चुनाव मुखैमा आइसक्यो, कांग्रेस पंक्ति किन जाग्दैन ?

काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि देश चुनावी माहोलतर्फ अघि बढेको छ । निर्वाचन आयोगको धिमा तयारीका बाबजुद जनस्तरमा कसलाई भोट दिने, कुन पार्टीबाट कसले टिकट पाउँछ र अबको सरकार कस्तो बन्छ भन्ने बहस र कौतुहल व्याप्त भइसकेको छ ।
निर्वाचन आयोगको तयारी प्रभावित हुने गरी सर्वोच्च अदालतले पनि कुनै आदेश जारी गरेको छैन ।अहिलेसम्मको स्थिति हेर्दा वैशाख १७ र २७ गतेको तोकिएको निर्वाचनतर्फ मुलुक जानी नजानी होमिइसकेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त देशभर आक्रामक रुपमा संगठन विस्तार र परिचालनका काम गरी चुनावलक्षित गतिविधि पनि तीब्र पारेका छन् ।
तर,निर्वाचनका लागि सबभन्दा धेरै सक्रिय भएर लाग्नुपर्ने विपक्षी दल नेपाली कांग्रेसको पार्टी पंक्ति भने जाग्न सकेको देखिँदैन । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ट रुपमा निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइसकेका छन् । सर्वोच्च अदालत लगायत संवैधानिक निकायहरुले गर्ने निर्णयको सम्मान गर्ने तर जनतामा जाने निर्णयको विरोध गर्न कांग्रेसको सिद्धान्तले नदिने पनि कांग्रेस नेतृत्वले स्पष्ट पारिसकेको छ ।
कम्युनिस्टहरुको दुई तिहाई भएको प्रतिनिधि सभा हठात् विघटन गर्नु गलत भए पनि निर्वाचनमा जाने निर्णयले संविधान र संसदीय प्रणालीलाई कम्युनिस्टहरुबाट बचाउन मद्दत गर्छ भन्नेमा दुविधा छैन । प्रधानमन्त्री ओलीले चालेको कदम ठीक कि बेठीक भन्ने बहस हुँदै गर्ला । इतिहास लेखनका क्रममा पनि समीक्षा हुँदै गर्ला । उनको निर्णयले अप्ठेरोमा परेका उनकै पार्टीभित्रका केही नेताहरुले प्रतिनिधि सभा पुनस्र्थापनाको माग गरे भन्दैमा त्यसैसँग कांग्रेस पनि सती जानुपर्छ भन्ने छैन ।
कांग्रेस बलियो नभई लोकतन्त्र सुरक्षित रहन सक्दैन । कांग्रेस बलियो बन्नका लागि यसबीचमा कम्युनिस्टरुले गरेका भ्रष्टाचार बेथिति र आन्तरिक झगडाका फहेरिस्त लिएर जनतामा जानुको विकल्प छैन । साथसाथै, कम्युनिस्टहरुको दुई तिहाईको संसद ब्युँताएर लोकतन्त्र जोगाउँछु भन्दै दिउँसै सपना देख्ने कांग्रेसीहरुबाट पनि कांग्रेसलाई जोगाउनुपर्ने अवस्था आएको छ ।
कांग्रेस सभापति देउवाले निकै सुविचारित र बुद्धिमत्तापूर्ण तवरमा कम्युनिस्टहरुको घरझगडामा निरपेक्ष रहने, पार्टीको आन्तरिक तयारी गर्ने र चुनावमा मुलुकको पहिलो शक्तिको रुपमा कांग्रेसको पुनरागमन गर्ने नीति लिएका छन् । तर, यसविपरीत रामचन्द पौडेल, कृष्ण सिटौला, गगन थापालगायत संसद पुनस्र्थापनाको माग गरेर घोक्रो सुकाउँदैछन् । यो भनेको सस्तो लोकप्रियताको खोजीबाहेक केही होइन । प्रकारान्तरले कांग्रेसलाई बलियो बन्न नदिने रोगको प्रकटीकरण हो ।
अझ पौडेल र सिटौला त गत निर्वाचनमा पराजित भएकाले विघटित संसदमा सदस्यसमेत छैनन् । अनि तिनीहरूलाई नै यो संसद किन चाहिएको हो रु प्रचण्डले राष्ट्रपतिको ललिपप देखाएका भरमा लोभिएका रामचन्द्र बाहिर देखाउन मात्रै भए पनि तनहुँतिर गएर आफूलाई पद नचाहिएको भन्दै लोकाचार निभाइरहेका छन् । जुन पाखण्डबाहेक केही होइन ।
कांग्रेस नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, शेखर कोइराला लगायतले पनि चुनावी तयारीका लागि कांग्रेसको पार्टी पंक्ति सक्रिय र चलायमान बनाउन ध्यान नदिएको देखिन्छ । उनीहरु कोठे राजनीतिमै सीमित छन् । यसबेला समसामसायिक राजनीतिक अवस्थाबारे प्रस्ट पारी कार्यकर्ता एवं समर्थक पंक्तिलाई निर्वाचनको पक्षमा तम्तयार राख्नुपर्नेमा नेताहरु आफै सुतेर बस्ने हो भने कांग्रेसले पुनःजीवन कसरी पाउँछ ?
कम्युनिस्टहरु टुक्रिएर निकै शत्रुतापूर्ण अवस्थामा छन् । राष्ट्रिय राजनीति अझै यिनको हातमा छाडिराख्ने हो भने देशले थप दुःख पाउनेछ । संविधान र व्यवस्थामा थप क्षति हुँदै जानेछ । त्यसकारण पनि कांग्रेस पंक्ति निर्वाचनको पक्षमा उभिनुपर्छ । निर्वाचनबाटै ओली कदमलाई गलत सावित गर्न सक्नुपर्छ । कांग्रेसको नजरमा ओली मात्र होइन, प्रचण्ड पनि यो अवस्थाका निम्ति उत्तिकै दोषी हुन् । माधव नेपाल पनि उत्तिकै दोषभागी हुन् । त्यसकारण कुनै पक्षसँग सहकार्य नगरी कांग्रेस आफ्नो मूल्य, मान्यता र अडानमा रही लोकतन्त्रको पक्षमा उभिनुपर्छ ।
लोकतन्त्र भनेको जनप्रतिनिधिमूलक संस्थामार्फत् गरिने शासन हो । यो संस्था फर्काउने भनेको निर्वाचनमार्फत् नै हो ।यतिञ्जेल कम्युनिस्टहरुले गरेका कृत्यहरुको समीक्षा र मूल्यांकन हुनु पनि आवश्यक छ । त्यसका लागि ताजा जनमत नै उत्तम विकल्प हो । यसकारण पनि जनतालाई छनोटको अधिकार दिनुपर्छ । राष्ट्रिय राजनीतिका अहम् मुद्दामा केही मिति गुज्रिएका नेताहरु, जो जनतामा जान डराउँछन्, उनीहरु माथिमाथि मिलेर गर्ने निर्णय स्वीकार्य हुन सक्दैन ।
तसर्थ, कांग्रेसजन हो, लोकतन्त्र, संविधान र पार्टीको माया अनि आफ्नै राजनीतिक भविष्यको पनि थोरै छ भने निर्वाचनको तयारीमा लाग । सरकारलाई निर्वाचनबाट भाग्ने अवसर नदेऊ । निर्वाचनबाटै शक्ति हासिल गर । कम्युनिस्ट नेताहरुको खुसामदबाट होइन, जनादेश लिएर मात्र सत्ता प्राप्तिको बाटो लाग ।