ताइवानमा चिनियाँ सेनाको हस्तक्षेपप्रति अमेरिका चिन्तित

वासिङटन– ताइवानमा चिनियाँ सेनाले हस्तक्षेप गरेकामा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । यसरी डर धम्की दिने रणनीतिले क्षेत्रीय शान्ति र स्थिरताका लागि खतरा उत्पन्न गर्ने अमेरिकाको धारणा छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले शनिबार भने, ‘चिनको ताइवानलगायत आफ्ना छिमेकीहरूलाई धम्की दिने प्रयासप्रति अमेरिका चिन्तित छ ।’
उनले एक विज्ञप्तिमार्फत बेइजिङलाई ताइवानको सैनिक कूटनीतिक र आर्थिक दबाब अन्त्य गर्न प्रजातान्त्रिक ताइवानका प्रतिनिधिहरूसँग अर्थपूर्ण वार्ता गर्न अनुरोध गरेका छन् । ‘हामी आफ्ना मित्र र सहकर्मीहरूसँग मिलेर भारतीय प्रशान्त क्षेत्रको साझा समृद्धि, सुरक्षा र मूल्यमान्यता बढाउनका लागि तयार छौं,’ उनले भने ।
ताइवान र यस क्षेत्रको समुद्री क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न योगदान पुर्याउन अमेरिका दृढ प्रतिबद्ध रहेको उनले जनाए ।२० जनवरीमा नवनिर्वाचित रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी सांसदहरूलाई भनेका थिए, ‘पहिलेदेखि नै क्षेत्रीय शक्तिका रूपमा उदाएको चिनले यो क्षेत्र हुँदै विश्वलाई नै चुनौती दिँदै छ, चिनले आफूलाई विश्वशक्तिमा लैजाने लक्ष्य राखेको छ ।’ अमेरिका र चीनबिच व्यापार, कोरोना भाइरसको उत्पत्ति, दक्षिण चीन सागरमा मानव अधिकारजस्ता धेरै मुद्दामा द्वन्द्व रहेको छ।
अस्टिनले रक्षामन्त्रीका रूपमा उनको नियुक्तिलाई पुष्टि गर्न सिनेट सैन्य सेवासम्बन्धी समितिलाई भने, ‘चीन पहिले नै क्षेत्रीय वर्चस्ववादी शक्ति हो र मलाई विश्वास छ, उसले अब विश्वलाई आफ्नो औंलामा नचाउने लक्ष्य राखेको छ ।’ चिनले अमेरिकासँग विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्ने र अमेरिकी प्रयासहरूलाई विफल पार्ने काम गर्दै छ । त्यसैले सबै सरकारहरूले एक विश्वसनीय तरीकाले मिलेर काम गर्नु आवश्यक छ ।’ पिटिआई