चिनमा घाँटीको सट्टा मलद्वारको स्वाबबाट कोरोना परीक्षण सुरु

बेइजिङ । विश्वभरि फैलिएको कोरोना भाइरसको अध्ययनका लागि चिनले भिन्न तरिका अपनाउन थालेको छ । थप अध्ययनका लागि चिनले मानिसहरूको घाँटी र नाकको सट्टा मलद्वारबाट स्वाब निकालेर परीक्षण सुरु गरेको छ । मलद्वारबाट निकालिएको स्वाब परीक्षणबाट निस्कने परिणामहरु बढी प्रभावकारी हुने चिनियाँ चिकित्सकहरूले बताएका छन् ।
गत साता बेइजिङमा रहेका कोरोना संक्रमित व्यक्तिहरू गुदाद्वारबाट स्वाब निकालेर परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको पनि मलद्वारबाट स्वाब लिइएको छ । चिनको आधिकारिक टिभी च्यानलले यसबारे जानकारी दिएको हो । हिजोआज उत्तरी चिनमा कोरोना संक्रमण द्रुत गतिमा बढेपछि त्यहाँ कोभिड अनुसन्धान अभियान सुरु गरिएको छ । बेइजिङ अवस्थित युआन अस्पतालका चिकित्सक ली टोङगेजेङले भाइरस श्वासप्रश्वासमा भन्दा मलद्वारमा लामो समय रहने हुनाले त्यहाँबाट स्वाब निकालेर परीक्षण गर्दा संक्रमण छिटो पत्ता लगाउन सकिने दाबी गरेका छन् ।
यो विधि त्यति सजिलो नहुनाले अरू प्रक्रियाहरू जस्तै व्यापक रूपमा प्रयोग नगरिने सरकारी टिभी च्यानलले प्रस्ट पारेको छ । चिनमा कोरोना भाइरस संक्रमण बढेपछि आवागमनमा सावधानी अपनाइएको छ, विदेशबाट आउनेहरूमा विशेष सतर्कता अपनाइएको छ । एएफपी