पर्यावरणीय क्षतिमा पहिलो पटक देशलाई जरिमाना

काठमाडौँ । पेरिसको एक अदालतले फ्रान्सेली सरकारलाई जलवायु जोखिमको सामना गर्न उचित प्रयास नगरेकामा दोषी ठहर गर्दै प्रतीकात्मक रूपमा १ युरो जरिवाना सुनाएको छ । पेरिसको प्रशासनिक अदालतमा मुद्दा चलाइएको थियो । वातारणीय मुद्दा सरकारलाई जरिमाना गरिएको यो विश्वकै पहिलो घटना हो ।
वास्तवमा यो मुद्दा २३ लाख मानिसको समर्थनमा चार एनजिओले दुई वर्षअघि मुद्दा दायर गरेका थिए । अनलाइन निवेदनमा मानिसहरूले हस्ताक्षर गरेका थिए । धेरै पटक सुनुवाइ गरेपछि बुधबार अदालतले फैसला सुनायो । अदालतले एउटा ऐतिहासिक निर्णय गर्दै सरकारको बेवास्ताले मौसम परिवर्तन भई इकोसिस्टममा क्षति ठहर गर्यो ।
फ्रान्सेली सरकार ग्रिन हाउस ग्यासहरू घटाउने आफ्नो लक्ष्य पूरा गर्न असफल भएकाले पर्यावरणीय क्षति भएको अदालतले बताएको छ । यसमा अदालतले राज्यलाई क्षतिपूर्तिको रूपमा १ युरोको प्रतीकात्मक भुक्तानी गर्न आदेश दियो ।
मुद्दाका क्रममा पेरिस अदालतले समस्या सुधार्न र चिजलाई खराब हुनबाट रोक्ने उपायबारे निर्णय लिन दुई महिना अध्ययन गरेको थियो । अदालतले क्षतिको क्षतिपूर्तिका लागि सरकारलाई हरितगृह ग्यास घटाउने लक्ष्यहरू पूरा गर्न ध्यान केन्द्रित गर्न आदेश गरेको छ । लाइभ हिन्दुस्तानका अनुसार राज्यको गल्तीले पर्यावरणीय क्षति भएको फ्रान्सेली न्यायालयले पहिलो पटक स्वीकार गरेको छ ।