के रामचन्द्र पौडेल प्रचण्डसँग मिलेर पार्टी फुटाउँदै छन् ?

काठमाडाैँ। प्रतिनिधि सभा विघटन नेकपाको आन्तरिक कारणले भयो । त्यसमा पनि कुनै राजनीतिक वा सैद्धान्तिक विमति भएर होइन । कुर्सीको आकार, प्रकार र दिशा नमिलेर । तर, यही प्रकरणले राष्ट्रिय राजनीति नै दुई ध्रुवमा बाँडिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी जनता पार्टीका उपेन्द्र यादव, राप्रपाका कमल थापा, मजदुर किसान पार्टीका नारायणमान विजुक्छे र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी प्रतिनिधि सभा विघटनलाई प्रधानमन्त्री केपी शर्मा ओलीका लागि बाध्यताको उपज भन्दै चुनावको पक्षमा देखिएका छन् । नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको खेमा, कांग्रेसका रामचन्द्र पौडेल, जसपाका बाबुराम भट्टराई लगायतचाहिँ प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा छन् । उनीहरु चुनावको विपक्षमा छन् ।
प्रतिनिधि सभा विघटन र चुनावलाई लिएर सबैजसो दलमा यसैगरी दुई धार देखिएका छन् । र, यही कारण सबैजसो दल विभाजित भएमा अचम्म नमाने हुन्छ। बौद्धिक तप्कामा पनि यस्तै विभाजन देखिन्छ । अदालतमा गरमागरम बहस भइरहेको छ ।सबभन्दा रमाइलोचाहिँ कांग्रेसमा देखिएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल न सांसद छन्, न प्रधानमन्त्री वा मन्त्री बन्ने अवस्था छ । तर पनि उनी प्रतिनिधि सभा पुनर्स्थापनाको नारा लगाउँदै छन् । मधु आचार्य, प्रदीप पौडेललगायत औँलामा गन्न सकिने नेताहरु उनलाई साथ दिइरहेको देखिन्छ ।
जानकारहरुका अनुसार, पौडेलले यतिखेर राष्ट्रपतिको सपना देख्न थालेका छन् । त्यसका निम्ति उनी पार्टी फुटाउनसमेत तयार भएको कांग्रेसकै एकथरीको बुझाइ छ ।
पार्टीभित्र आजीवन कोइरालाहरुको सेवा गरेर केही नपाएको गुनासो गर्ने पौडेल पछिल्लोपल्ट देउवाले पनि सम्मानजनक ठाउँ नदिएको भन्दै फत्फताउँदै हिँडेका छन् । तिनीहरुलाई देखाइदिने भन्दै अहिले उनी प्रचण्डसँग नजिकिएका हुन् ।
यस क्रममा उनले प्रचण्ड र माधव नेपालसँग गोप्य वार्ता पनि गरिसकेका छन् । प्रचण्डहरुले पौडेललाई राष्ट्रपतिको भोक जगाइदिएका छन् । तर, पौडेलले के बुझेको देखिँदैन भने कांग्रेस र प्रचण्ड खेमा मिल्दैमा राष्ट्रपतिको पद खाली हुने छैन । संघीय संसदका दुवै सदनको दुई तिहाई भए मात्र राष्ट्रपतिलाई हटाउन सकिने संवैधानिक व्यवस्था छ । अहिले एक त प्रतिनिधि सभा छैन । पुनस्र्थापना नै भए पनि त्यहाँ झण्डै बहुमतनजिकको उपस्थिति ओलीको छ । ओलीको विपक्षमा दुई तिहाई पुग्ने कुनै सम्भावना नै छैन । त्यसैले प्रचण्ड खेमाले पौडेललाई राष्ट्रपति बनाउने भनेको मनको लड्डु घ्यूसँग खाएजस्तै हो । त्यसमाथि प्रचण्ड खेमाले यसअघि नै राष्ट्रपतिको पद झलनाथ खनालका नाममा भाग लगाइसकेको छ ।
कांग्रेसमा पौडेललाई सबैभन्दा लोभी र सानो चित्तको नेताका रुपमा चिनिन्छ । सभामुख भइसकेर पनि पटकपटक मन्त्री पदका निम्ति ¥याल काढेको भनेर आलोचित उनले छोरा चिन्तन पौडेल र सम्धी युवराज भुसाललाई एक थान पद दिनका निम्ति पनि कांग्रेसको इज्जत दाउमा राखेका थिए । राष्ट्रपति नै पाउने भएपछि उनी नलोभिऊन् पनि किन ?
त्यसो त एउटा पोखरीमा बसेर अर्कै सागरमा तरंग पैदा गर्न सक्ने राजनीतिज्ञको नाम पुष्पकमल दाहाल प्रचण्ड हो । सशस्त्र संघर्षमा छँदा उनले दरबारभित्र भाँडभैलो मच्चाउन सफल भए । राजा वीरेन्द्र र नेपाली सेनाले होलेरी काण्ड मच्चाइरहँदा प्रचण्ड ज्ञानेन्द्रसँग सम्पर्कमा थिए । सात राजनीतिक दल रत्नपार्कमा बदाम आन्दोलन गरिरहँदा प्रचण्डले कहिले गिरिजाप्रसाद कोइराला त कहिले माधव नेपाल र वामदेव गौतमलाई दिल्ली, सिलिगुडी र रोल्पा गरी अलगअलग ठाउँमा वार्ताका लागि बोलाएका थिए । र, सबैजनासँग अलगअलग तरिकाले वार्ता गरेर संयुक्त आन्दोलनका लागि मनाएका थिए ।
शान्ति प्रक्रियामा आएपछि त प्रचण्डले कांग्रेस र एमालेमा आफ्नो बेग्लै गुट नै बनाए । कांग्रेसमा प्रचण्ड गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गर्थे भने एमालेमा वामदेव गौतमले गर्थे । प्रचण्डले राष्ट्रपतिको ललिपप दिएपछि भने केही समय गिरिजाप्रसाद कोइराला र केही समय माधव नेपाल पनि भुलेका थिए ।
अहिले प्रचण्डले कांग्रेसका रामचन्द्र पौडेललाई यस्तै ललिपप देखाइरहेका छन् । र, पौडेल पनि केही समययता निकै उत्साहित पनि भइरहेका छन् ।
सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा दबाब दिन नहुने र नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कुनै पनि खेमासँग सहकार्य गर्न नसकिने स्पष्ट पारिसकेपछि पनि पौडेल प्रचण्डको एजेण्डा बोकेर हिँडिरहेका छन् । र, भन्दै छन्– ‘संसद पुनस्र्थापना हुनैपर्छ । अदालतले गल्ती गर्नुहुँदैन ।’
पौडेलले के बुझ्नुपर्छ भने अब कांग्रेसमा अरु ५ देखि १० वर्ष शेरबहादुर देउवाको विकल्प देखिँदैन । केही भाग्यले, केहीचाहिँ बुद्धिमत्ताका कारणले देउवा शक्तिको केन्द्रमा पुगिसकेका छन् । अबको चुनावले उनलाई थप बलियो बनाउँदै छ । आमनिर्वाचनमा प्राप्त हुने शक्ति र ऊर्जाले उनलाई पार्टीमा झनै बलियो बनाउनेछ । यति कुरा बुझेपछि शेखर कोइरालाहरु समेत देउवासँग तालमेल गर्न भित्रभित्रै प्रयासरत देखिन्छन् । समयमै बुद्धि फिरेमा पौडेलले पनि देउवासँगै ताल मिलाउन सके इज्जतिलो ठाउँ पाउन सक्नेछन् । राष्ट्रपति नै खोजेका हुन् भने पनि पौडेललाई राष्ट्रपति बनाउन सक्ने एक मात्र नेता देउवा हुन् । जेजति पाउनु छ, देउवाबाटै पाएमा त्यो बढी औचित्यपूर्ण र वैध पनि हुनेछ ।
देउवाले पार्टीमा पनि अहिलेसम्म सम्मानजनक स्थान दिएकै हुन् । अझै पनि उनले पौडेलप्रति खासै शत्रुवा वा प्रतिद्वन्द्विता प्रदर्शन गरेको देखिँदैन । यसकारण पनि पौडेलका निम्ति सबभन्दा सुरक्षित बाटो देउवाको मार्गचित्र पछ्याउने नै देखिन्छ । यदि देउवालाई बिच्क्याएर वा पार्टी नीतिभन्दा बाहिर गएर अवैध र अपारदर्शी सम्बन्धका निम्ति पौडेल अग्रसर भएछन् भने त्यो पौडेलका निम्ति निकै महँगो सावित हुनेछ ।