दलहरुको आन्दोलन : कार्यकर्ता जागे जनता भागे

काठमाडौं ।जनता एक छाकको लागि घण्टौ सडकमा लाइन बस्दा बेखबर नेताहरु अहिले आफै सडकमा पुगेका छन् । तर, उनीहरु सडकको सहारा लिन पुग्नु सर्वसाधारण जनताको जस्तो एक छाकको लागि भने होइन। हिजोका दिनसम्म सत्तामा हालिमुहाली गरेर बसेका नेताहरु त्यही सत्ताको लागि सडक आन्दोलनमा छन् ।
सत्तारुढ दल नेकपाभित्रको कुर्सीको झगडाले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरिदिएका छन् । आफ्नो पद जोगाउनैका लागि संसद भंग गर्नु ओलीको व्यक्तिगत स्वार्थ देखिन्छ ।
संसद भंग भएपछि नेकपाको प्रचण्ड—माधव समूह ओलीलाई छाडेर उनको विरुद्ध आन्दोलनमा होमिएका छन् । शीर्ष नेताहरुले तल्लो स्तरमा गिरेर गाली गरेको सुन्दा जनताहरु आश्चर्यमा परेका छन् । दुबैले एक अर्कालाई भन्नु नभन्नु आरोप लगाउँदै हिडेका छन् ।
तर,स्वार्थ मिल्नासाथ एकअर्कासँग टाँसिने,नमिलेपछि निकै तल्लो स्तरमा ओर्लेर गालीगलोज गर्ने नेताहरुको बानी भने पुरानै हो । ओली पक्ष बाहेक अहिले सबै जसो दल प्रधानमन्त्रीको कदमका विरुद्ध आन्दोलनमा छन् । एक पक्ष आन्दोलन नै अन्तिम विकल्प भनिरहेको छ भने अर्काे पक्ष चुनाव नै लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष भन्दैछ ।
संसद विघटन सम्बन्धी मुद्धा भने अहिले सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको छ ।
सडकमा अहिले जनता विनाका आन्दोलन भईरहेका छन् । सबै दलको विरोध प्रदर्शनमा उही मान्छे दोहोरिने गरेका छन् । सबै जसो दलहरुले खाजा र दैनिक ज्यालाको बचन दिएर गाउँ गाउँबाट मानिसलाई गाडीमा हालेर सभामा ल्याउने गरेका छन् । जनताको मुद्धाको लागि भएको भए यसरी कसैले पनि पैसा खर्च गरेर मानिस उतार्नु पर्दैन थियो ।
हिजो पञ्चायत,राणा शासन र राजाका विरुद्ध उर्लेका जनताहरु भने हात बाँधेर बसेका छन् ।सडकमा आन्दोलन हुँदा सम्म पनि जनताहरु किन आएनन् भन्ने विषयमा आन्दोलन गरिरहेका समूह र नेताहरुले गम्भीर भएर सोच्नुपर्छ । नेताहरुप्रति जनताले विश्वास गर्न छाडेको प्रमाण हो, यो । जनतालाई पर्दा केही नबोल्ने नेताहरु अहिले जति नै चर्काे भाषण गरे पनि त्यसले खासै प्रभाव पारेको छैन ।
विगतका कमिकमजोरी नसच्चाएसम्म नेताहरुले जनताको साथ पाउने देखिदैन । हिजो कोरोनाकालमा जनता भेन्टिलेटर र आईसीयू नपाएर छटपटिँदा अहिले आन्दोलन गर्ने नेताहरु कहाँ थिए? कोरोना तथा उपचारका लागि शुल्क लिने निर्णय गर्दा त्यसविरुद्ध कोही नेताहरु बोलेनन् । महामारीमा थलिएका उद्योगधन्दाहरु अझै तंग्रिन सकेका छैनन् ।बेरोजगारी बढ्दोछ ।
आज एकअर्कालाई खुइल्याउन व्यस्त नेताहरुबीच फेरि ऐतिहासिक मिलन नहोला भन्न सकिन्न। त्यतिबेला जनता हेरेको हे¥यै हुनेछन्।