शनिबार विराटनगर पुगेर उनले सर्वोच्च अदालतले फैसलाको तयारी गरिरहेको विषयमा धम्कीपूर्ण भाषा प्रयोग गरे । प्रतिनिधि सभा विघटन सदर नभए आन्दोलन गर्ने धम्की दिए । यसले के संकेत गर्छ भने उनी पद र शक्तिको अहंकारको प्वाँख लगाएर धरातल छाडेर यति माथि पुगिसके कि अब सुरक्षित अवतरण हुन मुस्किल छ । होइन भने देशको जिम्मेवार प्रधानमन्त्रीले एक त न्यायपालिकाको संवेदनशीलतामा प्रहार गर्ने काम गर्नै सक्दैन । अझ आफ्नै कदमको वैधानिकता परीक्षण भइरहेको अवस्थामा त्यही विषयलाई लिएर सार्वजनिक टिप्पणी गर्नु थप गैरजिम्मेवारीपन हो । यस्तै बोलेवापत अवहेलनाको मुद्दा खेपिरहेको र अदालतमा आफै गएर लिखित जवाफ दिनुपर्दा पनि ओली नचेतेको देखिन्छ । होइन भने योभन्दा अर्को बहुलठ्ठीपना अर्को हुनै सक्दैन ।
अझ ताज्जुबलाग्दो कुरा त के भने प्रधानमन्त्रीजस्तो पदमा रहेर आफै आन्दोलन गर्ने धम्की दिन्छन् । अरु आन्दोलनरत पक्षलाई पनि शान्त र धैर्य रहन आग्रह गर्नुपर्ने, असन्तुष्ट पक्षलाई वार्ता र समझदारीमा ल्याउन प्रयत्न गर्नुपर्ने हो । तर, यो सबै जिम्मेवारीबाट च्युत हुँदै ओली आफै विद्रोही नेताजस्तो भएर प्रस्तुत हुँदा विगतमा पुष्पकमल दाहालले देखाएको बच्कनापनलाई पनि माथ गर्न पुगेका छन् ।
शुक्रबार यसैगरी निर्वाचन आयोगलाई धम्क्याएका थिए ओलीले । यी सबै प्रकरणलाई एकै ठाउँमा राखेर हेर्दा के बुझिन्छ भने उनी निकै धर्मराइसकेका छन् । उनको शनिबारको प्रस्तुतिले त अब संसद पुनर्स्थापना करिब निश्चित भएको छ । यसो भएमा ओली आफ्नो राजनीतिक जीवनको अन्तिम जुवामा पराजित हुनेछन् । सर्वस्व लगाएर हानेको दाउ अर्कैको पोल्टामा जाने भएपछि प्रकट हुने भनेको यस्तै बर्बराट हो । र, सत्ताको अहंकारमा प्वाँख पलाइसकेपछि सुरक्षित अवतरणका लागि कम्तीमा लोकतान्त्रिक धरातलमा ठाउँ हुने छैन ।