देउवाको मौन रणनीतिले राजनीतिको केन्द्रमा कांग्रेस, संकटको निकास समेत कांग्रेसमा निर्भर

नेकपाको आन्तरिक सत्ता किचलो र कुशासनप्रति अढाई वर्षसम्म मौन रहेको आरोप खेपेका नेपाली कांग्रेसका सभापति अन्ततः राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेका छन् । नेकपाकै घरझगडाबाट उत्पन्न संवैधानिक र राजनीतिक संकटको निकासमा समेत कांग्रेस निर्णायक भूमिकामा देखिएको छ ।
तत्कालीन माओवादीसँग स्थानीय तहको निर्वाचनमा साझेदारी प्रत्युत्पादक हुनु र आमनिर्वाचनमा त्यही माओवादीले धोका दिनु कांग्रेस ख्याउटिनु मुख्य कारण थियो । यति मात्र होइन, भरतपुरमा नेतापुत्रीलाई जिताउनैपर्ने बाध्यताले निर्वाचन आयोगदेखि अदालतसम्मले अवगाल खेप्नुपर्यो । त्यही प्रकरणमा बदनामी खेप्दा कांग्रेस संसदमा २० प्रतिशतभन्दा कम सिटमा सीमित भयो ।
एउटा निर्वाचनमा कुनै शक्ति विजय र कुनै पराजित हुनु स्वाभाविक थियो । कांग्रेस पराजित भयो । जनताले पाठ दिए । कांग्रेसले पाठ कति सिक्यो वा सिकेन, त्यो अर्कै पक्ष छ । तर, आमनिर्वाचनपछि कांग्रेस लोकतान्त्रिक मूल्यमा अडिग रह्यो ।
कांग्रेसले अरु कम्युनिस्टहरुले जस्तो जनादेश अस्वीकार गरेन । आफ्नो पक्षमा बहुमत नआएपछि उसले सत्तामा र्याल काढेन । त्यो भनेको जनादेशको सम्मान हो । नेकपाको आन्तरिक राजनीतिमा बाहिर देखिने गरी चासो दिएन ।
बाहिर मौन देखिए पनि देउवा भित्रभित्रैचाहिँ सक्रिय थिए । उनको देखिने भूमिकाचाहिँ संवैधानिक परिषदमा प्रकट भयो । यो उनको राजनीतिक चलाखी थियो । अब चाहेर पनि कसैले राष्ट्रिय राजनीतिमा देउवाको भूमिकालाई अस्वीकार गर्न सक्ने अवस्था छैन । त्यही भएर नेकपाका हरेक नेता देउवासँग हारगुहार गरिरहेका छन् । नेकपा मात्र होइन, जनता समाजवादी र अरु दलहरु समेत देउवाको आगामी चाल के हुन्छ भनेर प्रतीक्षारत छन् ।
अहिले पनि देउवा जता लाग्यो, राजनीति त्यतै उल्टिने अवस्था छ । दाहाल खेमाको आन्दोलनमा साथ दिए ओलीको सत्तापलट हुन्छ । निर्वाचनको पक्षमा उभिए दाहाल खेमा रसातलमा पुग्छ ।
यथार्थचाहिँ के हो भने स्वयं कांग्रेसका लागि भने चुनाव अपरिहार्य छ । जतिसक्दो चाँडो चुनाव भयो, त्यति नै चाँडो मुलुकले कम्युनिस्ट अराजकताबाट मुक्ति पाउनेछ । लोकतान्त्रिक विधिबाटै ओलीलाई सत्ताच्युत गर्न सकिनेछ । त्यसपछि लोकतान्त्रिक व्यवस्थाले लोकतान्त्रिक सारथि भेट्नेछ ।
देउवाले परिस्थितिलाई घुमाइफिराई आफ्नोअनुकूल बनाएरै छाडेका छन् । उनी राष्ट्रिय राजनीतिको मियो बन्ने सम्भावना उनकै पार्टीका केही नेताहरुलाई भने मन परेको छैन । खासगरी रामचन्द्र पौडल, कृष्ण सिटौला र गगन थापाहरु सस्तो लोकप्रियताको खोजीमा घाँटीका नसा सुकाइरहका छन् । सभामुख भइसकेर कृष्णबहादुर महराभन्दा मुनिको मर्यादाक्रममा बसी शान्ति मन्त्री खान हिँडेका रामचन्द्र पौडेल अहिले आफूलाई पद चाहिँदैन तर विश्राम पनि नलिने भन्दै दहीच्यूरे कुरा गरिरहेका छन् ।
आफ्ना शाखासन्तानको पदको सुरक्षाबाहेक परको कुरा सोच्न नसक्ने उनी स्वयंलाई पद नचाहिएको हो भने चाहिएको चाहिँ के हो ? उनका अब कति नातिनातिना र छोरीज्वाइँहरु बाँकी छन् राज्यको पदबाट सुशोभित हुनलाई ? उनले एकपटक आफैले पाएको अहिलेसम्मको अवसर हेर्नुपर्ने हो । र, प्राप्त पदको गरिमा र मर्यादा कति राख्न सकेँ भनेर पनि मनन गर्नुपर्ने हो । साथै अहिलेसम्म सभामुख भएका कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, सुवास नेम्बाङ लगायत कति जनाले मन्त्रीका लागि र्याल चुहाएका छन् ?
अब कांग्रेसजनहरुको सामु राजनीतिक भविष्य सुरक्षित गर्ने यो अन्तिम अवसर हो । यो अवसर पनि गुमाएर सडकमा अराजकता मच्चाउने, चुनाव हुन नदिने र अस्थिरताको नयाँ शृंखलामा प्रवेश गर्ने कम्युनिस्टहरुलाई सहयोग गर्न पुगेमा कांग्रेसको अस्तित्व पनि सँगसँगै नष्ट हुनेछ । मुलुकमा नयाँ प्रकारको अधिनायकत्व हावी हुनेछ । चुनावमार्फत् सजिलै प्राप्त हुने उपलब्धि गुमाएर अराजकता, द्वन्द्व, हिंसा र विध्वंसको बाटो कांग्रेसले रोजेमा लोकतान्त्रिक आन्दोलनका सबै उपलब्धि समाप्त हुनेछन् ।
संवैधानिक प्रक्रिलाई लिकमा ल्याउने सुलभ र लोकतान्त्रिक बाटो रोज्ने कि विध्वंसको ? आगे कांग्रेसजनहरुकै मर्जी ।